स्थानीय समाचारदाता नहटाइएको रासस व्यवस्थापनको दाबी,निर्देशिका अनुसार काम नगरेकालाई हटाईएको दाबी

विदुर खबर २०७५ साउन २२ गते १४:०३

काठमाडौँ,  राष्ट्रिय समाचार समिति (रासस) व्यवस्थापनले समयावधि समाप्त भएका स्थानीय समाचारदाता (स्ट्रिङ्गर) लाई समाचार लेखनको आधार र निश्चित मापदण्डका आधारमा नवीकरण प्रक्रिया जारी रहेकाले कुनै पनि समाचारदातालाई नहटाइएको स्पष्ट पारेको छ ।

Advertisement

रासस व्यवस्थापनसँग सो विषयमा छलफल गर्न आएको नेपाल पत्रकार महासंघको श्रमजीवी पत्रकार उपसमितिको जिज्ञासामा अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले गत असार मसान्तमा अवधि समाप्त भएका १११ स्थानीय समाचारदातामध्ये ८२ जनाले नवीकरणका लागि निवेदन दिएकामा ६४ जनाको नवीकरण गरिएको जानकारी दिनुभयो । राससका स्थानीय समाचारदाताको हरेक आर्थिक वर्षको अन्त्यमा वार्षिक अवधि समाप्त भई नवीकरण र पुनःनियुक्ति गरिन्छ । स्थानीय समाचारदातालाई मासिक तलब नभई समाचारका आधारमा पारिश्रमिक दिइन्छ । अध्यक्ष श्यामलले भन्नुभयो, “कुनै पनि पत्रकारलाई कारवाहीस्वरुप हटाइएको छैन तर सबैको नवीकरण हुनैपर्छ भन्ने बाध्यता छैन । हटाउँदै नहटाइएकाले तिनीहरुलाई पुनःबहाली गर्नुपर्ने भन्ने प्रश्नै आउँदैन । महासंघले विस्तृत बुझेर मात्र यस विषयमा छलफल गर्दा उपयुक्त हुन्छ ।”
उहाँले गत निर्वाचनमा समाचार सङ्कलनमा स्थलमा नखटेका, राजनीतिक दलको जिल्लाका कमिटीमा पदाधिकारी रहेका, समाचारको न्यूनतम संख्या र स्तर पूरा गर्न नसकेका तथा निर्देशिकानुकूल काम नगरेका केही समाचारदाताको नवीकरण नगरिएको पनि स्पष्ट गर्नुभयो । अध्यक्ष श्यामलले भन्नुभयो, “रासस सरकार र जनताप्रति उत्तरदायी र गुणात्मक समाचार दिन चाहन्छ, यही व्यावसायिक आधारमा स्थानीय समाचारदाताको नवीकरण र नियुक्ति हुन्छ । राससको समग्र सुधार मेरो प्राथमिकता हो, अरु कुनै स्वार्थ र पूर्वाग्रह हुनेछैन ।” महासंघका सचिव रामप्रसाद दाहालसहितको टोलीले राससका केही पूर्वसमाचारदाताले आआफ्नो नवीकरण नगरिएको भनी मौखिक उजुरी दिएको जनाउँदै श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको थियो । सोही विषयमा केही दिनअघि भएको सञ्चारका क्रममा सचिव दाहालले आफूसँग मर्यादित भाषा व्यक्त नगरेको भनी अध्यक्ष श्यामलले आपत्ति जनाएपछि सचिव दाहालले क्षमायाचना माग्नुभएको थियो ।

 (रासस)

Advertisement

प्रतिक्रिया