प्रतिबन्ध छल्न भारतमा एकजोडीद्धारा आकाशमै बिहे

विदुर खबर २०७८ जेठ ११ गते १६:०६

नुवाकोट । भारतमा एक जोडीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको प्रतिबन्धबाट बच्न आकाशमै विवाह गरेका छन् ।

Advertisement

तामिलनाडु राज्यका एक जोडीले विमान चार्टर्ड गरी आकाशमा नै विवाह गरेका हुन् । समाचारमा उल्लेख गरिएअनुसार तामिलनाडुमा कोरोना संक्रमण नियन्त्रणको लागि विवाहमा ५० जनाभन्दा धेरै मानिस सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । तर, उक्त जोडीले आकाशमा गरेको विवाहमा भने १६० भन्दा धेरै मानिसहरु सहभागी थिए ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा विवाह गर्ने जोडी र अन्य पाहुनाले विमान भरिएको थियो । भारतको हवाई नियामकले यो घटनाको विषयमा अनुसन्धान सुरु गरेको बताएको छ । भारतको हवाई उड्डयन निर्देशनालय (डीजीसीए)का एक अधिकारीले यो घटनापछि विमानमा एक कर्मचारीलाई कामबाट निलम्बन गरिएको बताएका छन् ।

Advertisement

स्पाईजेटका प्रवक्ताले भने बोइङ ७३७ विमान मादुराईबाट बैंग्लोरसम्मका लागि विवाहपछिको यात्राका लागि चार्टड गरिएको बताएका छन् । यद्यपि उनीहरुलाई स्पष्टरुपमा कोरोना नियन्त्रणको नियम पालना गर्न मापदण्डहरु बताइएको उनको भनाइ छ । साथै विमानमा कुनै पनि गतिविधिको लागि स्वीकृति नदिएको प्रवक्ताले बताए ।

अहिले भारतमा कोरोनाको दोस्रो लहर फैलिरहेको छ । भारतमा कोरोनाबाट तीन लाख ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । यद्यपि विशेषज्ञहरु कोरोनाबाट मर्नेको वास्तविक तथ्यांक आधिकारिक तथ्यांकभन्दा धेरै भएको बताउँछन् ।

Advertisement

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया