बाढीले हेलम्बुमा धनजनको ठूलो क्षति, २३ जना अझै बेपत्ता

नुवाकोट । मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका २३ जना बेपत्ता भएका छन् । लेदो मिसिएको बाढीले मेलम्ची बजार तहसनहस भएको छ । तर हेलम्बु क्षेत्रमा भएको क्षतिको विवरण आएको थिएन ।
हेलम्बु गाउँपालिकाले शनिबार सार्वजनिक गरेको विवरणअनुसार सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोसँगै बुधबार राति आएको बाढीले ठूलो धनजनको क्षति भएको छ ।
बाढीमा परी चार महिला र १९ पुरुष बेपत्ता भएका छन् । बाढीले ६ वटा झोलुंगे पुल बगाएको छ भने तीन वटा मोटरेबल पुल बगाएको छ । तिम्बुमा रहेको मेलम्ची खोलाको पुल, दङतोम्बामा रहेको मोटरेबल पुल, चेक्पु र मेलम्चीध्याङ जोड्ने नवनिर्मित पुल बाढीले बगाएको छ ।
चनौटे चुरेटारको रातो पुल उच्च जोखिममा परेको छ । यस्तै काठमाडौं–मेलम्ची हुँदै हेलम्बु जाने सडकको डुंग्रे बजार खण्डमा करिब ३०० मिटर, चनौटेदेखि गणेशसम्मको करिब ७०० मिटर, भूमेश्वरी तितेखानी खण्डको करिब ५०० मिटर र किउल–तिम्बु–अम्बाथाङ ५ किलोकिटर सडक क्षतिग्रस्त भएको छ ।
बाढीले हेलम्बु गाउँपालिका–१ स्थित च्युरीखर्क, तिम्बु, हल्दे, आम्बाथानका करिब २८ घर टहरा बगाएको छ । वडा नम्बर २ को पुरानो चनौटे बजार–मुक्तिटार–गणेश बजार–किउलसम्म पूर्ण र आंशिक रुपमा घर टहरामा भएको क्षतिले ११२ परिवार विस्थापित भएका छन् ।
किउलमा रहेको नवनिर्मित इलाका प्रहरी कार्यादयको भवन बनाएको पनि बगाएको छ भने वडा नम्बर ३ को भण्डारी सिममा रहेका तीन घर पनि बाढीले बगाएको छ । यसैगरी गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने चनौटेको मुख्य बजारका करिब २५ पसल बाढीले बगाएको छ भने अधिकांश घरमा क्षति पुगेको छ ।
बाढीले ८ वटा ट्राउट माछा फर्ममा पूर्ण क्षति भएको हेलम्बु गाउँपालिकाले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया