नुवाकोटमा थप १० दिन निषेधाज्ञा थपियो

विदुर खबर २०७८ साउन १० गते १७:०३

नुवाकोट । नुवाकोटमा थप १० दिन निषेधाज्ञा थपिएको छ ।

Advertisement

जिल्लामा कोभिड–१९ का बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी १० दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदै थियो ।

डिसिसिएमसीको आईतवार बसेको बैठकले साउन २० गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । निर्णय अनुसार अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

Advertisement

लकडाउनको समयमा नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेर लगायतका भिडभाड हुने कार्य नगर्ने नगराउने र कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नु पर्नेछ ।

अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्दा आवश्यक कागजपत्र देखाई प्रहरीसँग समन्वय गरी अनुमति प्राप्त भएपश्चात यात्रा गर्ने, सरकारी, अर्धसरकारी, सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूमा अनावश्यक भिडभाड हुन नदिने र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालय आलोपालो प्रणाली अनुसार कर्मचारी खटाइ काम सुरु गर्ने व्यवस्था मिलाउन पर्ने छ ।

Advertisement

यसैगरी बैठकले खाद्यवस्तु तथा पशुपक्षीको दाना, खाना पकाउने ग्यास, तरकारी, फलपूmल, डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामग्री लगायतका अत्यावश्यक पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने र अन्य पसलहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने निर्णय गरेको छ । औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू २४ सैं घण्टा खुला हुने छ ।

निर्माण कार्यमा प्रयोग हुने, सीमानाकाबाट सामग्री ओसारपसार गर्ने, भन्सार सम्बन्धी कार्य गर्न आउने भन्सार एजेन्टहरूले प्रयोग गर्ने सवारी साधन र अत्यावश्यक सामग्री एंवम वस्तु आयातमा प्रयोग हुने सवारी साधन सञ्चालन गर्न पाइने छ ।

आदेशको अवेज्ञा गरी कार्य गरे वा गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र कोभिड–१९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश, २०७८ बमोजिम कारवाही गरिने निर्णय भएको छ ।

नुवाकोटमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय ९४ पुगेको छ । त्यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ४७ पुगेको छ ।

त्यस्तै जिल्लामा ५ हजार ९ सय १६ जना कोरोनामुत्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया