‘डिजिटल’ बन्दै बागमती प्रदेश, सवारी राजस्व अब अनलाइनबाट

विदुर खबर २०७८ साउन ९ गते ६:५१

नुवाकोट ।  बागमती प्रदेश सरकारले यातायात क्षेत्रको विद्युतीय माध्यमबाट सेवाप्रवाह तथा राजस्व भुक्तानी नियमावली जारी गरी यातायात व्यवस्था सूचना प्रणाली ट्रान्सपोर्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (टीएमआईएस) शुक्रबारदेखि कार्यान्वयनमा ल्याएको छ ।

Advertisement

उक्त प्रणाली कार्यान्वयनमा ल्याउने बागमती पहिलो प्रदेश हो । भौतिक योजना मन्त्रालयले सवारीको अनलाइन प्रविधिबाट राजस्व भुक्तानी गर्न तयार गरेको यातायात व्यवस्थापन सूचना प्रणालीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणि फुयाँलको मोटरसाइकलको उक्त प्रणालीमार्फत् राजस्व तिरेर यातायात व्यवस्थापन सूचना प्रणाली शुभारम्भ गर्नुभएको थियो । डिजिटल बागमती भनेअनुसार नै प्रदेश सरकारअगाडि बढेको देखिएको छ ।

Advertisement

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले २ वर्षअघि घोषणा गरेको ‘डिजिटल प्रदेश’ ले हाल गति लिन थालेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले उक्त अभियान सफल भएपछि राजस्व वृद्धि हुुनुका साथै सेवाग्राहीको समय वचत एवम् पारदर्शी पनि हुने दाबी गर्नुभयो ।

प्रदेश सरकारको आर्थिक स्रोतको मेरुदण्डका रुपमा रहेको यातायात क्षेत्रलाई व्यवस्थित गर्न यस कार्यले सहयोग पुर्‍याउने उहाँले बताउनुभयो । ‘सेवाग्राहीले पाउने दुःखकष्ट अब अन्त्य हुनेछ,’ उहाँले भन्नुभयो–गुमिरहेको राजस्व वृद्धिलाई पनि यस कार्यले सहयोग पुर्‍याउने छ ।

Advertisement

यातायात क्षेत्रलाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित एवम् विश्वसनीय बनाउन सवारीसधानको विवरणहरु डिजिटलाइजेसन गर्ने तथा अनलाइन सेवा प्रदान गरी सेवाप्रवाहलाई सेवाग्राहीमैत्री बनाउने सरकारको नीति लिइएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले यातायातसम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इवालेट र बैंकिङ एपबाट तिर्न सकिने बताउनुभयो । यसले ब्लुबुक नवीकरणलगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने उहाँले बताउनुभयो ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले बागमती प्रदेशमा दर्ता भएका सवारीको अनलाइन प्रणालीबाट राजस्व संकलन गर्ने उद्धेश्यले उक्त प्रणाली शुरु गरिएको जनाइएको छ । उक्त प्रणालीले कर निर्धारण गर्ने, इम्बोस्ड नम्बर प्रणाली, सवारी बिमा पहिचानलगायत कार्य सहज बनाएर कर प्रणालीमा सहजता आउने जनाइएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत् यातायात व्यवस्थापन तथा सेवा कार्यालय गरी ६ कार्यालयबाट यस प्रणालीमार्फत् सेवा लिन सकिने छ ।

प्रदेश सरकारको यातायात कार्यालयको वेबसाइटमा गएर यातायात सम्बन्धि सबै काम गर्न सकिने छ । अनलाइन भेटघाट, सवारी नामसारी, सवारी बिमा, आफूले तिर्नुपर्ने करको जानकारी त्यहीँबाट पाउन सकिनेछ । अनलाइनबाट कर तिर्दा र बिमा गर्दा प्राप्त क्युआर कोर्ड सवारीसाधनमा टाँसेर वा बोकेर हिँड्न सकिनेछ । ट्राफिक प्रहरीले त्यही क्युआर कोर्ड प्रयोग गरेर सवारी चेक गर्न सक्नेछन् ।

मन्त्रालयको वेबसाइट र नागरिक एप प्रयोग गरेर सवारी सम्बन्धि सबै किसिमका कर तिर्न सकिने जनाएको छ भने सवारीधनीले सूचना प्रणालीमा आफूले प्रयोग गर्दै आएको सवारीसाधनको तिर्नुपर्ने कुनै प्रकारको करको विवरण हेर्न र भुक्तानी गर्न सक्नेछन् ।

कर भुक्तानीका लागि डेबिट कार्ड तथा क्रेडिट कार्ड, मोबाइल वालेट, ईबैंकिङ जस्ता डिजिटल सेवा प्रदायकमार्फत् गर्न सकिने यातायात व्यवस्था कार्यालय हेटौंडाले जनाएको छ । यसले यातायात कार्यालयमा हुने भीडका साथै आर्थिक चलखेल रोकिने यातायात कार्यालयको विश्वास छ ।

देशभरमध्ये बागमती प्रदेशमा करिब ४७ प्रतिशत् साधन दर्ता भएका छन् । प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ मा १४ लाख २९ हजार १ सय ६९ सवारी दर्ता भएकोमा आव २०७६/०७७ मा ९३ हजार ५ सय ७७ दर्ता भए । आव २०७७/०७८ मा १ लाख २४ हजार ३ सय ५ सवारीसाधन प्रदेशमा दर्ता भएको यातायात कार्यालयले जनाएको छ ।

प्रतिक्रिया