रेशम चौधरीमाथि लगाइएको मुद्दा फिर्ता लिन पहल गर्ने

विदुर खबर २०७८ जेठ १९ गते ७:२४

नुवाकोट । सरकार र थरूहट-थारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

Advertisement

सरकार र थारू कल्याणकारी सभा, थरुहट-थारूवान संघर्ष समितिबीच भएको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो । सरकार र समितिबीच जेलमा रहेका सांसद रेशम चौधरीमाथि लगाएको मुद्दा फिर्ता लिने सहमति भएको हो । सहमतिअनुसार चौधरीको रिहाइका लागि कानुनसम्मतरूपमा पहल गर्ने सहमतिसमेत भएको छ ।

सहमतिमा संविधानमा उल्लेखित व्यवस्था र अदालतको फैसलाअनुसार राज्यका हरेक तह र तप्कामा थारूहरूको आरक्षणको व्यवस्था तथा सबैखाले थारू समुदायको बारेमा संविधानअनुरूपको व्याख्या र व्यवस्था कायम गरिने भएको छ ।थारू बाहुल्य क्षेत्रमा थारू शिक्षाको व्यवस्था गर्ने, कमैया, कमलरी संघर्ष समितिले विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्नेलगायतका सहमतिमा उल्लेख गरिएको छ ।

Advertisement

सहमतिपत्रमा सरकारका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरीको हस्ताक्षर रहेको छ भने संयुक्त संघर्ष समितिको तर्फबाट रूक्मिणी चौधरी, प्रेमलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्दप्रसाद चौधरीको हस्ताक्षर रहेको छ । समितिले लामो समयदेखि रेशम चौधरीको रिहाइलगायतका माग राखेर आन्दोलन गर्दै आएको थियो ।

जनता समाजवादी पार्टीले पनि विगत लामो समयदेखि सांसद चौधरीको रिहाइलाई प्रमुख एजेन्डा बनाउँदै आएको छ । जसपाले नागरिकतासम्बन्धी मुद्दा सम्बोधन भएको, नेताकार्यकर्तामाथि लगाएको झुटा मुद्दा सरकारले फिर्ता लिनु सकारात्मक भएको बताउँदै आएको छ ।

Advertisement

प्रतिक्रिया