एसईई नै खारेज गर्न सरोकारवालाको माग

विदुर खबर २०७८ जेठ २५ गते ८:३२

नुवाकोट । सरोकारवालाहरुले संविधानअनुसार माध्यमिक शिक्षा कक्षा १२ सम्म लागू भएकाले १० कक्षामै लिइने एसईई परीक्षा खारेज हुनुपर्नेमा जोड दिएका छन् ।

Advertisement

उनीहरुले करोडौँ लगानी गरेर उपलब्धि नहुने भएकाले एसईई खारेज गर्नुको विकल्प नभएको पनि बताएका छन्  ।काठमाण्डौमा भएको कार्यक्रममा शिक्षाविद् डा.विष्णु कार्कीले संविधान जारी भएर लागू भएकै दिनदेखि एसईई खारेज हुनुपर्नेमा शिक्षामन्त्रालयको कमजोर नेतृत्व र एसईईका नाममा केही व्यक्तिलाई राष्ट्रिय परीक्षा बोर्डमा जागिर दिने काम मात्रै भइरहेको बताउनु भयो ।

एसईई परिक्षा संविधानको विपरीत रहेको, विद्यार्थी र अभिभावकमाथि अन्याय भइरहेको कार्कीको भनाइ छ । यस्तै परीक्षाविद् प्राध्यापक डाक्टर दिव्यमान कर्माचार्यले एसईई खारेज गर्नेबारे पटक-पटक छलफल र कुरा उठे पनि सरकारले गम्भीरताका साथ नलिएको बताउनु भयो ।

Advertisement

कार्यक्रममा राष्ट्रिय अभिभावक महासङ्घका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले एसईईका नाममा विद्यार्थीबाट रकम उठाएर आर्थिक शोषण गर्ने काम भइरहेको बताउनु भयो । विद्यार्थीलाई मानसिक तनाव दिने, अभिभावकलाई आर्थिक भार पार्ने र जहिल्यै हाउगुजी बनाउने काम भएको भण्डारीको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले शिक्षा ऐनका कारण एसईई खारेज गर्न नसकिने बताउनु भयो । शिक्षा ऐनमा एसईई सञ्चालन गर्नुपर्ने प्रावधान रहेको र नयाँ ऐन नल्याएसम्म यो पद्धति हटाउन नसकिने उहाँको भनाइ छ । ‘एसईई एउटा परीक्षा मात्रै होइन, पद्धति हो । पद्धति हटाउन सकिँदैन’ पौडेलले भन्नुभयो ।

Advertisement

प्रतिक्रिया