सत्तामा माधव नेपाललाई ‘उच्च प्राथमिकता’
नुवाकोट । एमालेबाट अलग भएको माधवकुमार नेपाल समूहलाई सत्ता गठबन्धनले ‘उच्च प्राथमिकता’ मा राखेर अवसर दिएको छ । नयाँ पार्टीको मान्यता पाइनसके पनि नेपालले सिफारिस गरेका व्यक्तिले धमाधम नियुक्ति पाउन थालेका छन् ।
संघ र प्रदेश सरकारबाहेक ओली नेतृत्वको सरकारले गरेका करिब एक हजार नियुक्ति प्रक्रिया पुर्याएर खारेज गर्ने र त्यहाँ नयाँ नियुक्ति दिँदा नेपाल समूहलाई २० देखि २५ प्रतिशतसम्म अवसर दिने सहमति छ । यसैअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी हुन् । शर्मा नेपाल प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव थिए ।
अहिलेसम्म लुम्बिनीमा माओवादी, गण्डकी र प्रदेश २ मा कांग्रेसले प्रस्ताव गरेका व्यक्ति प्रदेश प्रमुख नियुक्त भएका छन् । स्रोतका अनुसार नेपालले अझै एउटा प्रदेशमा प्रमुख पाउने सम्भावना छ । यसबाहेक नेपाल पक्षले रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धक पाएको छ । नेपाल पक्षको सिफारिसमा सरकारले नीरञ्जन झालाई महाप्रबन्धक नियुक्त गरेको छ । ‘अन्य नियुक्तिमा पनि नेपाल पक्षको सम्मानजनक सहभागिता रहनेछ,’ कार्यदलमा रहेका एक नेताले भने । ती नेताका अनुसार नेपालले पाँच मन्त्री र एक राज्यमन्त्री मागेका छन्, मागेअनुसार मन्त्रालय दिने करिब–करिब सहमति भइसकेको छ ।
नेपाललाई मन्त्रिपरिषद् विस्तारदेखि अन्य राजनीतिक र संवैधानिक नियुक्तिमा सम्मानजनक हैसियत दिने गठबन्धनको रणनीति छ । आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा विगतमा नेपाल पक्षलाई राजनीतिक र संवैधानिक नियुक्तिमा ओलीले बेवास्ता गरेका थिए । तर देउवा नेतृत्वको गठबन्धनले नेपाललाई ‘रणनीतिक’ ढंगले मागेअनुसार मौका दिएको छ ।
सत्ता गठबन्धनले नेपाललाई एमाले फुटाएर भए पनि साथ दिएको भन्दै गुन फर्काउन महत्त्वपूर्ण नियुक्तिमा भाग दिन थालेको हो । यतिसम्म कि असार २९ मा नियुक्त भई अर्को दिन शपथ लिएका प्रधानमन्त्री देउवाले नेपालकै लागि पर्खेर एक महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । उनी नेपालको दल दर्ता प्रक्रिया सकिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि बिहीबार एक कार्यक्रममा नेपालको पार्टी दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए । ‘अहिले नयाँ परिस्थिति बनेको छ, अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्नुहुन्न भन्नेमा हामी पुगेका छौं । माधवजीहरूको दल दर्ताको सनाखत हुनासाथ एकै दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ,’ उनले भनेका थिए ।
सत्ता गठबन्धनका प्रभावशाली नेता एवं कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले नेपाल समूहलाई महत्त्वपूर्ण स्थान दिने विषयमा गठबन्धनका शीर्ष नेताहरू परामर्शमा रहेको बताए । ‘यी सबै कुरामा शीर्ष नेताहरूले परामर्श गरिरहनुभएको छ, नियुक्तिहरू हुँदै जान्छन्,’ उनले भने । त्यसबाहेक नेपाल पक्षलाई प्रदेश १, वाग्मती र अर्को एक प्रदेशको मुख्यमन्त्री दिने मोटामोटी सहमति छ । दुई प्रदेशमा त्यहाँको समीकरण हेरेर बाँकी रहेको अवधिमा आधा–आधा कार्यकाल मुख्यमन्त्रीमा सहमति गर्नेबारे कुराकानी भइरहेको छ । मुख्यमन्त्रीबाहेक सबै प्रदेशमा नेपाल पक्षका सांसदलाई पनि मन्त्री बनाउने तयारी छ । अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षका मन्त्री छन् ।
गठबन्धनले अहिले मात्र होइन, एमालेबाट औपचारिक विद्रोह गर्नॅअगाडि पनि नेपाललाई सम्मान गरिसकेको छ । वाग्मती प्रदेशअन्तर्गत जेठ ६ मा भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाल पक्षसहित तत्कालीन विपक्षी गठबन्धनको सहयोगमा खिमलाल देवकोटाले जितेका थिए । त्यतिबेला एमाले उम्मेदवार रामबहादुर थापा पराजित भएका थिए । नेपालको सिफारिसमा देवकोटा उम्मेदवार बनेका थिए । यद्यपि देवकोटाले आफूलाई स्वतन्त्र सांसद भनेका छन् । ‘पहिला यो सरकारलाई चुनावसम्म टिकाउने हाम्रो प्रतिबद्धता छ, नयाँ पार्टीको प्रमाणपत्र आइसकेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भन्नेछ,’ प्रस्तावित पार्टीका नेता मुकुन्द न्यौपानेले भने, ‘त्यसकारण राजनीतिक नियुक्तिहरूमा हाम्रो सहभागिता र अपेक्षा हुनु स्वाभाविक हो ।’
ओलीलाई सत्ताच्युत गर्न अनिवार्य भएको निष्कर्षसहित नेपालले वैशाख अन्तिम साताबाट नयाँ राजनीतिक कदम चाल्न सुरु गरेका थिए । वैशाख २७ मा संसद्मा विश्वासको मत लिने तत्कालीन प्रधानमन्त्री ओलीको प्रस्तावमा मतदान गर्न नेपाल पक्षका २८ सांसद अनुपस्थित भएका थिए । त्यसपछि जेठ ७ मा देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २६ सांसदले हस्ताक्षर राष्ट्रपतिकहाँ बुझाएका थिए ।
जेठ १० मा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संसद् पुनःस्थापनाका लागि सर्वोच्चमा परेको रिटमा नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका थिए । साउन ३ मा नेपाल पक्षका २२ सांसदले संसद् जोगाउन भन्दै देउवालाई विश्वासको मत दिए । तीमध्ये नेपाल समूहका १४ र ओली समूहका ८ सांसद थिए भने नेपाल खेमाकै ११ सांसद अनुपस्थित भएका थिए ।
देउवा नेतृत्वको सरकार बनेपछि नेपाल आफैं दुई र उनका प्रतिनिधि विजय पौडेल सत्ता गठबन्धनका बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको अर्को दिन (असार ३०) देउवाले निवासमै पुगेर नेपाललाई भेटेका थिए । माओवादी अध्यक्ष दाहालले त पटक पटक निवासमा गई नेपालसँग संवाद गरेका छन् । ‘यस्ता भेटमा गठबन्धनभित्र नेपाललाई सम्मानजनक व्यवहार गर्ने विषयमा छलफल हुन्थ्यो,’ दाहालनिकट एक नेताले भने ।
कान्तिपुर दैनिकबाट साभार ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा रास्वपा छाड्ने बढ्दै, आचार्यले दिए राजीनामा
बट्टारको सुकुमबासी टोलमा झुन्डिएको अवस्थामा पुरुषको शव फेला
राजनीतिक यात्रामा बिश्राम
देशमा धेरै काम भएका छन्, अझै धेरै गर्न बाँकी छ : ओली
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको उपाधि विदुर ६ ले उचाल्यो





प्रतिक्रिया