बाध्यताले बाग्मतिमा एमाले एकैठाउँमा उभियो
नुवाकोट । झण्डै ६ महिनादेखि बागमती प्रदेश संसदीय दलमा समानान्तर अभ्यास गरिरहेको नेकपा एमाले बजेट ल्याउन एकैठाउँ उभिएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले एमाले सांसदहरुलाई संयुक्त निर्देशन दिएपछि आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित भएको छ । जबकी साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा बरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता गरेका थिए । शाक्यलाई वैकल्पिक मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।
२३ फागुनमा साबिकको नेकपा भंग भएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अविश्वासको प्रस्ताव फिर्ता भयो । तर एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल समूहका सांसदहरू एक थिएनन् । ६ जेठको राष्ट्रियसभा उपनिर्वाचनमा नेपाल समूह समेत भएको विपक्षी गठबन्धनका उम्मेद्वार डा. खिमलाल देवकोटासँग एमाले उम्मेद्वार रामबहादुर थापा पराजित भएका थिए ।
सूर्य चिन्ह लिएर मैदानमा उत्रिएका उम्मेद्वार बादललाई मत नगरिएको भन्दै ओली पक्षले ९ जेठ नेपाल समूहमा आवद्ध १४ प्रदेश सांसदलाई स्पष्टीकरण सोधिएको थियो । त्यसबेला अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बसन्त मानन्धर, रचना खड्का, कृष्ण खनाल, शान्तिप्रसाद पौडेल, मनु सिग्देल, इन्द्रमाया गुरुङ, मीना ज्ञवाली, बसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, कुसुमकुमार कार्की र पार्वती सिलवाललाई स्पष्टीकरण सोधिएको थियो ।
तर त्यो स्पष्टीकरण फिर्ता लिइएको छ । ‘स्पष्टीकरण सोध्नु जरुरी नभएको भन्दै सोधिएकोमा माफी मागिएको पत्र शनिबार बिहान मात्रै १४ जनालाई दिइएको छ । ‘स्पष्टीकरण फिर्ता भएपछि नीति तथा कार्यक्रम ल्याउन एमाले एकैठाउँ उभिएको छ । यो पार्टी नेतृत्वलाई सन्देश पनि हो’, नेपाल निकट सांसद लक्ष्मण लम्साल भन्छन् । सर्वोच्च अदालतले दुई पटक दिएको फैसला अनुसार २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व मान्न तयार नभएका अध्यक्ष ओलीलाई बागमतीबाट सन्देश दिइएको लम्साल बताउँछन् ।
ओली पक्षका नेता बागमती सरकारका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री सरेश नेपाल पनि एकताको सन्देश दिइएको बताउँछन् । ‘वारपारको अवस्थामा भइरहेका बेला एउटै ठाउँमा रहनु राम्रै सन्देश जाने नै भयो’, मन्त्री नेपाल भन्छन् ।
तर ‘सबै विवाद मिल्यो र एमाले एकै भइसक्यो भन्नु’ हतार हुने एक नेता बताउँछन् । उनका तर्कअनुसार अझैपनि दुई पक्षबीच बलियो समझदारी बनिसकेको छैन ।
बाध्यताले एक ठाउँमा
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर गर्नेदेखि राष्ट्रियसभा उपनिर्वाचनमा अलग उम्मेद्वार तय गरेर जिताउने तहसम्म पुगेको इतर समूसहँग सहमतिको हात अगाडि बढाउनु मुख्यमन्त्री पौडेलको बाध्यता हो । किनकी एमाले एकठाउँ नउभिँदा बजेट पास नहुने मात्र होइन, सरकार नै नरहने अवस्था बन्छ । किनकी एमालेका ५७ सांसदमध्ये २२ जना नेता पक्षमा छन् ।
११० प्रदेशसभामा नेपाली काँग्रेससँग २२ र नेकपा माओवादी केन्द्रसँग २३ सांसद छन् । नेपाल समूहका सांसदहरुले नयाँ सरकार बनाउने बाटो खोल्न सक्छन् । नेपाल समूहले कर्णाली र सुदूरपश्चिम प्रदेशबाट त्यो सन्देश दिइसकेको छ ।
अझ कर्णालीमा फ्लोर क्रस गरेपछि पदमुक्त चार सांसदलाई अदालतले पुनर्बहाली गरिदिएको छ । त्यो नजीरका आधारमा बागमतीमा स्पष्टीकरण सोधिएको १४ जनालाई कारबाही हुने देखिन्न । अझ राष्ट्रियसभा उपनिर्वाचनमा गोप्य मतदान भएकाले ओली समूहले कारबाही गर्न सक्ने अवस्था देखिन्न ।
मन्त्री नेपाल भने नेपाल समूहसँग पनि विकल्प नरहेकाले एकठाउँ उभिने अवस्था बनेको बताउँछन् । ‘बागमतीमा संस्थापन बहुमतमा छ । त्यसैले उहाँहरु सहमतिमा आउनुपर्ने अवस्था हो’, उनी भन्छन् । तर नेता लम्साल अरू विकल्प भए पनि पार्टी एक राख्ने सन्देशका रुपमा मात्रै बुझ्नुपर्ने बताउँछन् ।
स्रोतका अनुसार मुख्यमन्त्री पौडेलले १ असारमा ल्याइने बजेटबारे नेपाल समूहसँग आवश्यक परामर्श गर्ने सहमति गरेका छन् । यसअघि एक्लौटी गरेको आरोप उनीमाथि छ । त्यसपछि पनि एमाले एकैठाउँ राख्न पौडेलले शक्ति सन्तुलन कायम गर्नुपर्नेछ । त्यो भनेको सरकारमा नेपाल समूहलाई सहभागी गराउने ।
दुई सर्त पूरा नभए फेरि जुनसुकै बेला बागमती एमाले एकठाउँ नरहने सम्भावना छ । २०७४ को निर्वाचनपछि दलको नेता चयन गर्दा पनि ओली र नेपाल समूह अलग उभिएको थियो । माओवादीसँग एकता भएपछि पार्टी केन्द्रको प्रभावअनुसार पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल निकट सांसदहरु एकठाउँ उभिएका थिए ।
२३ फागुनको अदालतको फैसलापछि प्रचण्ड र नेता समूह अलग भएपनि एमालेको विवाद कायमै रह्यो । २८ फागुनमा अध्यक्ष ओलीले नेपाल समूहका नेताहरुलाई भूमिकाविहीन बनाउने, नवौं महाधिवेशनको नेतृत्व विघटन गर्ने र विधान संशोधन गर्ने निर्णय गरेपछि बागमती एमाले पनि विभाजित छ । नेताहरुले एमाले एकैठाउँ ल्याउन साझेदारी गर्ने प्रयास जारी राखेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज २८६२ औँ सोनाम ल्होसार,सार्वजनिक विदा
नुवाकाेटमा एमालेका उम्मेदवार तोकिए
हर्क साम्पाङले दिए मेयर पदबाट राजीनामा
वामदेव समूह आक्रोशित, नेकपाका १२ केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा
बागमतीमा एमालेले टुंग्यायो २८ उम्मेदवार





प्रतिक्रिया