प्रदेश नं १ का नगर इञ्जिनियरहरुलाई मानव मलमूत्रीय फोहर व्यवस्थापन तालिम

विदुर खबर २०७५ साउन २५ गते ८:४५

काठमाडौं,जनस्वास्थ्यका क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाईटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स(सोफेन), वातावरण तथा जनस्वास्थ्य संस्था(इन्फो) र ५०० बी सोलुसन प्रा.लि. नेपालको संयुक्त आयोजनामा प्रदेश नं १ का नगरपालिकाहरुका कार्यरत इञ्जिनियरहरुलाई मानव मलमूत्रीय फोहरमैला व्यवस्थापनमा क्षमता अभिबृद्धि सम्बन्धी तीन दिवसीय कार्यशाला आज(साउन २५ गते शुक्रबार)देखि राजधानीमा शुरु भएको छ ।
सोफेनका अध्यक्ष ई.रामदीप साहको सभापतित्वमा आरम्भ भएको सो कार्यशालाको उद्घाटन प्रमुख अतिथि पूर्व विज्ञान तथा प्रविधि मन्त्री ई. गणेश साहले गर्नुभएकोे थियो ।उद्घाटन समारोहमा संक्षिप्त मन्तब्य दिदै पूर्व मन्त्री ई. गणेश साहले विश्वमा अहिले खानेपानी, जलवायु परिवर्तन, वातावरणका मुद्दाहरु चर्को रुपमा उठ्दै आएको बताउनुभयो । उहाँले खानेपानीको संकट समाधान गर्न उपयोग गरिएको पानीको प्रशोधन र पुनप्रयोगलाई जोड दिइएको बताउनु भयो । उहाँले शहरी वातावरण सफा राख्न फोहरमैला व्यवस्थापनको विषय उत्तिकै  महत्वपूर्ण  भएको उल्लेख गर्दै मानव मलमूत्रीय फोहर मैलाको दीर्घकालीन व्यवस्थापन  हुन सके शहर सफा हुने बताउनु भयो । उहाँले खानेपानी र सरसफाई संयुक्त राष्ट्र संघको दीगो विकासमा परेको र राष्ट्रिय प्राथमिकतामा पनि परेकोले यसमा नगरपालिकाहरुले विशेष ध्यान दिनपर्ने बताउनुभयो । गत बर्ष सम्पन्न स्थानीय निर्वाचनबाट जनप्रतिनिधि आएकोले यो समयलाई  प्रस्थान विन्दु बनाउदै सबै पूर्वाधार सहित मानव मलमूत्रीय फोहर व्यवस्थापनको दीर्घकालिन योजना बनाएर काम गर्ने जिम्मेवारी नगरपालिकामा काम गर्ने इञ्जिनियरहरुमा आएको बताउनुभयो ।
उद्घाटन समारोहमा सोफेनका पूर्व अध्यक्ष तथा नेपाल इञ्जिनियर एशोसियसनका पूर्व अध्यक्ष र्इं.किशोर शाक्यले आफू कार्यरत नगरलाई कस्तो बनाउने भन्ने जिम्मेवारी जनप्रतिनिधिका अलवा ईञ्जिनियरहरुको काँधमा पनि रहेको बताउनुभयो । नगरलाई स्वच्छ र सुन्दर बनाउन इञ्जिनियरहरुले फोहरमैलाको दिगो व्यवस्थापन गर्न जरुरी रहेको र मानव मलमूत्रीय फोहरको समुचित व्यवस्थापन नगरको सुन्दरता र जनस्वास्थ्यसंग पनि जोडिएको बताउनुभयो ।उद्घाटन कार्यक्रममा सोफेनका अध्यक्ष ई. रामदीप साहले नेपालका प्रमुख शहरहरुमा फोहर मैला र ढलनलको समुचित व्यवस्थापन नहुँदा देखिएको समस्याबाट हामी सबैले शिक्षा लिनुपर्ने बताउनुभयो । उहाँले राम्रो काम गर्न अझै बिलम्ब नभएको बताउदै देशमा तीव्र रुपमा भैरहेको शहरीकरणलाई व्यवस्थित गर्न फोहरमैलाको दीगो व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सोफेनले  इन्फो र ५०० बी सोलुसनसंग मिलेर शहर सफा राख्न नयाँ अभियान थालेको बताउनुभयो ।
तीन दिनसम्म चल्ने सो कार्यशालामा सोफेनका अध्यक्ष ई.रामदीप साह, ई. विपिन डंगोल,डा. मिड.मा शेर्पा, अञ्जली मानन्धर, र्इं. कृष्णा याङ्दो,र्इं. राजेन्द्र श्रेष्ठ,ई.हरिप्रसाद शर्मा, ई.ऋतु राजभण्डारी,ई.राममणि शर्मा, ई.सुदर्शन भण्डारी,ई. सञ्जय अधिकारी, ई. किरण दर्नालले मानव मत्रमूत्रीय फोहर मैला व्यवस्थापनका घरायसी र सार्वजनिक शौचालय निर्माण, सेफ्टि ट्यांक, ढल प्रणाली, ढल प्रशोधन,प्रशोधित पानीको पुन उपयोग र मलको व्यवस्थापन सहित यस क्षेत्रका कानूनी र संस्थागत विकास तथा राष्ट्रिय र अन्तराष्ट्रिय अभ्यासका विषयमा प्रस्तुति दिनुहुने कार्यक्रम छ ।कार्यशालाका प्रदेश नं १ का ३२ नगरपालिकाका इञ्जिनियरहरु सहभागी हुनुभएको छ । सहभागीहरुलाई लुभुको ढल प्रशोधन केन्द्रको स्थलगत अवलोकन भ्रमण गराउने कार्यक्रम रहेको छ ।
कार्यशालाका सहभागीहरुलाई समूह विभाजन गरि आआफ्ना नगरमा मानव मलमूत्रीय फोहरका समस्या र तिनको दिगो व्यवसथपनका उपायहरुका बारे अभ्यास गरी साझा निष्कर्ष निकाल्ने कार्यक्रम रहेको छ ।
तीन वटै संस्थाको सहयोगमा केही समय पहिले राजधानीमा प्रदेश नं २ का नगरपालिकाहरुमा  कार्यरत इञ्जिनियरलाई यस्तै  तालिम दिएको थियो । तीन वटै संस्थाहरुले बाँकी प्रदेशका नगरपालिकाका इञ्जिनियरहरुलाई पनि यस्तो तालिम दिने कार्यक्रम रहेको छ । सोफेनले खानेपानी,जलवायु परिवर्तन,स्वच्छ वातावरण र फोहर मैला व्यस्थापनका क्षेत्रमा देशव्यापी आभियान चलाईरहेको छ । यसले हरेक प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखहरु र उपभोक्त समितिका प्रमुखहरुलाई मानव मलमूत्रीय फोहर व्यवस्थापनका बारमो सचेतना कार्यशालामा सहभागी गराईसकेको छ ।
Advertisement

प्रतिक्रिया