पानी परोस् भन्दै सप्तरीका सिडियोले गरे पुजा, जिल्लाका सरकारी प्रमुखहरु पनि सहभागी

विदुर खबर २०७५ साउन १८ गते ४:३५

राजविराज– पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुँदै गएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले बिहीबार सप्तरीको तिरहुत गाउँपालिका–५ (साविक लोहजरा–९) स्थित बाबा बनस्खण्डी मठमा पूजा गरेर वर्षाका लागि पुकार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेशकुमार सिंहसहित सुरक्षा निकाय र अन्य सरकारी कार्यालयका प्रमुखहरुलगायतको टोलीसँगै मठमा पुगेका पौडेलले पानीका लागि पुकार गर्दै पूजा–आजा गरे।बिहानैदेखि निराहार बसेका पौडेलले विधिपूर्वक पूजा–आजा गरेको टोलीका तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त वहडखेर यादवले बताए। यादव आफैपनि पूजामा सहभागि थिए।

भेडिया मठको नामले प्रसिद्ध बनस्खण्डी मठमा रुद्री, इन्द्र पूजा र हवन समेत गरिएको छ। रोपाइँका बेला वर्षा नहुँदा सरकारी कोषबाटै रकम निकासा गरी बाबा बनस्खण्डीको पूजा–आजा गर्ने परम्परा छ।

बनस्खण्डी मठमा भक्तालुहरु

विगतमा जिल्ला मालपोत कार्यालयले पूजाका लागि रकम निकासा गर्ने चलन थियो। प्रजातन्त्र स्थापनापछि जिल्ला विकास समितिमार्फत पूजापाठको सम्पूर्ण व्यवस्थापन हुँदै आएकोमा मुलुक संघीयतामा गएपछि पहिलो पटक स्थानीय तहले नै पूजाको सम्पूर्ण व्यवस्थापन गरेको जिल्ला समन्वय समिति सप्तरीका कर्मचारी कमलेश्वर विराजीले जानकारी दिए।

विगतमा तत्कालिन बडाहाकिम तथा अञ्चलाधीशले मठमा पूजा–आजा गर्ने परम्परा थियो। जिल्लाका प्रमुखहरुले मठमा पूजा गरेपछि पर्याप्त वर्षा हुने तथा अतिवृष्टि र अनावृष्टि नहुने मान्यता छ। ‘कुनै–कुनै बेला त पूजा गर्दागर्दै मुसलधारे वर्षा हुन्थ्यो।’, पूजामा सहभागी एक स्थानीयले भने, ‘यो पूजा असारमै हुनुपथ्र्यो, यसपटक ढिलो भयो।’

मठमा विधिवत पूजा गरेपछि पानी पर्ने जनविश्वास रहेकाले जनताको भावनालाई कदर गर्न पूजापाठ गरिएको सिडिओ पौडेलले बताए।

मठमा पूजाआजाका लागि तत्कालीन राजा राजेन्द्रबाट मठको नाममा १ सय २६ बिघा जग्गा प्रदान गरेको अभिलेख छ। यो स्थल मध्यकालीन समयको भएको हुन सक्ने इतिहासविद्हरु बताउँछन्।

प्रतिक्रिया