होटल व्यवसाय गम्भीर सङ्कटमा : हान

विदुर खबर २०७८ जेठ १३ गते १८:३२

नुवाकोट । होटल सञ्चालकहरूले कोरोना महामारीका कारण व्यवसाय ठूलो सङ्कटमा परेको भन्दै आउँदो बजेटमा सरकारसँग सहयोगको अपिल गरेको छ ।

Advertisement

होटल सङ्घ नेपाल (हान) ले गम्भीर सङ्कटमा पुगेको होटल तथा पर्यटन उद्योगका लागि सहयोगी व्यवहारसहितको बजेट ल्याउन माग गरेको हो । यो समयमा राज्यको तर्फबाट बृहत् पर्यटन पुनरुत्थान योजना लागू गर्न, चालु आर्थिक वर्षको बजेटमा दिएका सुविधाहरू दोब्बर बनाउन पनि हानको माग छ ।

हानले होटल उद्योगको पुनरुत्थान गर्न व्यवसाय संरक्षण कोष बनाएर आश्रित कर्मचारीका लागि रोजगार संरक्षण कोषको लागि व्यवस्था गर्न माग गरेको छ । यस्तै तीन वर्षका लागि विशेष कर सहुलियतको व्यवस्था गर्दै मूल्य अभिवृद्धि कर (भ्याट) मा ५० प्रतिशत र आयकरमा पाउँदै आएको २० प्रतिशत छुटलाई ५० प्रतिशत कायम गर्न तथा जरिबाना तथा हर्जाना मिनाहा गरिनुपर्ने माग छ ।

Advertisement

यस्तै बैंकको सावाँ र ब्याज दुई वर्षबाट बढाएर लामो अवधिसम्म किस्ताबन्दीमा तिर्ने व्यवस्था मिलाउन र होटल क्षेत्रका लागि आउँदाे दुई वर्षको विद्युत् महसुलमा ५० प्रतिशत छुट दिन हानले माग गरेको छ ।

आन्तरिक पर्यटनलाई बढावा दिन सरकारी तथा सङ्गठित क्षेत्रमा कार्यरत कर्मचारीलाई अनिवार्य पर्यटन बिदा दिइ नगद आर्थिक प्रोत्साहनसहित घुम्न पठाउन पनि हानले माग गरेको छ ।

Advertisement

प्रतिक्रिया