एमालेमा कुन नेताको लाइन कता (विवरणसहित)

विदुर खबर २०७८ जेठ १३ गते १४:३८
नुवाकोट ।  नेकपा एमालेको पछिल्लो संघर्ष सैद्धान्तिक वा वैचारिक नभई सत्तामुखी हो ।

ओली प्रधानमन्त्रीबाट हट्न नचाहेन माधव नेपाल र झलनाथ खनाल कुनै हालतमा हटाइछाड्ने । बरु जुनसुकै कदम चाल्न तयार तर पद छाड्न तयार नभएको संकेत ओलीले वर्ष दिन अघि नै गरिसकेका थिए । उनले सार्वजनिक रुपमा पद छाड्नुपरे कठोर कदम चाल्ने चेतावनी दिएका थिए । यतिसम्मकी आफूले छाडे देश बर्बाद हुने सम्म भने ।

Advertisement

अहिले एमालेमा नेताहरुको आफ्नै उद्देश्य र लाइन देखिएको छ । विभिन्न गुट र उपगुट हुँदै छिन्नभिन्न अवस्थामा पुगेको एमालेभित्र एकाथरी नेताहरु पार्टी एकता जोगाउन कम्मर कसेर लागेका छन् । तर, उनीहरु झन् झन् कमजोर हुँदै गएका छन् ।

केपी ओली
एमाले अध्यक्ष केपी ओली कुनै हालतमा प्रधानमन्त्री पद नछाड्ने पक्षमा स्पष्ट छन् । उनले त्यसका लागि एकपछि अर्को राजनीतिक अस्त्र फालेका छन् । भनेको र आँटेको गर्नैपर्ने स्वभाव ओलीमा देखिन्छ । उनले मध्यावधि निर्वाचन गरेरै छाड्ने अठोट लिएको जसरी कदम चालेका छन् । पार्टीभित्र विरोधीलाई निषेध मात्र गरेका छैनन् सिध्याएरै छाड्ने रणनीति बमोजिम अगाडि बढेका छन् । उनी फेरि एमाले अध्यक्ष बन्ने र मध्यावधि चुनावमा सफलता हासिल गरी अर्को पाँच वर्ष ढुक्कले प्रधानमन्त्री बन्ने उद्देश्यका साथ बढेका छन् ।

Advertisement

ओलीले जुनसुकै बेला अपत्यारिला निर्णयहरु लिने संकेतहरु गर्दै आएका छन् । उनले भविष्यमा चुनावी अस्त्र गतिलै फाल्ने संकेत समेत गरेका छन् । धर्मको मुद्दालाई कुनै न कुनै तरिकाले ओलीले सम्बोधन गर्ने रणनीति बनाएको देखिदैछ ।

माधवकुमार नेपाल
लामो समय एमालेको महासचिव रहेका माधव नेपालसँग प्रधानमन्त्री बनेको अनुभव पनि छ । उनले एमाले पार्टी संगठन र नेताहरुलाई राम्ररी बुझेका छन् । तर, ओलीसँगको संघर्षमा उनी पटक पटक पराजित हुँदै आएका छन् ।

Advertisement

मध्यमार्गी नेताको परिचय बोकेका नेपालको पक्षमा एमालेका पाका तथा परिपक्व नेताहरुको साथ छ । प्रष्ट शब्दमा भन्नुपर्दा खाट्टी एमाले माधव नेपालको पक्षमा छन् । ओलीले कम्युनिस्ट पार्टी नै सिध्याउन लागेको नेपालको बुझाई छ । त्यसैले उनी कि त ओलीलाई एमालेभित्र कमजोर पार्ने नभए अर्को कम्युनिस्ट पार्टी बनाएर प्रचण्डसँग एकता गरेर जाने पक्षमा देखिएका छन् ।

झलनाथ खनाल
सिद्धान्त र वैचारिक राजनीति गर्दै आएका झलनाथ खनाल विधि विधानमा चल्नुपर्ने अडान राख्छन् । एमाले हाँकिसकेका पूर्वप्रधानमन्त्री खनाल उत्तेजित राजनीतिमा विश्वास राख्दैनन् । उनी गुटको राजनीतिमा समेत विश्वास गर्दैनन् ।

खनाल एमाले जोगाउनुपर्ने पक्षमा छन् । विकल्प नै बाँकी रहेन भने वृहत कम्युनिस्ट एकता गरेर नयाँ धार बनाउनुपर्नेमा देखिएका छन् । उमेरले ७० नाघिसकेका खनालको ध्यान भविष्यमा प्रधानमन्त्री भन्दा पनि राष्ट्रपतिमा छ । त्यसैले उनले पार्टी नेतृत्वको दाबी देखाएका छैनन् ।

बामदेव गौतम
हक्की स्वभावका बामदेव गौतम एमाले एकताको पक्षमा छन् । उनी कुनै पक्षमा लागेका छैनन् र तटस्थ भूमिका बनाएर आफ्नो गुटलाई जोगाइराखेका छन् ।

एमालेभित्रको शक्तिसंघर्षमा उनले फाइदा लिन खोजेको देखिदैछ । नेकपा एकतामा पनि उनी अभियान नै चलाएर लागेका थिए तर सफल भएनन् । गौतमको लक्ष्य कम्युनिस्ट एकता गराएर नेतृत्व लिनेसम्मको छ ।

कम्युनिस्ट पार्टीका शिर्ष नेताहरु प्रधानमन्त्री भइसकेको र आफू हुन नपाएको पीडा गौतममा देखिन्छ । उनी एमालेको विभाजन रोकेर नेतृत्वमा पुगेर प्रधानमन्त्री हुन चाहन्छन् ।

भीम रावल
एमालेमा दोस्रो पुस्तामा बलिया नेतामा रावल देखिएका छन् । उनको सुदूरपश्चिम प्रदेशमा बलियो प्रभाव देखिइसकेको छ । पार्टीबाट निष्काशित भएका रावलको प्रभावका कारण केन्द्रले सरकारबाट फिर्ता हुने निर्देशन दिंदा पनि सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले अस्वीकार गरेको छ ।

पूर्वप्रधानमन्त्री भइसकेका रावल ओलीका कटु आलोचक हुन् । अडान लिएपछि नछाड्ने स्वभाव उनमा देखिएको छ । बलियो गुट बनाइसकेका रावल भविष्यमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पुग्ने लक्ष्यका साथ बढेको देखिन्छन् । उनी अहिलेको एमालेभित्रको संघर्षमा बलियोसँग अडान लिएर नेतृत्वको ढोका खोल्ने रणनीतिका साथ बढेको देखिदैछ ।

इश्वर पोखरेल
एमाले महासचिव इश्वर पोखरेल ओलीलाई दरिलोसँग साथ दिइरहेका छन् । पार्टीमा आफ्नै गुट समेत बनाएका उनको संगठनमा पकड छ ।

ओलीलाई साथ दिएर उनकै गुटलाई पक्षमा पार्ने रणनीतिमा लागेको देखिदैछन् । भविष्यमा एमालेको नेतृत्व प्राप्त गर्ने उनको योजना देखिन्छ । ओली पछि उनको गुटमा पोखरेल नै बलियो छन् । अहिलेको एमालेभित्रको शक्तिसंघर्षमा पोखरेलले पनि फाइदा लिइरहेको विश्लेषण भइरहेको छ ।

विष्णु पौडेल
एमाले एकतामा विष्णु पौडेल अझै सक्रिय छन् । उनी सबैको प्रीय बनेर पार्टी नेतृत्वमा पुग्न चाहन्छन् । पौडेलको पनि पार्टीमा पकड बलियो छ । तर, नेतृत्वका लागि उनले भीम रावल र इश्वर पोखरेलको जसरी कडा रुपमा प्रस्तुत हुने शैली अपनाएका छैनन् ।

सुरेन्द्र पाण्डे
एमालेमा सुरेन्द्र पाण्डे सेलिब्रिटी जस्तै छन् । उनी सबैका प्रीय हुन चाहन्छन् । तर, बलियो गुट बनाएका छैनन् । कार्यकर्ताको मन जित्ने शैली भने छ । पाण्डे पनि भावी नेतृत्वका दाबेदार हुन् । त्यही योजना अनुसार उनी पार्टी एकताको पक्षमा उभिएर बढिरहेका छन् ।

सुवासचन्द्र नेम्वाङ
पूर्वसभामुख नेम्वाङमा सहमति गराउने खुबी छ । उनी सबै पक्षसँग संवाद गर्न धक मान्दैनन् । एमाले एकता कायम राख्न उनले निकै महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । यसबाट उनले कार्यकर्ताको मन जितेका छन् । तर, नेम्वाङसँग पनि बलियो गुट छैन । उनी ओलीका विश्वासपात्र बनेर काम गर्दै आएका छन् । भविष्यमा ओली गुटबाटै नेतृत्वमा पुग्ने रणनीतिमा छन् । नेम्वाङको लक्ष्य पनि प्रधानमन्त्री बन्ने देखिन्छ । उनलाई मौका आउला जस्तो पनि भएको थियो तर रोकियो ।

गोकर्ण बिष्ट
एमालेभित्र तेस्रो पुस्ताका गोकर्ण बिष्ट भविष्य बोकेका नेता हुन् । उनी एमाले एकता जोगाउन लागेका छन् । माधव नेपाल समूहमा रहेपनि ओलीसँग पनि सम्पर्कमा रहेका छन् । संगठनमा पकड रहेका उनको पनि गुट बलियो छैन । तर, एमालेमा सेलिब्रिटी नेताको परिचय छ । शालिन नेताको परिचय बनाएका बिष्ट भविष्यमा एमाले हाँक्ने लक्ष्यका साथ भूमिका निभाउँदै बढिरहेका छन् ।

योगेश भट्टराई
एमालेमा योगेशको युवामाझ लोकप्रीय छन् । उनको आफ्नै गुट पनि छ । भविष्यमा एमाले नेतृत्वमा पुग्ने सम्भावित नेतामध्येका उनले पछिल्लो समय कुनै पक्षमा स्पष्ट अडान लिएर बस्न चाहेनन् । उनी मध्यमार्गी बनेर पार्टी एकताको पक्षमा उभिए । माधव नेपाल पक्षका उनी ओली पक्षमा गएका थिए । फेरि नेपाल पक्षको बैठकमा पनि सहभागी भइरहेका छन् ।


प्रतिक्रिया