रोपाइँको मुखमा मल हाहाकार

विदुर खबर २०७८ असार १ गते ८:३९

नुवाकोट । सामाजिक सञ्जाल फेसबुकमा शनिबार एउटा तस्बिर निकै भाइरल बन्यो ।

Advertisement

कञ्चनपुरको दोधारा चाँदनीबाट महिलाहरूले टाउकोमा राखेर सानो परिमाणमा ल्याउँदै गरेको मल बरामद गरेपछि धेरैले प्रहरीको बहादुरी भन्दै उक्त तस्बिर पोस्ट गरे । कतिपयले स्वदेशमै मल आपूर्ति गर्न नसक्ने र भारतबाट अवैध रूपमा भित्रिएको मल पनि ल्याउन नदिने भन्दै आक्रोशसमेत पोखे ।

मनसुनको सुरुवातसँंगै पश्चिम तराईका किसान रोपाइँको तयारीमा छन् । बीउदेखि खेत सबै तयार गरे पनि रासायनिक मल अभावले उनीहरू चिन्तित छन् । नेपालमै सहज तरिकाले मल नपाइने र निषेधाज्ञा र नाका बन्द भएका कारण भारतबाट पनि ल्याउन नसकेका कारण किसान चिन्तित बनेका हुन् । भारतबाट अवैध रूपमा दोधारा चाँदनीसम्म पुगेको मलसमेत प्रहरीले ल्याउन नदिएपछि झनै समस्या भएको छ ।

Advertisement

धान रोप्नुअघि प्रयोग गर्ने डीएपी मल भने किसानले पाउन सकेका छैनन् । यो वर्ष मनसुन छिटो भएकाले रोपाइँ पनि सुरु भइसकेको कैलालीको गदरियाका परशु चौधरीले बताए । ‘धान रोप्नुअघि डीएपी मल छर्न पाएनौं,’ उनले भने, ‘पानी पर्ने बेला धान रोप्नुपर्ने भएकाले मल बिना रोपाइँ भयो ।’ घोडाघोडी निम्दीका कमल बमले मलबिना धान रोप्नुपर्ने अवस्था आएको बताए । ‘स्थानीय सहकारीमा मलका लागि दिनदिनै धाउनुपरेको छ,’ उनले भने, ‘सहकारी सस्थामा थोरै मल आइपुग्छ हारालुछ भएर एकैछिनमा सकिन्छ ।’

मल आपूर्ति गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेडका प्रदेश कार्यालय प्रमुख नवलसिंह बोगटीले निषेधाज्ञामा बैंकहरू बन्द भएकाले गोदाममा भएको मल पनि सहकारी संस्थालाई दिन नसकिएको जानकारी दिए । ‘एक साता भयो, स्थानीय प्रशासनले दिनमा दुई घण्टा मात्र बैंक खोल्ने अनुमति दिएको छ,’ उनले भने, ‘बैंक खुलेपछि हामीले पनि सहकारीलाई मल लिन बोलाएका छौं, कसले पायो, कसले पाएन थाहा छैन । मल वितरण जारी छ ।’

Advertisement

मागअनुसारको मल एकैपटक नआउने भएकाले पनि किसानलाई मलको अभाव खट्किने गरेको उनले बताए । भारतबाट चोरीको अवैध मल पनि अहिले किसानले महँगोमा किन्नुपरेको हसुलियाका वीरभान चौधरीको भनाइ छ । सीमा सुरक्षामा रहेका नेपाली र भारतीय सुरक्षाकर्मीले तस्करबाट बढी पैसा असुल्दा किसानलाई त्यसको भार परेको उनी बताउँछन् ।

कञ्चनपुरमा रासायनिक मलको आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी दुवैका गोदाम लगभग रित्ता छन् । कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा अहिले सय टन डीएपी र २० टन युरिया मात्रै छ ।

‘सहकारी मल खोज्दै आउँछन्, हामीले पर्याप्त मात्रामा दिन सकेका छैनौं,’ कृषि सामग्री लिमिटेडको महेन्द्रनगर कार्यालय प्रमुख बलबहादुर शाहले भने, ‘भैरहवामा प्रशस्त मल छ भन्छन्, तर यहाँ आउँदैन ।’ लिमिटेडसंँग मल बिक्रीका लागि ११४ सहकारी आबद्ध रहेको उनले जानकारी दिए ।

कृषि सामग्री कम्पनीले १५ सय टन युरिया र २ हजार टन डीएपी बेचिसकेको छ । यतिले मात्रै पर्याप्त नहुने शाहले बताए । मल आपूर्तिका लागि गत वर्षदेखि जिल्लाका सबै स्थानीय तहलाई कोटा निर्धारण गरिएको छ । स्थानीय तहमा खेतीपाती हुने क्षेत्रफलका आधारमा यहाँ आएको मलमध्ये १० देखि १३ प्रतिशतसम्म आपूर्ति गर्नुपर्ने उनको भनाइ छ ।
कञ्चनपुरमा मल आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङको गोदाम पनि रित्तो छ । भएको अलिअलि मल बिक्री भएपछि गोदाम रित्तो भएको हो । ‘अब असार दोस्रो सातापछि मात्रै मल आउने भन्ने छ,’ साल्ट ट्रेडिङ महेन्द्रनगरका प्रमुख दीपक भट्टले भने ।

मल आपूर्ति गर्ने दुवै संस्थाका गोदाम रित्ता भए पनि महेन्द्रनगर बजार तथा ग्रामीण भेगमा समेत अवैध मल भने छ्यापछ्याप्ती भेटिएको छ । दुई साताअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको संयुक्त अनुगमनका क्रममा महेन्द्रनगरको तिरुपति बालाजीको गोदाममा ठूलो परिमाणमा अवैध मल भेटिएपछि गोदाम सिल गरिएको थियो ।

प्रतिक्रिया