एमालेमा कारवाही प्रकरण ,सबैसँगै रहने सम्भावना रहेन
नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूह इतरका एघार नेतालाई साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेका छन् ।
सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकबाट वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, पुराना नेता मुकुन्द न्यौपाने सहित एघार जनालाई निष्काशन गरिएका हुन् । निष्काशन गरिएका खनाल, नेपाल र न्यौपाने एमाले धार निर्माणकै संस्थापक नेता हुन् । ओली भन्दा अघि खनाल र नेपालले एमालेको नेतृत्व गरेका थिए ।
तर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेगरी हस्ताक्षर गरेको भन्दै ओलीले निष्काशनको निर्णय गरेका छन् । थप १२ जनालाई स्पष्टीकरण सोधिएको छ । ७ जेठमा संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका गोकर्ण बिष्ट, गणेश पहाडी र पवित्रा निरौला भने कारबाहीबाट बचे । देउवालाई प्रधानमन्त्री बनाउने निर्णयबाट पछि हटेकाले उनीहरूलाई कारबाही गरिएको छैन ।
नेपाल समूहका बाँकी नेताहरू भने संसद् पुनस्र्थापना र देउवालाई प्रधानमन्त्री बनाउने निर्णयमा अडिग रहेकाले कारबाही गरिएको ओली निकट नेताहरुले बताएका छन् । ‘पार्टी निर्णय विपरीत जानुभएकाले उहाँहरुलाई कारबाही गर्ने निर्णय भएको हो’, ओली निकट स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्मा भन्छन् ।
तर नेपाल समूहका नेताहरूले भने यो कारबाहीकै औचित्यमाथि प्रश्न उठाएका छन् । ‘यो २८ फागुनको निर्णयकै निरन्तरता हो । कम्युनिष्ट आन्दोलन सिध्याउने खेल रोक्न नचाहेको सन्देश पनि हो’, माधव नेपाल निकट स्थायी कमिटी सदस्य बेदुराम भुसाल भन्छन् । एउटा गुटको भेलाबाट गरिएको निर्णय वैधानिक नभएकाले कारबाहीको औचित्य पनि नहुने भुसाल बताउँछन् । तर पार्टी एकताको संभावना भने कमजोर भएर गएकोमा दुवै समूहका नेताहरू सहमत छन् । ‘यो तहमा पुगिसकेपछि अब पार्टी एकताको संभावना न्यून भएकै रुपमा बुझ्नुपर्ला’, नेता विश्वकर्मा भन्छन् ।
कारबाही, फिर्ता र फेरि कारबाही
प्राविधिक र कानूनी रूपमा एउटै पार्टीमा भएपनि गएको ५ पुसबाटै ओली र नेपाल समूहबीच विभाजन भइसकेको छ । प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयपछि साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा यी दुई समूह अलग भएको थियो । त्यसबेला पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपालले एउटा समूह अनि ओलीले अर्काे समूहको नेतृत्व गर्थे । तर निर्वाचन आयोगले नेकपा विभाजनको वैधता दिएन ।
बरू २३ फागुनमा सर्वोच्च अदालतले नेकपा एकता प्रक्रिया नै विघटन गरेर एमाले र माओवादी केन्द्र ब्युँताइदियो । त्यसपछि प्रचण्ड माओवादी केन्द्रका नेता बने भने ओली–नेपाल फेरि एमाले भए । तर कानूनी र प्राविधिक रूपमा मात्रै ओली र नेपाल एमाले भए । व्यावहारिक रूपमा एक भएनन् । दुई समूहबीच तिक्तता कायमै रहँदा ओलीले नेपाल समूहका नेताहरूलाई चरणबद्ध स्पष्टीकरण सोध्ने र कारबाही गर्दै आए ।
नेपाल समूहका नेताहरूलाई कारबाही गर्न ओलीले २८ फागुनबाटै शुरु थिए । अदालतले एमाले पुनर्स्थापना गरेको भएपनि ओलीले आफू निकट नेताहरुको बैठक राखेर नेपाल समूहका नेताहरूलाई भूमिकाविहीन बनाउने निर्णय गरे । लगत्तै, नेपाल समूहले पनि ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेर समानान्तर संगठन र नेतृत्वको जिम्मेवारी निर्धारण गरे ।
समानान्तर संगठन गरेको आरोपमा ओलीले नेपाल सहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेलाई गएको १६ चैतमै निलम्बन गरेका थिए । त्यसयता पार्टी संगठनमा मात्रै नभएर संसदीय मोर्चामा पनि दुवै समूहको समानान्तर निर्णय रोकिएन । कर्णाली प्रदेशमा फ्लोर क्रस गरे, ओलीलाई विश्वासको मत नदिइनु र राष्ट्रियसभा उपनिर्वाचनमा अलग–अलग उम्मेद्वार तय गरिनु एमाले एक नभएकै प्रमाण हुन् ।
तर दोस्रो तहका नेताहरू एमाले पुनर्मिलनको प्रयासमा निरन्तर सक्रिय थिए । त्यसैको परिणाम नेपाल सहित चार नेतालाई गरिएको कार्बाहीको निर्णय फिर्ता गरियो भने दुई नेताबीच ‘वान अन वान’ भेटवार्ता समेत भयो । ओली र नेपाल कार्यदल बनाएर एमाले पुनर्मिलन गर्न सहमत भए । २ जेठमा गठित कार्यदलले काम शुरू गरिसकेको थियो । तर ७ जेठमा एकाएक परिस्थिति बदलियो । पुनः दुई समूहको दूरी पुरानै ठाउँमा पुगेको छ । ‘अलग त छदै थियौं । तर नजिक हुने प्रक्रिया पनि बिग्रियो’, नेपाल निकट एक नेता भन्छन् ।
ओलीको यूर्टन
३० वैशाखमा धारा ७६ (३) अनुसार प्रधानमन्त्री निर्वाचित ओलीले विश्वासको मत नलिएर ७६ (५) मा जाने निर्णय लिएपछि एमालेको एकता प्रक्रिया बिथोलिने बातावरण बन्यो । बालुवाटार निकट नेताको भनाइमा ओलीको बुझाइ र चाहना थियो– एमाले एकैठाउँ उभिन्छ । त्यसो हुँदा जनता समाजवादी पार्टी (जसपा) को एउटा समूह (महन्थ ठाकुर–राजेन्द्र महतो) ले आफूलाई मत दिएमा बहुमत पाउथे वा तटस्थ बसेमा मुलुक मध्यावधिमा जान्थ्यो । ५ पुसको कदम अदालतले उल्ट्याइ दिएपछि ओली मध्यावधि निर्वाचनको औचित्य स्थापित गर्न लगातार लागिरहेकै थिए ।
तर पार्टीभित्र सहमति नजुटिसकेको र परामर्श समेत नलिई ओली संविधानको अर्को धारा तर्फ अग्रसर भएको भन्दै नेपाल समूह वैकल्पिक सरकारको पहलकदमीमा लाग्यो । संसद् जोगाउँदै मध्यावधि रोक्न चाहने नेताहरूको जोडबलले काँग्रेसको नेतृत्वमा विपक्षी गठबन्धनको बहमुत (१४९ सांसद) जुट्यो । विपक्षी दलहरुले बहुमत जुटाइरहँदा ओली आफ्नै निवासमा सम्पादकहरुसँग संसद्मा विश्वासको मत पाउने अवस्था नरहेकाले वैकल्पिक सरकारको बाटो खुला गरिदिएको बताइरहेका थिए । तर विपक्षीको गठबन्धन जुटोस् र सरकार बनोस् भन्ने ओलीको चाहना नरहेको उनी आफैँले पुष्टि गरे ।
बहुमत सांसदको हस्ताक्षर लिएर देउवा शितलनिवास पुग्नु अगाडि नै ओलीले राष्ट्रपतिसँग प्रधानमन्त्रीको दावी गरे । जसपाका ठाकुर र महतोले ओलीलाई साथ दिए । अतः ओलीले एमालेको १२१ र जसपाको ३२ सांसदको समर्थन रहेको दावी गरे । आफू अनुकुल रहेका राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओली र देउवा दुवैको दावी अस्वीकृत गर्दै मध्यावधि निर्वाचनको बाटो खुला गरिदिइन् ।
तर यही प्रकरणले एमालेभित्र सहमति उन्मुख वातावरण बिग्रिन पुग्यो । शनिबार स्थायी नेताहरुलाई ओलीको ब्रिफिङ थियो– देउवा प्रधानमन्त्री बनाउन लागेपछि अब मिल्न सकिन्न । त्यहीदिनको निर्णयअनुसार नेपाल समूहमाथि कारबाही अगाडि बढाइएको छ ।
जबकि नेपाल समूहको अस्तित्व समेत स्वीकार्न तयार नभएका ओली २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्वमा फर्कन सहमत भएका थिए । ओलीको यो लचकताको कारण भने आफ्नो र आफू निकट नेताहरूको सत्ता संकटमा पर्नु महत्वपूर्ण थियो । कर्णालीका मुख्यमन्त्री विरुद्ध ओली निकट नेता यमलाल कँडेलको अविश्वासको प्रस्ताव असफल भएको थियो ।
गण्डकी र लुम्बिनीको सरकार जोगाउने अनेक प्रयास सफल हुन सकिरहेको छैन । अझ २७ वैशाखमा ओलीले एमालेकै २८ सांसदबाट विश्वासको मत पाएनन् । ६ जेठमा निर्धारित राष्ट्रियसभा उपनिर्वाचनमा आफ्नो उम्मेद्वार रामबहादुर थापा बादल पराजित हुने लगभग निश्चित भयो । अन्य सामाजिक संस्थाहरुमा ओली विरुद्ध जबर्जस्त गठबन्धन बन्न थालेको थियो । यी घटनाक्रमहरुबाट ओली एमाले मिलाउन सहमत भए । कतिसम्म भने एमाले पुनर्मिलनको प्रस्ताव तयार पार्ने कार्यदलमा माधव नेपाल समूहको अडानअनुसार पूर्वमाओवादी नेताहरु नराख्न ओली तयार थिए ।
यता माधव नेपाल समूहका कतिपय नेताहरुमा पनि एमालेबद्ध हुँदा नै सहज हुने बुझाइ थियो । किनभने लगातार ओलीलाई कमजोर पार्न सफल भइरहे पनि आफ्नै अस्तित्व स्थापित गर्न सजिलो थिएन । माधव नेपाल समूहको निर्णय ओलीले लगातार प्रचण्डसँग जोडेर प्रचार गरिरहेका थिए भने नेपाल निकट नेताहरू क्रमशः आफूतिर तानिरहेका थिए । मुख्यगरी एमालेबाट अलग हुने भन्दा पनि पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्नुपर्ने मतले यो समूहभित्र एकमत निर्णय हुन सकिरहेको थिएन ।
अर्थात्, दुवै समूहमा परेको संकट मोचनको विकल्पका रूपमा पार्टी पुनर्मिलनलाई लिइएको थियो । तर दुवै नेता (ओली–नेपाल) आ–आफ्नो इगो र अडानबाट ओर्लन नचाहेपछि एमाले विभाजनतर्फ उन्मुख देखिएको छ । ओलीले संसद् विघटन गर्दै नेता नेपालसँग बदला लिनतिर अगाडि बढेका छन् । साविकको नेकपा विभाजन हुँदा प्रचण्ड–नेपाल समूहले ओलीलाई एक हप्ते स्पष्टीकरण सोध्दै साधरण सदस्यबाट निष्काशन गरेको थियो । ११ माघको त्यो निर्णय ओलीले बारम्बार सम्झने र सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । उता नेपाल समूह पनि प्रधानमन्त्री ओली संविधान, संसद् र कम्युनिष्ट आन्दोलन सिध्याउने अभियानबाट पछि नहटेको भन्दै सत्ताच्यूत गर्नेतिरै उन्मुख छ । नेता नेपाल सहित २३ सांसदले संसद् पुनर्स्थापनाको माग सहित सोमबार अदालतमो रिट दायर गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया