किन एकाएक बढिरहेको छ जलविद्युत् कम्पनीको सेयर मूल्य ?

विदुर खबर २०७८ जेठ १४ गते १९:११

नुवाकोट ।  पछिल्लो समय जलविद्युत् कम्पनीको सेयरमा उल्लेख्य वृद्धि भएको छ ।

Advertisement

जानकारहरु भन्छन्– सामान्य रुपमा हेर्दा, तत्काल वृद्धि हुनुपर्ने कुनै पनि वस्तुनिष्ठ कारण छैन । तर, बजारको गति हेर्दा जलविद्युत् उपसमूहको सेयरमा आश्चर्यजनक वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कूल ४० जलविद्युत् कम्पनी सूचीकृत छन् । अधिकांश कम्पनीको सेयरको वृद्धिदर राम्रो देखिन्छ । केही कम्पनीको सेयरमा त सकारात्मक सर्किट नै लागेको अवसथा छ । किन यस्तो भइरहेको छ भन्ने बारेमा केही खोजबिन गर्ने प्रयास गरिएको छ ।

Advertisement

मुलुक कोरोनाको दोस्रो लहरमा छ । अधिकांश उद्योग व्यवसाय बन्द छ । आर्थिक कारोबार हुन पाएको छैन ।

नदीमा पानी नभएपनि सञ्चालनमा रहेका अधिकांश जलविद्युत् कम्पनीबाट बिजुली उत्पादन भइरहेको छ ।

Advertisement

उनीहरुको आम्दानीमा कमी हुन पाएको छैन । मात्रात्मक रुपमा बिजुली उत्पादन कम भएपनि हिँउदेयाममा प्रतियूनिट ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भएका कारण पनि आम्दानीमा कमी आएको छैन ।

कोरोनाले अन्य क्षेत्र प्रभावमा पारेको भएपनि ऊर्जा उतपादन गरिरहेका जलविद्युत् कम्पनीलाई कुनै समस्या नआउनु एउटा कारण हुन सक्ने जानकारहरुको भनाइ छ ।

यस्तै, पछिल्ला केही दिनदेखि जलविद्युत् कम्पनीलाई बैंकको ऋण तिर्नका लागि हकप्रद सेयर बिक्री गर्न दिन लागिएको भन्दै हल्ला चलाइएको छ ।

त्यसका पछाडि विद्युत् नियमन आयोगको पनि भूमिका रहेको छ । आयोगले त्यसम्बन्धी व्यवस्था गर्न लागेको विषय ऊर्जा उद्यमीका बीचमा राम्रै चर्चा परिचर्चाको विषय बनेको छ ।

सेयर बजारमा नियमित कारोवार गर्नेलाई यो कुरा थाहा नहुने कुरा भएन । ऋण तिर्नका लागि आयोगमार्फत् लेखाएर नेपाल राष्ट्र बैंकसम्म पुग्ने ऊर्जा उद्यमीहरुको तयारी देखिन्छ । सोही कारण पनि बजारमा एउटा सकारात्मक भाइभ्स आएको बताइन्छ ।

त्यसो त ऊर्जा क्षेत्रमा संस्थागत लगानी गरेकाहरुको लकिङ पिरियड ३ वर्षको हुन्छ । तीन वर्षसम्म आफूले खरिद गरेको सेयर बिक्री गर्न नपाए पनि त्यो समय पूरा भएपछि उनीहरुले सेयर बिक्री गर्न पाउँछन् ।

एकातिर हकप्रदको हल्ला चलेको छ भने अर्को तिर लकिङ पिरियड केही कम्पनीको हकमा सकिएको छ । यसबाट संस्थागत लगानीकर्तालाई दुबै हातमा लड्डु भएको छ । सोही कारण पनि बजारमा जलविद्युत् कम्पनीको सेयर लगातार उकालो लागेको हो ।

जानकारहरुका अनुसार यस्तो व्यवस्थाले संस्थागत लगानीकर्तालाई राम्रै फाइदा हुने देखिन्छ ।

किनकी, उनीहरुको कम्पनीमा होल्ड त छँदैछ । त्यसमाथि मौकामा हिरा फोर्नु, बेमौकामा कौडी पनि नझिक्नु भने जस्तै बजार बढेको बेला आफुहरुसँग रहेको सेयर बिक्री गर्ने, हकप्रदको सुविधा पनि लिन उनीहरु तयार भएका छन् ।

बैंक तथा वित्तीय संस्था एवम् बीमा कम्पनीको जस्तो संस्थापक लगानीकर्ताले लामो समय आफनो सेयर स्वामित्व राख्नुपर्ने विषय ऊर्जा क्षेत्रमा छैन ।

ऊर्जा उद्यमीहरुका अनुसार हकप्रदको विषयमा आयोगले तत्कालै निर्णय गर्ने जानकारी आएको छ । त्यस्तो व्यवस्थाले ऊर्जा उद्यमीलाई फाइदा पुग्ने र त्यही देखाएर ऋण तिर्नका लागि हकप्रद सेयर बिक्री गर्ने वातावरण बन्छ ।

उता विगतमा पनि लकिङ पिरियड सकिएका लगानीकर्ताले सेयरको मूल्य अत्यधिक बढाएर बिक्री गरेको इतिहास छ । त्यस्तो अवस्थामा बाठा लगानीकर्ताले राम्रो फाइदा कमाए पनि सोझा र साना लगानीकर्ता भने नराम्ररी डुब्ने अवस्था पनि आउन सक्ने जानकारहरुको टिप्पणी छ ।

पछिल्लो ६ महिनाको विवरणका आधारमा हेर्दा जलविद्युत् कम्पनीको सेयरमा उल्लेख्य प्रगति भएको देखिन्छ । आयोगका एक पदाधिकारीले पनि जलविद्युत् कम्पनीलाई केही राहतका लागि हकप्रदका लागि अनुमति दिने प्रक्रियाकाबारेमा छलफल अन्तिम चरणका पुगेको र केही समयभित्रै निर्णय हुने बताएका छन् ।

हेरौं, जलविद्युत् कम्पनीको ६ महिना पहिलेको सेयर मूल्य र पछिल्लो पटक जेठ १३ गते बिहीबारको सेयर मूल्य ।

प्रतिक्रिया