वाग्मतीमा नयाँ सरकार बनाउन कांग्रेसले डाक्यो संसदीय दल बैठक

विदुर खबर २०७८ भदौ २९ गते ८:२१

नुवाकोट । प्रदेशमा बदलिँदो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेस वाग्मती प्रदेशले संसदीय दलको बैठक डाकेको छ ।

Advertisement

प्रदेशमा विपक्षी गठबन्धनको सरकार गठनका लागि आन्तरिक तयारी गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयको कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्ने तय भएको सचेतक छिरिङदोर्जे लामाले बताए ।

‘वाग्मती प्रदेश सरकार अल्पमतमा परिसकेको छ । यस्तो अवस्थामा विपक्षी गठबन्धनले सरकार निर्माण गर्ने निश्चित छ । त्यसका लागि आन्तरिक छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । हामी बैठकबाटै कसरी अगाडि बढ्ने तय गर्नेछौं,’ उनले भने ।

Advertisement

वाग्मती प्रदेशमा कांग्रेसको २२ सिट छ । विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रको २३ र नवगठित नेकपा (एकीकृत समाजवादी) का १३ सिट छन् । वाग्मतीमा सरकार निर्माणका लागि ५५ सिट आवश्यक पर्छ ।

प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा (एस) का नेता राजेन्द्र पाण्डेको नाम चर्चामा छ । सरकारको नेतृत्व कस्ले गर्ने भन्ने विषय टुंगिएसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर अगाडि बढ्ने तयारीमा विपक्षी गठबन्धन छ ।

Advertisement

‘यो सरकार कुन विधिबाट छिटो हटाउन सक्छौं, सोही अनुसार गठबन्धन अगाडि बढ्नेछ,’ सचेतक लामाले भने ।

प्रतिक्रिया