जेठ १८ गतेबाट अन्तर्राष्ट्रिय उडान खोल्न प्रस्ताव

विदुर खबर २०७८ जेठ ७ गते १५:०८

नुवाकोट । पर्यटन मन्त्रालयले जेठ १८ गतेबाट सीमित उडान थाल्ने गरि अन्तर्राष्ट्रिय उडान खोल्ने प्रस्ताव गरेको छ।

Advertisement

मन्त्रालयले उडान खोल्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा पठाइसकेको छ। कोरोनाको दोस्रो लहरसँगै सरकारले तीन साता अघि अन्तर्राष्ट्रिय उडान रोकेको थियो। अहिले उद्धार र कार्गो उडान मात्रै भइरहेको छ। मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानले सीमित उडान थाल्ने गरी उडान खोल्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा पठाएको पुष्टि गरे।

‘हामीले प्रस्ताव पठाइसकेका छौं। मन्त्रिपरिषद्ले निर्णय गरे अन्तर्राष्ट्रिय उडान खुल्ला हुन्छ,’ उनले भने। मन्त्रालयले साउदी अरेबिया, मलेसिया, दुबई, जापान, चीन, टर्की, कतार लगायत विभिन्न श्रम गन्तव्यतर्फका नियमित उडान सुरु गर्ने तयारी गरेको उनले बताए। ‘स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर नियमित उडान थाल्न खोजेका हौं। यसले वैदेशिक रोजगारीमा जानेलाई पनि सहज हुन्छ। यात्रुले पनि बढी भाडा तिर्ने अवस्था आउँदैन,’ लामिछानेले भने।

Advertisement

उनका अनुसार नेपालमा उडान गरिरहेका हवाई कम्पनीलाई साताको एकदेखि तीन वटासम्म उडान गर्न दिइनेछ। श्रम स्वीकृति लिएर बसेका नेपाली उडान बन्द भएपछि विदेश जान पाएका छैनन्। कतिपय विदामा आएका नेपालीसमेत फर्किन पाएका छैनन्। समयमा फर्किन नपाए उनीहरुको जागिर समेत गुम्ने सम्भावना हुन्छ। यही अवस्थालाई ध्यान दिएर पर्यटन मन्त्रालयले उडान खोल्ने प्रस्ताव गरेको हो। यो अवधिमा कतिपय चार्टर उडान भएपनि भाडा तेब्बरसम्म महँगो भएको भन्दै गुनासो समेत आएको थियो।

मन्त्रिपरिषद्ले विभिन्न मुलुकको राजदूतावासको पहलमा नेपाली नागरिकलाई पनि चार्टर उडानमार्फत विदेश जान पाउने व्यवस्था गरिसकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तयार पारेको विवरण अनुसार यो अवधिमा नेपालको तर्फबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले भारतीयलाई साउदी अरेबिया चार्टर गरिरहेको छ। त्यस वाहेक काठमाडौं-नयाँदिल्ली-काठमाडौं सातामा एक/एक उडान भइरहेको छ।

Advertisement

यसअघि नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्सीज (नाट्टा)ले आउँदो मे २५ तारिखदेखि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्न सरकारलाई अनुरोध गरेको थियो।

सरकारले हालै जारी गरेको अन्तर्राष्ट्रिय उडान अनुमति विवादास्पद  रहेको भन्दै नाट्टाले यो अनुरोध गरेको थियो। नियमित व्यवसायिक उडान नहुँदा चार्टरको टिकटमा अत्यधिक भाडा असुलेको आरोप ट्राभल एजेन्सीहरूलाई लागेपछि नाट्टाले उडान नियमित भए विकृति हट्ने जनाएको थियो।

प्रतिक्रिया