समयसँगै परिवर्तित नाग पञ्चमी
नुवाकोट । घरका ढोकामा नागको तस्बिर टाँसेर पूजाआजा गर्दै मनाइने पर्व नागपञ्चमीमा गरिने धार्मिक एवं सांस्कृतिक क्रियाकलापमा परिवर्तन आएको पाइएको छ ।
आज शुक्रबार नागपञ्चमी पर्व मनाइरहदा सांस्कृतिक परिवर्तन आइसकेको संस्कृतिविद् औंल्याउछन् । ब्राम्हणले आफ्नै हातले नागको चित्र बनाएर जजमानका घरमा मूलढोकादेखि अरु ढोकामा ‘नाग, चट्याङ र अग्नीको भय नहोस्’ भन्ने कामनासहित टाँसिने नागको चित्र पछिल्लो समय ‘प्रिन्ट भर्सन’ आउने गरेका छन् ।
हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ । यसदिन घरका मूल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजासहित चन्दन अक्षता नैवेध धुप दीप विधिपुर्वक पुजा गर्ने चलन छ । यसक्रममा दियो कलश र गणेश थापेर पुजासमेत गरिन्थ्यो । तर, पछिल्लो समय धेरै बेफुर्सदिला हुने गरेका छन् । जसका कारण जतिसक्दो छिटो नाग टाँस्न सकाउने ध्याउन्नमा रहने गरेको पाइएको छ ।
नेपाल पञ्चांग निर्णायक समिति पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले विधिविधान र पुरानो रितीथितीअनुसार नागपूजा गर्न नै कठिन हुने गरेको बताउँछन् ।
‘विधि विधानअनुसार पुजाआजा गर्न खोजे पनि पछिल्लो समय सहरी भेगमा शुद्ध गाईका दुध, गोबर तथा दुबोे अभाव हुन थालिसकेको छ,’ उनी भन्छन्, ‘कति सामग्री जुटाउनै कठिन हुन थालिसकेको छ । नाग टाँस्दा सिक्का पनि टास्ने चलन छ ।’ आजको दिन बिहानै उठी, स्नान गरी नागचित्र वा मूर्तिमा पुजा गर्नाले नागको भय हुँदैन भन्ने जनविश्वास छ ।
गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नाग दियो, कलश, गणेशको पुजा गरी दही, दुबो, कुश, फुल, सिन्दुर, चन्दन आदिले पुजा गरी, धुप दीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले कालसर्प आदि गरिएको योग पनि नष्ट हुने कथन छ ।
नाग जलस्रोतका संरक्षक हुन् । घर, इनार, कुवा, पोखरी, बनाउँदा नागनागिनीको प्रतिमा राखी पुजा गर्ने चलन छ । हिन्दूधर्ममा नागलाई सर्पका राजा भनिन्छ ।
नागपूजा कसरी गर्ने ?
पीठोको अथवा कागजमा नागआकृति लेखेर फूल, सुगन्धित चन्दनले पूजा गर्ने नियम छ । धुपदीप दिने अनि चामल, तील छर्किने, पि“धेको काँचो चामलको पीठो र दुधको नैवध पनि दिने चलन छ । हिन्दूधर्ममा नागलाई शिव र विष्णुका रूपमा पूजा गरिन्छ ।
आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरु हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिँदैन ।
नाग पञ्चमीमा नाग देवताका निमित्त ब्रत लिने गरिन्छ । यस ब्रतमा पुरै दिन व्रत बसेर सूर्यास्तपछि नाग देवताको पूजाका लागि खिर प्रसाद पकाई, त्यसलाई सर्वप्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले ग्रहण गरिन्छ ।
नागका पौराणिक कथा
भविष्योत्तर पुराणअनुसार कुनै समय एक किसानको घरमा दुई छोरा र एउटी छोरी थिए । एकदिन किसानले खेत खनजोत गर्दा नागका तीन बच्चा मरेपछि नागदेवता रिसाई किसानसहित परिवारलाई नै डस्यो । तर, उसको छोरी छिमेकीको घरमा भएकीले बाँची र भोलिपल्ट छोरीलाई पनि डस्न जाँदा किसानको छोरीले नागदेवताको पूजा गरी दूध चढाइन् ।
यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित परिवारलाई बचाइदिएकाले यसै दिनदेखि नागपञ्चमी पर्व मनाउन थालिएको किम्बदन्ती छ । जन्मेजयको नाग यज्ञसँग जोडिएको प्रसंग पनि धर्मशास्त्रमा उल्लेख छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया