नयाँ रेकर्ड बनाएको साता करिब ४ प्रतिशत बढ्यो नेप्से

नुवाकोट । यस साता नेप्सेले नयाँ रेकर्डहरु बनाएको छ।
यस साता नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाउनुका साथै कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको थियो। यस साता नेप्से परिसूचक २७९३.९० विन्दुसम्म पुगेको थियो। यो हालसम्मकै उच्च बन्द विन्दु हो। साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार नेप्सेले सो नयाँ रेकर्ड बनाएको हो। त्यसैगरी, यस साता एकै दिन करिब १२ अर्बको शेयर कारोबार भइ नेप्सेले कारोबार रकममा पनि नयाँ रेकर्ड बनाएको हो।
यस साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६८४.०१ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.८४ प्रतिशत अर्थात १०३.१७ अंक बढेर २७८७.१८ विन्दुमा बन्द भएको छ।
त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ४.०६ प्रतिशत बढेर ४९८.९७ विन्दुमा पुगेको छ भने फ्लोट इण्डेक्स ४.०५ प्रतिशत बढेर १९१.४७ विन्दुमा पुगेको छ।
यस साता नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य बढेको छ। यस साता ५ लाख ६९ हजार ७१६ पटकको कारोबारमा ५२ अर्ब ६० करोड रुपैयाँ बराबरको १० करोड ८७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। यस साताको कारोबार रकम गत साताको तुलनामा ८३.८१ प्रतिशत बढी हो।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ४ प्रतिशत बढेको छ। गत साता ३७ खर्ब २४ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ४३ अर्ब रुपैयाँ बढेर ३८ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।
प्रतिक्रिया