आज चल्ने सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागु
नुवाकोट । काठमाडौं उपत्यकामा आज मंगलबारदेखि जोर–विजोर प्रणालीमा सार्वजनिक यातायात पनि चल्ने भएका छन् ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले सो निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो ।
यसले काठमाडौं उपत्यकमा निषेधाज्ञा थप खुकुलो हुनेछ । कतिपय व्यवस्थाहरू थप खुकुलो पार्दै असार २१ गतेसम्म निषेधाज्ञाको लम्ब्याइएको छ ।
भौतिक दूरी कायम गरी र स्वास्थ्य सावधानी पालना गरेर अब २५ सिट माथिका सार्वजनिक सवारीसाधन पनि जोर–विजोर प्रणालीमा चल्न दिने निर्णय गरेका छौं ।’ –प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो ।
निजी सवारीसाधनमा जोर–विजोर प्रणाली यथावत् छ ।कोरोनाको दोस्रो लहर बढेपछि वैशाख १६ गतेदेखि उपत्यकामा लागू निषेधाज्ञा झन्–झन् खुकुलो बनाउँदै लगिएको हो । निषेधाज्ञाले सर्वसाधारण तथा आम मानिसको जनजीवन कठिन बन्दै गएकाले निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको निरौलाको भनाइ छ ।
त्यसै गरी, बैठकले उपभोग्य सामग्री र पाठ्यपुस्तकको पसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुन दिने निर्णय गरेको हो । खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री पसल, खेलकुद सामग्री पसल र स्टेसनरी पसल साँझ ६ बजेसम्म खुल्ने निर्णय जारी आदेशमा उल्लेख गरिएको छ ।
त्यस्तै, डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री अटोमोबाइल पाट्र्स पसल भने बिहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् । त्यस्तै, इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि सञ्चालन हुन पाउनेछ ।
अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ । सवारीसाधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । त्यस्तै, सभा–सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङपुल, सैलुन, ब्युटीपार्लर, हेल्थ क्लब, फुटसल, जिमखानाहरु भने सञ्चालन गर्न नपाइने भएको छ ।
त्यसै गरी, खुला स्थानमा भेला हुन, भीडभाड गर्न, सभा–जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पनि प्रतिबन्ध नै छ । विद्यालय, क्याम्पसमा भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षा सञ्चालन गर्न पनि नपाइने भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया