निषेधाज्ञामा पनि नागढुंगा सुरुङमार्गको काम नरोकिने
नुवाकोट । निषेधाज्ञामा पनि नागढुंगा सुरुङमार्ग निर्माण कार्य अवरुद्ध नहुने भएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयमा निर्माण कार्य बन्द गर्न सूचना जारी भए पनि नागढुंगाको सुरुङमार्ग निर्माणको काम भने जारी रहनेछ ।
काठमाडौं उपत्यकामा नयाँ भेरियन्टको कोभिड–१९ महामारीको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सार्वजनिक तथा निजी विकास निर्माणका कार्य स्थगन गर्नुका साथै सामग्री ढुवानीमा रोक लगाउने निणर्य गरेको थियो ।
नागढुंगा सुरुङमार्ग निर्माण कार्य यथावत अवस्थामा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिइएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका कामू आयोजना प्रमुख नरेशमान शाक्यले क्लिकमाण्डूसँग बताए ।
‘मजदुर तथा कर्मचारीहरु निर्माणस्थलकै क्याम्पमा बसेर काम गरिरहेका छन् । कामदारहरुको दैनिक रुपमा पीसीआर जाँच भइरहेको छ,’ शाक्यले भने, ‘संक्रमितहरु राख्न पनि आइसोलेसन सेन्टरको व्यवस्था छ ।’
कामदारहरु क्याम्पभित्रै बसेर काम गर्ने भएकाले निर्माण कार्य जारी राख्न गरिएको अनुरोध जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको उनले बताए ।
निषेधाज्ञा शुरु हुनु अघि नागढुंगा सुरुङमार्गमा करिब ७०० जनाले काम गरिरहेका थिए । निषेधाज्ञा जारी भएपछि आधाभन्दा धेरै कामदार घर फर्किसकेका छन् ।
पछिल्लो समय नागढुंगा सुरुङमार्गमा कोरोनाको संक्रमण पनि बढेको छ । सुरुङमार्गमा कार्यरत ७१ जना कर्मचारी तथा मदजुर कोरोना संक्रमित पनि भएका छन् ।
संक्रमितहरुलाई आयोजनाकै आईसोलेसनमा राखेर उपचार भइरहेको छ । संक्रमितको उपचार तथा रेखदेका लागि एकजना नर्सको व्यवस्था मिलाईनुका साथै डक्टरहरुको पनि नियमित भिजिट हुने गरेको प्रमुख शाक्यले बताए ।
‘सबै संक्रमितहरुको अवस्था सामान्य नै छ,’ उनले भने, ‘६ जना संक्रमित पूर्णरुपमा निको भइसक्नुभएको छ,’ उनले भने ।
काठमाडौंको दहचोकदेखि–धादिङको खोलासम्मको सुरुङमार्ग २.६८८ किलोमिटर लम्बाइको छ । सो सुरुङमार्ग निर्माण गर्न २०७६ असोज ६ गते सडक विभाग र जापानको हाज्मा–आन्द्रो जेभीबीच सम्झौता भएको थियो । सुरुङ खन्ने काम भने २०७७ पुसदेखि मात्र शुरु गरिएको हो ।
काठमाडौं डिभिजनको काम भने अनिश्चित
निषेधाज्ञाको अवधिमा सडक डिभिजन काठमाडौंले आंशिक रुपमा सडक बिस्तार तथा सुधारको काम अघि बढाइरहेको थियो । निषेधाज्ञाको अवधिमा डिभिजनको कुल लक्ष्यको ५ प्रतिशत काम पनि अघि नबढेको डिभिजन प्रमुख कुबेर नेपाली बताउँछन् ।
हाल डिभिजनले डक बिस्तार, फुटपाथ, खाल्टा खुल्टी पुर्ने, आकाशे पुल, ओभरले, मार्किङ (रेखा)को काम गरिरहेको छ । कामदार, निर्माण सामग्रीको अभावले काम प्रभावित भइरहेको छ । यसका बाबजुत पनि डिभिजनबाट कोटेश्वर–जडिबुटी खण्ड सडक विस्तार गरिरहेको छ ।
पुतली सडक, दरबारमार्ग र बानेश्वरमा फुटपाथ मर्मतसम्भार गरिरहेको छ । चक्रपथ, बानेश्वर, माइतीघरमा ओभरले र मेलम्ची खानेपानीको पाइप फुटेर खाल्टो भएको सडक टाल्ने काम निषेधाज्ञाको अवधिमा गरिरहेको नेपालीले बताए ।
साथै निषेधाज्ञाको अवधिमा बानेश्वरको आकाशे पुल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको थियो ।
‘ट्राफिक चापले गर्दा आकाशे पुलको काम अघि बढाउन समस्या भइरहेको थियो । निषेधाज्ञाको अवधिमा ट्राफिक चाप कम भएसँगै निर्माण कार्यमा केही सहजता मिलेको थियो,’ उनले भने ।
अहिले पुलको ट्रस जोडने काम भइरहेको छ ।
कोरोनाका संक्रणम तीव्रगतिमा बढेको विषयमा डिभिजन पनि सर्तक रहेको उनले बताए । अहिले अघि बढिरहेका केही काम रोकियो भने पछि गर्न गाह्रो हुन्छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको पनि उनले बताए । डिभिजनले बानेश्वर चोकमा निर्माणधिन आकाशे पुल र सडक ओभरलेको कामका लागि अनुमति माग गरेको उनले जानकारी दिए ।
‘सडकमा ट्राफिक चाप कम छ । सडकका काम गर्न यो उपयुक्त समय हो । सामान्य अवस्थामा यो काम अघि बढाउँदा ट्राफिक अवरुद्ध हुन्छ,’ उनले भने ।
स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्ड अबलम्बन गरेर सामाजिक दुरी कायमगरी ओभरले र आकाशे पुल निर्माण प्रक्रियाका लागि अनुमति प्रदान गर्न अनुरोध गरिएको उनको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया