भेरी अस्पतालका डाक्टर र नर्समाथि आक्रमण गर्ने एमाले नेतासहित तीनजना पक्राउ

विदुर खबर २०७८ जेठ १४ गते १२:५३

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

Advertisement

लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकका अनुसार पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका—११ मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन्।

एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर मृतकका भाइ हुन् भने बाँकी दुई जना मृतकका छोरा हुन्।

Advertisement

घटनास्थिति बुझ्न आफू पनि नेपालगञ्ज जाँदै गरेको डीआईजी धानुकले बताए। बिहीबार राति बिरामीको मृत्यु भएपछि अस्पतालको कोभिड वार्डमा खटिएका चिकित्सक तथा नर्सहरुमाथि कुटपिट भएको थियो।

कोरोना संक्रमितहरुको उपचार हुने कोभिड आईसीयूमा उपचाररत दाङका ५४ वर्षीय संक्रमितको मृत्यु भएपछि उनका आफन्तले आईसीयू कक्षमै पसेर नर्सको घाँटी थिचेका थिए। त्यसपछि अन्य चिकित्सक र नर्समाथि समेत हातपात गरेका थिए।

Advertisement

ड्युटीमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण हुन थालेपछि बिरामीलाई छाडेर उनीहरुको भागाभाग भएको थियो। कतिपय ज्यानकै जोखिम बढेको भन्दै अस्पतालको माथिल्लो तलाबाट हाम्फालेका थिए।

घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।

प्रतिक्रिया