ओलीले प्रधानमन्त्रीको कुर्सी छोड्ने साइत !
नुवाकोट । प्रधानमन्त्री केपी ओलीले कार्यपालिका प्रमुखको कुर्सी छोड्ने उचित समय कुन हो ? प्रतिनिधिसभाका बहुसंख्यक सांसदले आगामी सरकारका लागि मार्गप्रशस्त गर्ने प्रस्ट आधार तयार पारेर न्यायपालिकामा उभिएको क्षण राजीनामा दिने उचित साइत होइन ?
प्रधानमन्त्री ओली २०७४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनले चयन गरेका र दुई तिहाइ निकटको बहुमतका कार्यकारी प्रमुख हुनुहुन्थ्यो । विगत तीन वर्षमा उहाँले मुलुकको विकासका लागि धेरै राम्रा काम पनि गर्नुभयो । उहाँलाई पाँच वर्ष लामो कार्यकाल पूरा गर्न र उहाँकै सरकारले निर्वाचन गराएर २०७९ सालमा बन्ने नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्नु लोकतान्त्रिक अभ्यासको सुन्दर विकल्प हुने थियो । तर, पछिल्लो समय उहाँ प्रस्ट अल्पमतमा पर्नुभयो ।
प्रतिनिधिसभामा विश्वासको मत माग्दा उहाँले पाउनुभएन । त्यसै क्षण राजीनामा दिने दोस्रो साइत थियो, त्यसलाई उहाँले उम्काउनुभयो । तर, यो तेस्रो साइत उहाँका अगाडि छ– कुनै पनि बहानाबाजी नगरी राजीनामा दिनु उहाँको राजनीतिक स्वास्थ्यका लागि लाभप्रद देखिन्छ ।
विपक्षी गठबन्धनका १ सय ४६ सांसदले संसद् पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेकै क्षणबाट प्रधानमन्त्री ओलीका लागि राजीनामाको तेस्रो साइत जुरेको हो । दुई दिनअघि शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘मैले सकिनँ, हात उठाएँ, म दिकदार भएँ, प्रतिनिधिसभाबाट नयाँ सरकार बनाउन मैले मार्गप्रशस्त गरिदिएको छु’ भनेर बोल्ने ओली त्यसै दिन साँझ ‘मसँग १ सय ५२ को बहुमत छ, म सरकार चलाउन चाहन्छु’ भन्दै शीतलनिवास जानुभयो ।
आफ्नो कुरा आफैंले काट्न १४ वर्ष लोकतन्त्रका लागि जेल जीवन काटेका नेतालाई सुहाउने विषय थिएन ।त्यसो त, राजीनामा दिने उपयुक्त पहिलो साइत पनि उहाँले गुमाउनु उचित थिएन । गतवर्षको फागुन ११ गते सर्वाेच्च अदालतले ‘तपाईंले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना भयो, तपाईंले गलत निर्णय गरेको प्रमाणित भयो’ भनेकै क्षण नैतिकताको आधारमा राजीनामा दिने साइत जुरेको थियो ।
संविधानको धारा ७६ (३) को प्रावधानअनुसार शपथ लिएका प्रधानमन्त्री ओलीले ‘नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ’ भन्ने उपधारा ४ लाई अस्वीकार गर्नुभएको छ । ‘विश्वासको मत प्राप्त हुने अवस्था नै छैन, त्यसैले मैले हात उठाएँ’ भन्ने व्यक्ति केही घण्टाभित्रै पुनः सरकार बनाउन जाने ? उपधारा ४ अनुसार विश्वासको मत प्राप्त गर्न नसक्ने प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गर्न सक्छ भनेर संविधानमा कहाँ लेखेको छ ? उपधारा ५ ले भन्छ– ‘उपधारा ३ बमोजम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा विश्वासको मत लिन सक्छु भनेर दाबी गर्ने सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।’
प्रस्ट छ, देउवाले सप्रमाण शुक्रबार राष्ट्रपतिसमक्ष र सोमबार सर्वोच्च अदालतसमक्ष यस्तो दाबी गर्नुभएको छ । संविधानअनुसार देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिन नसके मात्र उहाँको सिफारिसमा राष्ट्रपति भण्डारीले ६ महिनाभित्र निर्वाचनमार्फत नयाँ प्रतिनिधिसभा गठनका लागि निर्वाचन गराउने घोषणा गर्नुपर्नेछ । मौजुदा अवस्थामा राष्ट्रपति भण्डारीले मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रावधान संविधानमा छैन ।
सिद्धान्तनिष्ट कुनै पनि राजनीतिज्ञका लागि जसरी पनि कुर्सीमा टाँसिइरहने खेल सुहाउने विषय होइन । प्रधानमन्त्री ओलीलाई ‘सर्वोच्च अदालतले के फैसला गर्छ, त्यहीअनुसार चल्नु मेरो कर्तव्य हो’ भन्ने तर्क दिएर पदमा बसिरहन अब सुहाउँदैन । सर्वोच्चले दुई महिनाअघि नै प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने अधिकार प्रधानमन्त्रीमा नभएको निर्णय दिइसकेकै हो । अब त दुई अरू बलिया आधार थपिएका छन् राजीनामा दिनका लागि । एक, प्रतिनिधिसभाले विश्वासको मत दिएन, दुई, प्रतिनिधिसभाकै बहुमत सदस्य अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन लिखितरूपमा तयार भएका छन् ।
एमाले संसदीय दलका नेता ओली र नेका संसदीय दलका नेता देउवाले संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीका लागि शुक्रबार ५ बजेको समयसीमाभित्रै पेस गरेको दाबीलाई अस्वीकार गर्ने र मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा सुनाउने राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो निर्णयमा अडिन सक्नुभएन । राष्ट्रपति भण्डारीले बिहीबार सरकार गठनका लागि गरेको आह्वान प्रतिनिधिसभामा परीक्षण हुनै पाएन । प्रतिनिधिसभा विघटन गर्न शनिबारको बिहानसम्म पनि उहाँले कुर्नुभएन ।कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्ने राष्ट्रपति भण्डारीको संसद् विघटनको कार्यलाई प्रतिनिधिसभाका बहुसंख्यक अर्थात् १ सय ३६ भन्दा बढी सदस्यले असंवैधानिक भनेका छन् । राष्ट्रपति र प्रधानमन्त्री बनाउने निकाय प्रतिनिधिसभाले उहाँहरूकै मिलिभगतमा बारम्बार विघटन हुनुपरेको छ ।
प्रस्ट बहुमतसहित दाबी गरेका देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगर्नु असंवैधानिक हुनेछ । संसद्मा बहुमत देखाउन सक्दिनँ भनेर वैकल्पिक सरकार गठनका लागि अनुरोध गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीमा दाबी गर्न जाने हक नभएको रिट निवेदकको दाबी छ ।रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरिएको छ । साथै १ सय ४६ सांसदको हस्ताक्षरसहित देउवाले गरेको दाबी वैधानिक भएकाले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिनुपर्ने रिट निवेदकहरूको माग छ ।
यस मागलाई प्राथमिकताका साथ हेरिने पनि छ । तर, सर्वोच्चलाई अनावश्यक बहसमा समय लगाउनु नपर्ने बनाउन प्रधानमन्त्री ओलीले भूमिका खेल्न सक्नुहुनेछ । उहाँको राजीनामा नै सबैको हितको निर्णय हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया