मिडिया र पत्रकार जोगाउने उपाय
रेडियो, टेलिभिजन, अनलाइन, पत्रिकाजस्ता आमसञ्चारका माध्यम नागरिक, सरकार दुवैका सूचना र ज्ञानका स्रोत हुन् । संघीय, प्रान्तीय वा स्थानीय सरकारले आफ्नो कार्यक्षमता जनतासमक्ष पुर्याउने र सरकारलाई सुशासनमा हिँडाउन सहयोग पुर्याउने माध्यमसमेत हो, आमसञ्चार । आमसञ्चारका माध्यम पत्रकार उत्पादन गर्ने शिक्षालय पनि हुन् । समाजको ऐना पनि हो, आमसञ्चार ।
सूचना तथा प्रविधिको विकास र इन्टरनेटमा सहज पहुँचले आजको दुनियाँमा आमसञ्चारका माध्यमहरू भौगोलिक सीमा नाघेर विश्वव्यापी भएका छन् । बेलायतको बिबिसी र अमेरिकाको सिएनएन दार्चुला र इलामबाट एकैसाथ हेर्न, सुन्न, पढ्न सकिन्छ । दार्चुला र इलामको रेडियो बेलायत र अमेरिकामा सुन्न सकिन्छ । सूचना प्रविधिका कारण नेपालमा पनि हरेक दिन बिहान काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकाका साथै अनलाइन, रेडियो वा टिभी दार्चुला वा इलामका ग्रामीण क्षेत्रका नागरिकको पहुँचसम्म पुगेका छन् । परम्परागत रूपमा सञ्चालित आमसञ्चारका माध्यमहरू भने अहिले जीवनमरणको दोसाँधमा छन् । उनीहरूलाई बचाउने सञ्जीवनी बुटी चाहिएको छ । त्यो बुटी सरकार, समुदाय, विज्ञापनदाता, पाठक, श्रोता दर्शकजस्ता सरोकारवाला नै हुन् । पहिले जस्तै दोहोरो आम्दानी गर्ने अवस्था सिर्जना नगरी आमसञ्चारका माध्यम अब टिक्न सक्दैनन् । डिजिटल प्रविधिको उपयोगले आमसञ्चारका माध्यमलाई नयाँ सञ्जीवनी दिन सक्छ ।
हाम्रो पात्रोजस्ता एग्रिगेटर (एकत्रीकरण गर्ने संयन्त्र) आमसञ्चारमाध्यमलाई पाठक, श्रोता वा दर्शकसामु पु¥याउने अबका वितरक हुन् । एग्रिगेटरले आमसञ्चारमाध्यमलाई आफ्ना ग्राहकसमक्ष पुर्याइदिन्छन् । रेडियो, टेलिभिजन, अनलाइन र पत्रिकामा प्रसारित तथा प्रकाशित सामग्रीबाट ती एग्रिगेटरले आम्दानी गरेर त्यसबाट आफ्नो सञ्चालन खर्च र आम्दानी छुट्याई बाँकी रकम सम्बन्धित सञ्चारमाध्यमलाई दिन्छन् । ग्राहकबाट प्राप्त भएको आम्दानी र एग्रिगेटरको प्रणालीमा प्राप्त हुने विज्ञापनबापतको आम्दानी आमसञ्चारमाध्यमले छुट्टाछुट्टै प्राप्त गर्ने संयन्त्र बनाउनुपर्छ । एग्रिगेटरले आफ्नो प्रणालीमा प्राप्त गर्ने विज्ञापनबापतको रकम नै रेडियो, टेलिभिजन, अनलाइन र पत्रिकालाई दिने हो, एग्रिगेटर सञ्चालकले आफ्नो खल्तीको पैसा दिने होइन । जुन सञ्चारमाध्यम बढी हेरिन्छ, पढिन्छ वा सुनिन्छ, त्यही सञ्चारमाध्यममा एग्रिगेटरले बढी विज्ञापन राख्छ र पैसा उठाउँछ । बढी पढिने, हेरिने र सुनिने सञ्चारमाध्यममा एग्रिगेटरबाट हुने आम्दानी पनि बढी हुन्छ ।
सस्तो लोकप्रियताका लागि गुणस्तरहीन सामग्री राख्ने प्रचलनलाई नियन्त्रण गर्न एग्रिगेटरको नियमित अनुगमन र नियमन गर्न प्रेस काउन्सिलजस्ता निकाय सक्रिय रहनुपर्छ । प्रेस काउन्सिलमा रहेको परम्परागत जनशक्तिले यस्तो नियमन र अनुगमन गर्न सक्दैन, त्यसलाई आधुनिक र प्रविधिमैत्री बनाउनु आवश्यक छ । आमसञ्चारमाध्यमका सञ्चालक मिलेर पनि संयुक्त एग्रिगेटरको विकास गर्न सक्छन् वा छुट्टै अरू निकायले सबै आमसञ्चारमाध्यमलाई एकत्रित गर्ने गरी एग्रिगेटर बनाउन पनि सक्छन् । एग्रिगेटर भूगोलपार्कमा पत्रिका वितरण गर्ने आधुनिक वितरकजस्तै हो । बढी पढिने, सुनिने र हेरिने सञ्चारमाध्यम बनाउनका लागि गुणस्तरीय सामग्री उत्पादन र प्रकाशन तथा प्रसारण हुनुपर्छ ।
रेडियो, टेलिभिजन, अनलाइन र पत्रिकाले पत्रकार परिचालन गरेर सामग्री उत्पादन गरेका हुन्छन् । गुणस्तरीय पत्रकार परिचालन गर्दा मात्र गुणस्तरीय सामग्री प्राप्त हुने हो । गुणस्तरीय जनशक्तिका लागि लगानी पनि बढी नै हुन्छ । यसका लागि पनि आमसञ्चारको आम्दानी बढ्न आवश्यक हुन्छ । आमसञ्चारका माध्यमले आम्दानी बढाउन प्रतिलिपि अधिकार ऐनको पनि सदुपयोग गर्नुपर्छ । आफूले श्रम र पैसा खर्च गरेर उत्पादन गरेको सामग्री अरू कसैले सित्तैमा उपयोग गरेर कमाइरहेको हुन सक्छ । यसमा समाचार माध्यमहरू सचेत नभई हुँदैन ।
युट्युबले कन्टेन क्रिएटर (सामग्री उत्पादक)लाई दिने रकम उसले ती सामग्रीको बीच–बीचमा राख्ने विज्ञापनबाट संकलन गर्छ । त्यही विज्ञापनको निश्चित प्रतिशत रकम सम्बन्धित सामग्री उत्पादकलाई दिने गर्छ । जुन टेलिभिजनमा नहेरी नहुने र रेडियोमा नसुनी नहुने सामग्री प्रसारण हुन्छ, जुन अनलाइन र पत्रिकामा नपढी नहुने सामग्री प्रकाशित हुन्छन्, तिनै टेलिभिजन, रेडियो, पत्रिका र अनलाइनलाई एग्रिगेटरले आफ्नो प्रणालीमा समावेश गर्छ । नपढे पनि हुने, नसुने पनि हुने, नहेरे पनि हुने सामग्री प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यम अब टिक्न सक्दैनन् ।
अब आमसञ्चारमाध्यमले हकरबाट होइन, एग्रिगेटरजस्तो वितरकमार्फत पैसा संकलन गर्न सक्नुपर्छ । प्रत्येक मिडियाका एप डाउनलोड र प्रत्येकलाई छुट्टै पैसा तिर्नुभन्दा पाठक, श्रोता र दर्शकले एउटा एग्रिगेटरलाई पैसा तिरेर एप डाउनलोड गर्दा सबैमा आएका सामग्री पाउन सक्ने हुन्छ । त्यो प्रविधिलाई उपयोग गर्ने दिशामा आमसञ्चारका माध्यम अगाडि बढ्नुपर्छ । एउटा नागरिकले टेलिभिजन हेर्नका लागि केबल अपरेटरलाई पैसा तिर्नुपर्छ । नागरिकको पैसा सकिनेबित्तिकै केबलको लाइन काटिन्छ र टेलिभिजन हेर्न सकिँदैन । तर, केबल अपरेटरले नेपाली टेलिभिजन सञ्चालकलाई पैसा तिरेका हुँदैनन्, टेलिभिजनले प्रसारण गरेका सामग्री ग्राहकसमक्ष पुर्याएबापत केबल अपरेटरले पैसा उठाउँछन्, तर टेलिभिजनमा प्रसारण गरिएको सामग्रीबापत टेलिभिजन सञ्चालकले केबलबाट पैसा पाउँदैन ।
बरु उल्टै केबलमा राखेर ग्राहकसमक्ष पुर्याइदिएबापत टेलिभिजन सञ्चालकले चाहिँ पैसा बुझाउने गर्छन् । लगानी गरेर प्रसारण सामग्री उत्पादन गर्ने टेलिभिजनले उल्टै केबल अपरेटरलाई पैसा बुझाएर कसरी टेलिभिजन सञ्चालन हुन सक्छ ? आमसञ्चारका माध्यममा सबैभन्दा महँगो प्रविधि नै टेलिभिजन हो । यसका प्रसारण सामग्री उत्पादन गर्न रेडियो, पत्रिका र अनलाइनका लागि भन्दा बढी खर्च हुन्छ । पछिल्लो समय टेलिभिजन सञ्चालकले आफ्नो प्रसारण सामग्री युट्युबमा राखेर केही आम्दानी गरिरहेका छन्, तर त्यो पर्याप्त हुँदैन ।
डिजिटल माध्यम प्रयोग गर्न नसक्ने तर पत्रिका पढ्न चाहनेलाई नियमित ग्राहक बनाएर घर–घरमा पत्रिका पु¥याउने पुरानो व्यवस्थालाई पत्रिका सञ्चालकले निरन्तरता दिन सक्छन् । मोबाइल, ल्यापटप वा ट्याबमा पत्रिकामा आएका सामग्री पढ्नेभन्दा घरमा पत्रिका पढेर मज्जा लिने संख्या नेपालमा अहिले पनि ठूलै छ । उनीहरूको रुचि र चाहनाअनुसारको सेवा पत्रिकाले दिन सक्छन् । तर, कोभिड–१९ को महामारी फैलिएपछि घरघरमा पत्रिका पु¥याउने र ग्राहक बन्ने क्रम निकै घटेको छ ।
मिडियाको आम्दानीको स्रोत विज्ञापन हो । तर, ती विज्ञापन सामाजिक सञ्जालकेन्द्रित हुन थालेपछि आमसञ्चारमाध्यममा विज्ञापन घटेका छन् । विज्ञापन घट्नु भनेको आमसञ्चारमाध्यमको आम्दानी घट्नु हो । सरकारी सूचनाहरू पत्रिकामार्फत नै सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । जुन सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गर्दा उपयोगी हुने हो, त्यही माध्यममा सरकारी सूचना प्रवाह गर्दा हुने कानुनी व्यवस्था गर्न उपयुक्त हुन्छ । मोफसल र राष्ट्रिय स्तरका सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गराउने विज्ञापनको बारेमा सार्वजनिक खरिद ऐन र नियमावलीमा रहेको विद्यमान व्यवस्था संशोधन गरी नयाँ व्यवस्था गर्नुपर्ने आवश्यकता छ । अहिले मोफसलमा सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गराउँदा हुने सरकारी सूचनालाई राष्ट्रिय सञ्चारमाध्यममै प्रकाशन तथा प्रसारण गराउनुपर्ने बाध्यता छ । यो व्यवस्थामा संशोधन गर्न सरोकारवालाहरूको ध्यान पुगेको देखिँदैन ।
विज्ञापन बजारको अस्वस्थ प्रतिस्पर्धालाई हटाएर सरकारी विज्ञापनमा मूल्य एकरूपता कायम गर्न सक्दा त्यसले सञ्चारमाध्यम र सरकार दुवैलाई लाभ हुनेछ । विज्ञापनलाई मात्रै आम्दानीको स्रोत मान्नुपर्दा आमसञ्चारमाध्यममा गरिने विज्ञापन महँगो हुँदै गएको छ । आमसञ्चारमाध्यमले आम्दानीका अन्य स्रोत पहिचान गरी त्यसबाट आम्दानी गर्न थाले विज्ञापनको दर कम गराउन सक्छन् । आमसञ्चारमाध्यमको उत्पादन सामग्रीलाई मात्रै होइन, आम्दानीलाई पनि डिजिटल युगमा प्रवेश गराउनु आजको आवश्यकता हो । युरोप, अमेरिका र भारतमा समेत आमसञ्चारका माध्यमले आम्दानीका स्रोतलाई विविधीकरण गरिसकेका छन् । नेपालका आमसञ्चारका माध्यमले पनि त्यो दिशामा आफूलाई रूपान्तरण गर्न सक्नुपर्छ ।
(सापकोटा बागमती प्रदेशका सञ्चार रजिस्ट्रार हुन्)
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया