बच्चाको स्वागतका लागि तयारी गरिरहेका छौँ : प्रियंका कार्की

विदुर खबर २०७८ साउन १७ गते ९:०९

नुवाकोट ।   नायिका प्रियंका कार्की अब छिट्टै नै आमा बन्दै छिन्।

Advertisement

केही समयको मायाप्रेमपछि २०७६ सालमा अभिनेता आयुष्मान देशराज जोशीका साथ विवाह बन्धनमा बाँधिएकी प्रियंकाले विवाहको एक वर्षपछि आफू गर्भवती भएको जानकारी सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन्। प्रियंकाले आयुष्मान र आफ्नो फोटो राख्दै फेसबुकमा वी आर प्रेग्नेन्ट अर्थात् हामी गर्भवती छौँ भनेर सेयर गरेपछि यो कुराले निकै चर्चा पाएको थियो।

त्यस्तै, केही समयअघि उनले आफ्नो पेटमा बच्चाको अनुहारको आकृति सिर्जना गरेर आफू पनि जुस पिइरहेको र सन्तानले पनि जुस पिइरहेको जस्तो देखिने फोटो सामाजिक सञ्जालमा पोस्ट गरेपछि उक्त तस्वीरले पनि चर्चा कमाएको थियो।

Advertisement

प्रियंका आफ्नो डेलिभरी डेट नजिकिँदै गर्दा निकै खुसी छिन्। उनले खुसी साट्न क्रममा केही समयअघि बेबी सावर गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। त्यसैगरी, प्रियंकाले केही दिनअघि मात्र आफ्ना साथीहरूका साथ स्विम सुटमा फोटोसुट गराएर सामाजिक सञ्जालमा सार्वजनिक गरिन्। उक्त सकारात्मक र नकारात्मक दुवैथरी प्रतिक्रिया आएको छ। सम्भवतः गर्भावस्थामा सबैभन्दा बढी चर्चा कमाएकी प्रियंका पछिल्लो समय आफ्नो युट्युब च्यानलमा पनि निकै सक्रिय रहँदै आएकी छिन् ।

उनले युट्युबमार्फत आफ्नो गर्भावस्थालगायत विभिन्न विषयका बारेमा दर्शकलाई जानकारी दिँदै आइरहेकी छिन्। पछिल्लो समय प्रियंका र उनको अभिनेता पति आयुष्मान देशराज जोशी आफ्नो भावी सन्तानको बारेमा र त्यसको तयारीको बारेमा केन्द्रित भएर ब्लग सार्वजनिक गरिरहेकी छिन्। उनै प्रियंकाका साथ गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

Advertisement

डेलिभरी डेट नजिकिँदै जाँदा सन्तानको बारेमा के सोचाइ आउँदोरहेछ ?

सन्तानबारे सोचभन्दा पनि हामी आफ्नो बच्चाको वेलकमको लागि प्रिपियर गरिरहेका छौं। डेलिभरी डेट झन्—झन् नजिक आउँदै गर्दा हामी अझै तयारीमा छौँ। आमा—बाबुको रेस्पोन्सबिलिटीका लागि रेडी छौँ जस्तो फिल भइरहेको छ।

यो समयमा आमा बन्छु भनेर पहिलेकै सोच थियो कि लकडाउनको समयमा निर्णय लिनुभएको ?

आमा बन्ने कुरा लकडाउन भएर भन्ने हुँदैन। आमा—बाबु बन्नका लागि मेन्टल्ली, इमोसनल्ली र अन्य धेरै कुरामा प्रिपियर भएर सोचेर तयार हुनुपर्छ। हाम्रो पहिलेदेखिको प्लानअनुसार हामीले यो समयमा आमा—बाबु बन्ने निर्णय लिएका हौँ। लकडाउन भएको कारणले सन्तान जन्माउने निर्णय लिएका होइनौँ।

आमा बन्ने क्रममा आफ्नो आमाप्रतिको धारणामा परिवर्तन आयो कि ?

पहिला आमाका बारे जति कुराहरू पढिएको थियो, सुनिएको थियो। आमा भनेको यस्तो हो भन्ने कुरा सुनिएको थियो, त्यही कुरा अहिले आफैंले महसुस गरिरहेको छु। आफूलाई आमा बन्न प्रिपियर गरिरहेको छु। आमाप्रति हुनुपर्ने माया र रेस्पेक्ट त सधैं थियो, त्यो उस्तै छ। आफू सानो हुँदा आमालाई दुःख दिएको चाहिँ सम्झिन्छु।

आमा बन्दै गर्दा आफूमा के—कस्तो परिवर्तन महसुस गर्नुभयो ?

सबैभन्दा पहिलो कुरा त आफूमा फिजिकल कुरामा आउने परिवर्तन हो, जुन सुबैलाई थाहा हुन्छ नै। त्यस्तै, आमा हुँदै छु भन्दा आफूमा मेन्टिल्ली पनि धेरै कुरामा परिवर्तन महसुस भइरहेको छ।

आमा बनेको कति समयपछि अभिनयमा फर्कने सोच्नुभएको छ ?

अहिले डिजिटल समय हो। यसकारण, आमा बन्दैमा काम नै गर्न नसकिने भन्ने हुँदैन। अहिले आमाको भूमिका र काम द्ुवैलाई सँगै लान सकिन्छ। घरबाटै पनि धेरै काम गर्न सकिन्छ। ग्याप भन्ने कुरा हुँदैन जस्तो लाग्छ। पहिले जस्तो यति समयपछि फर्किन्छु भन्ने नै छैन, आमा बनेर घरमै बसेर ब्रेक लिनुपर्छ भन्ने छैन। दुवै कामलाई सँगै लान सकिन्छ, यो इम्पोसिबल छैन।

छोरा या छोरी के होस् भन्ने चाहना छ ?

त्यस्तो खास केही चाहना छैन। मैले सन्तानलाई जन्म दिइरहेको छु र म आमा बन्दै छु, त्यो नै ठूलो कुरा हो। छोरा या छोरी जे भए पनि हामीलाई उस्तै हो। छोरा नै या छोरी नै होस् भन्ने छैन।

छोरा हुन्छ कि छोरी हुन्छ भन्ने कुरा त थाहा भइसक्यो होला नि ?

हो हामीले थाहा पाइसकेका छौँ, तर सरप्राइज राख्न चाहन्छौँ।

गर्भवती अवस्थामा गरेको फोटोसुटलाई लिएर धेरैले नकारात्मक प्रतिक्रिया पनि दिएका छन्। यसमा के भन्नुहुन्छ ?

म कहिल्यै पनि नेगेटिभिटीको पछि लाग्दिनँ। पछि लागेर साध्य पनि छैन। यस्तो कुरामा ध्यान दिने बानी छैन। नेगेटिभिटीको पछि लाग्नु पनि हुँदैन। भन्नेले त भनी नै रहन्छन्। मेरो पहिलेदेखिको नेचर त्यस्तै हो, अहिले पनि त्यस्तै छ। म उहाँहरूलाई केही पनि भन्न चाहन्नँ।
कतिपय अभिनेत्रीहरूले सुन्दरता बिग्रने डरले स्तनपान गराउँदैनन्।

तपाईंचाहिँ के गर्नुहुन्छ ?

स्तनपान गराउने या नगराउने भन्ने आ—आफ्नो च्वाइसको कुरा हो। हामीले सबैको निर्णयको रेस्पेक्ट गर्नुपर्छ। कसैले ब्रेस्ट फिडिङ गराउँछन्, कसैले गराउँदैनन्। ब्रेस्ट फिडिङ गराउनै पर्छ भन्ने पनि छैन। गराउनुहुँदैन भन्ने पनि छैन। मेरो हकमा भने मैले ब्रेस्ट फिडिङ नै गराउने सोच राखेको छु।

प्रतिक्रिया