त्रिशुली अस्पतालमा १२ दिन भेन्टिलेटरमा राख्नु परेका गम्भीर कोभिड संक्रमितको रिकभरी कथा
 
		
	त्रिशुलीस्थित नुवाकोट अस्पतालमा विजयी माहौल बन्यो ।
१४ दिनअघि कोभिड–१९ संक्रमणबाट गम्भीर भएपछि अस्पताल भर्ना भएका कार्कीबहादुर तामाङ आफ्नै हातले अस्पतालका चिकित्सक, नर्ससहितको टिमलाई खादा लगाइदिदैं थिए । उनको अनुहारमा नयाँ जीवन पाउँदाको अथाह खुसी झल्किन्थ्यो । ‘धन्यवाद । हाम्रो भगवान ! भगवानको भूमिका निर्वाह गरिदिनुभयो,’ कार्कीबहादुरले खादा लगाइदिएपछि उनका आफन्तले भने । ‘डा. नवराज राई र डा. सुवास कटुवाल छुट्नुभएको छ,’ त्रिशुली अस्पतालका मेसु डा. दिपेन्द्र पाण्डे बोल्न थाले, ‘उहाँहरुलाई हामीले बिर्सनु हुँदैन।
डा. सुनिल र डा. कृष्ण पनि हुनुहुन्छ । तपाईंको उपचारको सबै कमाण्ड सम्हालेको डा. रिमा खड्काले हो, उहाँ सेनापति हो ।’ डा. पाण्डेले अस्पतालको तर्फबाट बिरामीलाई शुभकामना दिए । बिरामीका आफन्त फेरि ‘हाम्रा भगवान’ भन्न थालेपछि माहौल एकाएक भावुक बन्यो । डाक्टरी जीवनमा धेरै मृत्यु नजिकबाट देखिन्छन् । धेरै जीवनहरु मृत्यु नजिकबाट अनेकन खुसीका पालुवा फैलाउँदैं फर्किन्छन् । मृत्युलाई छक्याउँदैं जीवन पाउनेहरुले हामी डाक्टरको जीवनमा पनि खुसी र उर्जा लहराइदिन्छन् । यस्तै, बिरामीमध्ये एक हुन–कार्कीबहादुर ।
क्रिटिकल केयर एवं एनेस्थेसिया चिकित्सक हुनुका नाताले मलाई लागिरहेको छ कार्कीबहादुरले मृत्युलाई छक्याउँदैं नयाँ जीवन पाएका हुन् । उनको नयाँ जीवनमा थोरबहुत हामी त्रिशुली अस्पतालका चिकित्सक, नर्सलगायतका टिमको हात छ । म अहिले पनि सजीव रुपमा सम्झिछु । १५ बैशाख बेलुका ७ बजेतिरको समय । त्रिशुली अस्पताल नुवाकोटमा इमर्जेन्सीमा एकजना बिरामी आएका थिए । मोफसलको अस्पतालमा एकजना मात्रै एनेस्थेसिया कन्सल्ट्यान्ट भएकाले आईसीयु खुलेदेखि हरेक दिन २४ घण्टा नै म अफिसको ‘अनकल ड्युटी’मा हुन्छु ।
अबेर साँझ इमर्जेन्सीमा आउने ती बिरामीमा ३ दिनदेखि ज्वरो थियो । उनले खकारमा रगत देखियो भनिरहेका थिए । अझ सबैभन्दा जटिल उनलाई श्वास फेर्न गाह्रो भइरहेको थियो । शरीरमा अक्सिजन कमी थियो । उनको अक्सिजन स्याचुरेसन लेभल ८० भन्दा तल थियो । यो असामान्य नै हो । असामान्य स्वास्थ्य अवस्था लिएर इमर्जेन्सी आएका तिनै बिरामी थिए–३८ वर्षीय कार्कीबहादुर । इमर्जेन्सीमै उनलाई अक्सिजन दिनेलगायतका अन्य सामान्य उपचारहरु सुरु गरियो । अन्य सबै परीक्षणका लागि स्याम्पलहरु पठाइयो । रगत जाँचमा केही समस्या देखिएन् ।
तर, एक्स–रेमा दुवैतिर निमोनिया देखियो । लगतै कोभिड–१९ का लागि एन्टीजेन गरियो, रिपोर्ट नेगेटिभ आयो । पिसिआर परीक्षण लागि स्वाब पठाइयो । श्वास फेर्न गाह्रो र खकारमा रगत देखिएका कारण टिबीको जाँच पनि गराइयो । हाइडिपेन्डेन्सी युनिट (एचडियु)मा राखेर अक्सिजन र एन्टीबायोटिकद्वारा उपचार थालियो । कार्कीबहादुरलाई अक्सिजन ‘हाइफ्लो’ नै चाहिएको थियो । श्वास प्रश्वासमा निकै कठिनाइ भइरहेको थियो ।
अन्ततः पिसिआर रिपोर्ट पनि पोजेटिभ आयो । त्यसपछि कोभिड–१९ संक्रमण कन्फर्म भयो । बिरामीलाई धेरै अक्सिजन चाहिएको थियो । शरीरमा अक्सिजनको निकै कमीका कारण आईसीयुमा सिफ्ट गरेर इन्टुबेट गरी भेन्टिलेटरमा राख्ने निर्णय भयो । तर, भेन्टिलेटरमा राख्दा पनि अक्सिजनको कमी भने देखिइ नै रहेको अवस्था थियो । पाँच दिनसम्म पनि अवस्थामा सुधार भएन । त्यसपछि Bain Circuit मा राखेर PEEP positive end expiratory pressure दियाैं । भोलिपल्ट केही सुधार देखिन थाल्यो ।
लगातारको प्रयासपछि उनमा सुधार देखिदैं गयो । त्यसपछि पुनः भेन्टिलेटरको सपोर्टमा राख्यौं । विस्तारै–विस्तारै बिरामीको अक्सिजन स्याचुरेसन मेन्टन हुन थाल्यो । हामीले हाम्रो प्रयासलाई निरन्तर जारी राख्यौं । क्रमसः भेन्टिलेटरको सपोर्ट कम गर्दै गयौं । १२ औं दिनमा अन्ततः हामी भेन्टिलेटरबाट बिरामीलाई बाहिर निकाल्न सफल भयौं ।
त्यसपछि २ दिनसम्म एचडियुमा कार्कीबहादुरलाई राख्यौं । उनको अक्सिजन बेला–बेलामा चेक गरिरह्यौं । ४८ घण्टासम्म पनि अक्सिजन नचाहिएको र शरीरमा अक्सिजनको मात्रा ९२ भन्दा माथि भएपछि १४ दिनका दिन सोमबार हामीले डिस्चार्ज ग¥यौं । कोभिड–१९ का कारण गम्भीर भएका बिरामीलाई १४ दिनसम्म उपचार गरेर जीवन दिन सफल भयौं ।
अहिलेसम्म कोभिड–१९ संक्रमितका लागि कुनै पनि औषधि, उपचार र उपकरणहरुले सपोर्ट गरिरहेको छैन । निश्चितः उपचार आविष्कार नभएको अवस्थामा बिरामीलाई कृत्रिम तरिकाले नर्मल फिजियोलोजी मेन्टेन गर्नु नै एकमात्रै उपाय भएको छ । अक्सिजनको स्याचुरेसन सामान्य नहुँदासम्म र भाइरस लोड रहँदासम्म नर्मल फोजियोलोजी मेन्टेन गर्दा हामी कार्कीबहादुरलाई बचाउन सफल भएका हौं । अरु कुनै पनि कुराले काम नगरेको अहिलेको अवस्थामा हामीले बिरामीको फिजियोलोजी मेन्टेन गर्ने हो । १२ दिनसम्म झण्डै थाकिसकेका हामीहरु जब बिरामी ठीक भए, त्यसबाट झन उर्जाशील भयौं ।
यसले निकै कम स्रोत–साधन भएको अस्पतालमा काम गर्नेहरुलाई उर्जा दिएको छ । कार्कीबहादुरको उपचारमा खटिने टिम उनको मृत्युको मुखबाट नयाँ जीवनको उज्यालोसम्मका यात्रा साक्षी थिए । त्यसैले उनी डिस्चार्ज हुँदा अस्पतालका सम्पूर्ण कर्मचारीहरु हर्षविभोर थियौं । यसले हामीलाई प्रयास गरेपछि सबै कुरा सम्भव छ भन्ने पाठ त सिकाएको छ नै उर्जा पनि थपेको छ । अहिले हाम्रो अस्पतालमा जनशक्तिको अभाव छ । यति थोरै जनशक्तिमा पनि हामी बिरामीको उपचारमा दिनरात खटिरहेका छौं । जसको पोजेटिभ नतिजा कार्कीबहादुर पनि हुन् ।
कार्कीबहादुरलाई बचाउनको सम्पूर्ण श्रेय दिनरात आफ्नो ज्यानको बाजी राखेर काम गरिरहेको मेडिकल अधिकृत, नर्सहरु र अस्पतालको सम्पूर्ण टिमलाई जान्छ । भेन्टिलेटर र औषधि अभाव मात्र यतिबेला होइन्, सम्पूर्ण थाकेका कोभिड वरियर्सलाई पालो दिने जनशक्तिको आवश्यकता छ । यसका लागि हाम्रा मेडिकल सुपरिटेन्डेन्टले अग्रसरता लिइरहनु भएको छ । केही दिनमा थप जनशक्ति पाएर राहत हुन्छ भन्ने आशा छ ।
कार्कीबहादुरको यो रिकभरी कथा हरेश नखाने पाठ पनि सिकाउँछ । कोभिड-१९ विरुद्ध जैविक युद्धको फ्रन्टलाइनमा रहेका हामी स्वास्थ्यकर्मीहरुलाई यो रिकभरी कथा आशाको प्रकाश जोगाइराख्न सहयोगी हुनेछ भन्ने विश्वास लिएकी छु ।
डा. रिमा खड्का
क्रिटिकल केयर एण्ड एनेस्थेसिया, त्रिशुली अस्पताल, नुवाकोट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया