बजेटमा निजी क्षेत्रको सकारात्मक प्रतिक्रिया,कार्यान्वयनमा आशंका

विदुर खबर २०७८ जेठ १६ गते ११:२५

नुवाकोट । सरकारले आर्थिक वर्ष २०७८-८९ का लागि ल्याएको वार्षिक बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको तर कार्यान्वयनमा भने शंका व्यक्त गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका छन् ।

Advertisement

सरकारले ल्याएको बजेटलाई प्रशंसा गर्नुपर्ने भए पनि यो सरकार स्थायी नभएकाले शंका गर्नुपर्ने ठाउँ रहेको बताएका छन् । बजेटप्रति विभिन्न टीकाटिप्पणी उठिरहेका बेला वर्तमान सरकारले ल्याएको बजेटलाई भने निजी क्षेत्रले स्वागत गर्नुपर्ने बताएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अहिलेको बजेटलाई विरोध गर्नुपर्ने ठाउँ नरहेको बताउनुभयो । ‘समग्रमा बजेट राम्रो छ, कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘निजी क्षेत्रले खोजेको कुरालाई यसपटक बजेटले समेटेको छ ।’ अहिले कोरोना संक्रमणको कारण मुलुक थिलथिलो अवस्थामा पुगेका बेला बजेटले समग्र क्षेत्रलाई समेट्ने प्रयास गरेकाले यसपटकको बजेटलाई विरोध गर्नुपर्ने ठाउँ नरहेको पनि उपाध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।‘पर्यटन क्षेत्रलाई उत्पादनशील क्षेत्रका रुपमा व्याख्या गर्नु यो एकदमै राम्रो पक्ष हो, आन्तरिक पर्यटनलाई सकारात्मक बनाउने केही व्यवस्था गरिएको छ यो राम्रो कुरा हो’ –उहाँले भन्नुभयो ।

Advertisement

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले घोषणा गरेको बजेट समग्रमा राम्रो भए पनि कार्यान्वयनमा भने चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले १० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ तर यो सम्भव देखिँदैन ।’ उहाँले अहिले कोरोना संक्रमणका कारण मुलुकको उद्योग व्यवसाय धराशयी अवस्थामा रहेकाले सरकारले घोषणा गरेको राजस्व संकलन गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले निजी क्षेत्रले खोजेको कुरा यसपटक बजेटमा उल्लेख गरिएको तर कोरोना संकटका कारण सरकारले उठाउने भनेको राजस्व उठ्न मुस्किल भएको बताउनुभयो ।चुनावी सरकार भएका कारण बजेट कार्यान्वयनमा शंका गर्ने ठाउँ रहेको र सरकारले आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण गरिए पनि कोरोना भाइसरका कारण यो लक्ष्य हासिल हुनेमा शंका गर्ने ठाउँ रहेको बताउनुभयो ।नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवालले यसपटकको बजेटलाई विरोध गर्ने ठाउँ नरहेको बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो– ‘परिसंघले उठाउँदै आएको ‘मेक इन नेपाल’ भन्ने अवधारणालाई यसपटक बजेटमा नै उल्लेख गरिनु सकारात्मक भएको बताउँदै परिसंघले उठाउँदै आएको पब्लिक पार्टनरसिप प्रोग्रामलाई यसपटक सरकारले आफ्नो नीति तथा कार्यक्रममा नै समावेश गरेकाले सरकारको विरोध गर्नुपर्ने ठाउँ छैन ।’नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुनील रिजालले बजेट समग्रमा राम्रो भएको उल्लेख गर्नुभयो ।

बजेटमा अटोमोबाइल्स क्षेत्रलाई सरकारले प्रमोट गर्ने किसिमले आएकाले विरोध गर्नुपर्ने ठाउँ नरहेको बताउनुभयो । नेपालमा स्थापना हुने विदेशी उद्योगलाई प्रोत्साहन गर्ने गर्ने गरी बजेट आएकाले अहिले नै यसको विरोध गर्नुपर्ने ठाउँ नरहेको बताउनुभयो ।

हामीले खोजेको कुरा बजेटमा आएको छ तर बजेटको सबै कुरा अध्ययन नगरी सबै कुरा भन्न सक्ने अवस्था नरहेकाले संस्थाको आधिकारिक धारणा भने बजेटको पूर्णपाठ पढेपछि आउने उहाँले बताउनुभयो ।नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले ल्याएको बजेटलाई विरोध गर्नुपर्ने ठाउँ नरहेको बताउनुभयो ।

उहाँले यसपटकको बजेट आफूहरुको अपेक्षाअनुसार नै आएको बताउँदै कर छुटलगायतका क्षेत्रमा सरकारले सम्बोधन गर्ने प्रयास गरेको बताउँदै निजी क्षेत्रलाई मलम लगाउने प्रयास गरेको बताउनुभयो ।‘अहिलेको अवस्था भनेको एकदमै अप्ठेरो अवस्था हो, यस्तो बेलामा आएको बजेट राम्रो छ’, अध्यक्ष कटुवालले भन्नुभयो– ‘यसले समस्यामा परेका ठूला उद्योग मात्र होइन साना तथा मझौला उद्योगलाई समेत खुसी बनाएको बताउनुभयो ।

प्रतिक्रिया