प्रदेश र जिल्लाको प्रहरी नेतृत्वमा फेरबदलको तयारी

विदुर खबर २०७८ जेठ ३१ गते १७:५१

नुवाकोट । नेपाल प्रहरीको प्रदेश र केही जिल्लाका नेतृत्व फेरबदलको तयारी थालिएको छ ।

Advertisement

प्रदेश र जिल्लामा एक वर्ष अवधि पूरा भएका अधिकृतहरुको सरुवा गर्ने प्रक्रिया थालिएको हो । गृह मन्त्रालयले प्रदेशमा सुरक्षा प्रमुखहरु खटाएको १२ महीना पुगिसक्दा पनि सरुवा हुन सकेको छैन । ८ वैशाख २०७७ मा सरुवा भएर प्रदेश गएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु हालसम्म प्रदेशमै कार्यरत छन् ।

सामान्य अवस्थामा एक वर्षमा प्रहरी अधिकारीहरुको सरुवा गर्ने व्यवस्था छ । कार्यसम्पादनमा समस्या देखिए त्यसअगावै पनि प्रहरीको सरुवा हुने गरेको छ । उनीहरुको सरुवा प्रक्रिया थालिएको गृह मन्त्रालय स्रोतले बतायो । यसपछि क्रमशः प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्मै सरूवा हुने स्रोतको भनाइ छ ।

Advertisement

हाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी), उपरीक्षक (एसपी), नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गर्ने बेला भइसकेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत बताउँछन् । संघीय प्रहरी कार्यालयका एसएसपीहरु, मोरङ, सुनसरी, दाङ, कैलाली, बाँके, कास्की लगायतका जिल्लाका एसपी र अर्घाखाँची, भोजपुर, संखुवासभा, खोटाङ लगायतका डीएसपीले एक वर्ष अवधि विताइसकेका छन् ।

उपत्यकामा प्रहरी वृत्तको नेतृत्व गरिरहेका डीएसपी दक्षकुमार बस्नेत, हरिबहादुर बस्नेत, नविन कार्की, निराजनदत्त भट्ट, रोशन खड्कालगायतको पनि एक वर्ष अवधि पुगिसकेको छ । सोह्रखुट्टका डीएसपी दिपक खड्काको पनि एक वर्ष अवधि पुगिसकेको थियो । तर कारबाहीमा परेर जिम्मेवारी खोसिएको छ ।

Advertisement

कानूनतः एसपीसम्म सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजीपी) लाई हुन्छ । तर हरेक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सम्मकै सरुवामा शक्तिकेन्द्रले दबाब दिने गरेको छ । यदि संसद पुनर्स्थापना नभए हाल सरुवा गरिने प्रहरी कमाण्डरहरुले चुनाव गराउने भएकाले पनि यो पटक प्रहरीमा हुने फेरबदललाई महत्वका साथ हेरिएको छ

एक अधिकृतका अनुसार सुरुवातमा कोरोना भाइरस महामारीलाई कारण देखाउँदै सरुवा रोकिएको थियो । पछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पदमुक्त भएपछि प्रहरीमा सरुवा हुनसकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनाव घोषणा गरेपछि प्रहरी सरुवामा बालुवाटारको चासो छ । यद्यपि अदालतमा मुद्दा–मामिला चलेर परिस्थिति अन्यौलग्रस्त भइरहँदा पनि प्रदेश र जिल्लाका नेतृत्वको सरुवामा ढिलाइ भएको छ ।

हालै डीआईजी सरुवाको तयारी गरिए पनि नयाँ गृहमन्त्री आएसँगै पछाडि धकेलिएको एक अधिकृत बताउँछन् । प्रहरी प्रवक्ता वसन्त कुँवरले भने सरुवाको विषयमा आफूलाई केही जानकारी नभएको बताए ।

स्रोतका अनुसार नयाँ गृहमन्त्री खगराज अधिकारीले बल्ल डीआईजी सरुवा सुरु गर्ने तयारी गरेका छन् । यदि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फैसला हुँदा संसद पुनर्स्थापना नभए हाल सरुवा गरिने प्रहरी कमाण्डरहरुले चुनाव गराउने भएकाले पनि यो पटक प्रहरीमा हुने फेरबदललाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया