अहिलेका नेताबाट देश विकासको आशा गर्न सकिन्न : निखिल उप्रेती

विदुर खबर २०७८ भदौ १४ गते १६:५०

नुवाकोट । अभिनेता निखिल उप्रेतीले देशलाई प्रेम गर्न सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेका छन् । हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एकीकृत शक्ति नेपाल घोषणा समारोहलाई सम्बोधन गर्दै उप्रेतीले देशमाथि घात गर्ने दुश्मनहरुको प्रतिकार गर्न अपिल गरे ।

Advertisement

नकारात्मक शक्ति बढ्दै जाँदा नेपालको राजनीति आजको अवस्थामा पुगेको उप्रेतीको भनाइ थियो ।

‘आज राजनीति गर्ने ती नेताहरु कोठा कोठामा पार्टीको घोषणा भइरहेको छ । तर मिल्न सक्ने क्षमता साहस धेरै कमले देखाउन सक्छ । जब देश विरामी हुँदा देशको उपचारका लागि मिल्न सक्दैनौ भने ती काल्पनिक र कल्पनामा रहेका पार्टी र मोर्चाहहरुले भोलि के गर्न सक्लान ?’ उनले प्रश्न गरे, ‘तिनीहरु कसरी फरक हुन सक्छ कि अहिले देशमा वरिष्ठ नेताका नाममा चिनिएकाहरु वक्तव्य पल्टाएर हेरौं । आफ्नै पार्टीभित्रको विभाजन, कार्यकर्ताभित्रको तिक्तता र देशभित्र उनीहरुले जानेको एउटै खुबी हो आफू आफूमै वैमनश्यता ।’

Advertisement

उप्रेतीले नेपालका पार्टीहहरु कुनै पनि फरक नभएको तर्क गरे । ‘यी सबै पार्टीहरु कुनै अलग अलग पार्टी होइन । हामी वर्षौदेखि भ्रममा रहिरह्यौ । यो पार्टी त्यो पार्टी भनियो । तर यिनीहरु अलग पार्टी होइनन् । जब एउटा विरामी र दोस्रो विरामीको गुण उस्तै छ भने त्यसलाई अर्को विरामीमा लिन मिल्दैन । घोषणापत्र बोर्डमा राख्दैमा राम्रो र नराम्रो पार्टी छुटिन्छ भन्ने भ्रम हो,’ उनले भने ।

उनले नेताहरुकै कारण देश बन्न नसकेको पनि तर्क गरे । ‘यिनीहरुले कहिले पनि देशलाई शान्त तुल्याउन सक्दैनन् । जब देशमा शान्ति छाउँछ उनीहरुको केही चल्दैन । हामी पनि उनीहरुकै पछि लाग्यौ । किन लाग्यौ ? कि बनेन नेपाल ? धेरै कमले महसुस गरेका छन् । देशका लागि राम्रो गर्नेलाई हामी घर बसेर गाली गर्न थाल्छौं । आफ्नो स्वार्थ हेर्छौं । फेरि चुनाव हुँदैछ । यस्ता व्यक्तिहरुलाई फेरि भोट दिने?’ उनले प्रश्न गरे ।

Advertisement

अहिलेका नेताहरुबाट देश विकासको आशा गर्न नसकिने उनको भनाइ थियो । ‘यी व्यक्तिहरुले फेरि देश विकास गर्छन् के आशा होला ? आफ्नो भावी सन्ततिको माया छ भने यिनीहरुको खुलेर प्रतिकार गरौं । नत्र भने हामीले बच्चा जन्माएर सिर्फ विदेशी पठाउनका लागि हुनेछ । हामीलाई यो भूमिले जन्माएको हो । यो भूमिको डिमान्ड हो । सजिलै अरु ठाउँ जान बनाउने होइन,’ उनले भने ।

देशभक्ति जाग्न जरुरी छ

अभिनेता उप्रेतीले हरेक नागरिकमा देशभक्त जाग्न जरुरी रहेको पनि बताए । ‘देशलाई प्रेम गरौं । देशलाई जब प्रेम गर्न थाल्छौं तब देशको हरेक कुराले सताउँछ । त्यो कमी छ । कमीले देशमा ज्यादती सहन सकेका हौं । देशलाई प्रेम गर्यौ भने हामीभित्र सिद्धान्तहरु जन्मिन थाल्छ । प्रेम भएन भने आफ्नो धर्म संस्कृतिमाथि घृणा लाग्न थाल्छ । विदेशी संस्कृति अंगाल्न पुग्छौं । धर्म संस्कृति जोगाउने हो भने देशभक्ति जाग्न जरुरी छ । ति शक्तिहरुको खुलेर प्रतिकार गर्नु जरुरी छ । ती व्यक्ति जसलाई देशको केही कुरा राम्रो लाग्दैन । जब आफ्नो नराम्रो र अर्काको राम्रो लाग्छ के हुन्छ देशको भविष्य ?’

देशप्रति जति प्रेम बढ्दै त्यति देशको चोटले देशवासीलाई छुने भन्दै उप्रेतीले त्यसले देशमाथि घात गर्नेहरुलाई दुश्मनको रुपमा देख्न पाइने बताए । अनि मात्रै देशले अर्को फड्को देख्न सक्ने उनको भनाइ छ । ‘नत्र भने अझसम्म पनि ति व्यक्तिहरु देशमा नयाँ पार्टी मोर्चा घोषणा गर्नुपर्छ भनेर बसिराखेका छन् । सुरुवातमै तिनलाई हेर्नुपर्छ । यिनीहरु त्यहीँ व्यक्ति हुन् जो सत्तामा बसेर थेग्न नसकेर देशलाई कुन हालतमा पुर्याएको छ । त्यो हेर्नुपर्छ । प्रेमभाव छ भने लाटोभाव जस्तो गर्नुपर्छ । बठ्याइपूर्वक केही गर्न सकिँदैन । बठ्याइपूर्वक गर्ने भनेको यहीँ नेताहरुजस्तो हो,’ उनले भने ।

प्रतिक्रिया