रसुवाको लाङटाङमा चिज उत्पादनमा कमि

विदुर खबर २०७५ साउन १७ गते १३:०७

रसुवा,  रसुवाको गोसाईकुण्ड गाउँपालिका–४ लाङटाङमा रहेको चिज उत्पादन केन्द्रमा चिज उत्पादन घटेको छ । भूकम्प जानूपूर्व वार्षिक ५ हजार केजी चिज उत्पादन गर्दै आएको केन्द्रले त्यसपछिका दिनमा दुई हजार सात सय केजी चिज उत्पादन गरिरहेको छ ।

Advertisement

भूकम्पपछि चौरीपालक कृषक घटेको, उपकरणको अभाव, जनशक्तिको अभाव, अगाडि पेश्की दिने कार्य रोकिनु र दुधको मूल्य नबढेको कारण कृषकले केन्द्रलाई दुध उपलब्ध गराउन छाडेका छन् । जसको कारण वर्षेनी चिज उत्पादन घट्दै जान थालेको छ ।

भूकम्प जानुभन्दा पहिले लाङटाङमा ४३ जना व्यावसायिक चौरीपालक कृषक थिए । भूकम्पको कारण बगरमा परिणत भएको लाङटाङमा पालिएका ६ सयभन्दा बढी चौरी मरे । कृषकले सहुलियत पाएनन् । त्यसपपछि कृषकले चौरी पाल्नैै छाडे ।

Advertisement

दुग्ध विकास संस्थानको स्वामित्वमा रहेको केन्द्रमा दुधको मूल्य नबढ्दा कृषकले दुध उपलब्ध गराउन छाडेका हुन् । पर्यटक आउने समयमा चिया बेचेर कृषकले आम्दानी गर्ने गरेका छन् । ‘केन्द्रले एक लिटर दुधको फ्याट हेरेर अधिकतम ७६ रुपयाँसम्म दिन्छ, केन्द्र प्रमुख ग्याल्बो लामाले भने, यहाँ एक कप चियाको मूल्य एक सयभन्दा बढी पर्छ ।

केन्द्रमा उत्पादन भएको मखन तथा चिज स्थानीयस्तरमा नै खपत हुने गरेको छ । उत्पादित चिज बिक्रिका लागि समस्या नभएको लाङटाङ चिज उत्पादन केन्द्रका प्रमुख लामाले बताए । लाङटाङ राष्ट्रिय निकुञ्जमा आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका छन् ।

Advertisement

लाङटाङ गएका विदेशी पर्यटकले चिज लैजाने गरेका केन्द्रले जनाएको छ । सडक सञ्जालले नजोडिएको लाङटाङ क्षेत्रमा दुध संकलनका लागि तीन घण्टा हिँड्नु पर्ने वाध्यता रहेको छ । ‘हामी तीन घण्टा हिँडेर दैनिक दुध संकलन गर्छौँ, केन्द्र प्रमुख लामाले भने, केन्द्रमा दैनिक चार सय लिटर दुध संकलन हुन्छ ।’ दुध तीन ठाउँमा संकलन गर्ने गरिएको छ ।

केन्द्रबाट सबैभन्दा टाढा रहेका झ्याबु खर्कबाट दुध बोकेर ल्याउने ल्याउने गरिएको केन्द्रले जनाएको छ । त्यहाँबाट दुध संकलन गरेर ल्याउँदा बीचमा खोला रहेको छ । खोलामा निर्माण गरिएको तुइनबाट दुध वारी ल्याउने गरिएको छ ।
केन्द्रले यो वर्ष दुई हजार सात सय केजी चिज उत्पादन गर्ने लक्ष्य लिएको छ । हालसम्म एक हजार तीन सय केजी चिज उत्पादन भइसकेको उनले बताए । पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिनमा रहेको चिज उत्पादन केन्द्र २००९ सालमा स्थापना भएको थियो ।

चिजको बजार मूल्य प्रतिकेजी एक हजार सात सय र मखनको एक हजार रहेको छ । एक सय लिटर दुधबाट ११ किलो चिज र चार किलो मखन उत्पादन हुन्छ । यो नेपालको पहिलो चिज उत्पादन केन्द्र हो । केन्द्रमा अहिले दुई जना स्थायी र तीन जना अस्थायी कर्मचारी रहेका छन् ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित धुन्चे, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङमा चीज उत्पादन हुँदै आएको छ । वार्षिक ३६ हजार केजी चिज उत्पादन गर्ने क्षमता रहेको भएपनि पर्याप्त मात्रमा दुध संकलन हुन नसक्दा ३४ हजारको हाराहारीमा चीज उत्पादन हुने गरेको केन्द्रहरुले जनाएका छन् ।

गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ । जिल्लामा बैसाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ ।

 

प्रतिक्रिया