एफएनसीसीआईको ‘हेल्लो डाक्टर’ निकै प्रभावकारी,

विदुर खबर २०७८ जेठ ७ गते १२:४२

नुवाकोट । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कोभिड संक्रमित बिरामीको सहयोगका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्र निकै प्रभावित साबित भएको छ। महासंघको यो स्वास्थ्य अभियानबाट संक्रमित बिरामी, तिनका परिवार र आफन्तहरूसहित धेरैलाई राहत पुग्न गएको छ।

Advertisement

जेठ ६ गतेसम्मको तथ्यांकअनुसार हेल्लो डाक्टर स्वास्थ्य परामर्श कार्यक्रमबाट ५५० भन्दा बढी कोभिड संक्रमित बिरामीले डाक्टरहरूबाट स्वास्थ्य परामर्श र सहायता केन्द्रबाट करिब २५० जनाले आवश्यक स्वास्थ्य सहायता लिएका छन्। वैशाख २६ बाट सुरु भएको हेल्लो डाक्टरमार्फत भाइबरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले बिरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन्।

कोभिड सहायता केन्द्रबाट गम्भीर प्रकृतिका बिरामीदेखि भर्खर कोभिड संक्रमण भएकासम्मले सहयोगका लागि आग्रह गर्ने गरेका छन्। केन्द्रका तर्फबाट हालसम्म डेढ वर्षको बच्चा देखि ८९ वर्षसम्मका जेठ नागरिकलाई सेवा दिइएको महासंघले जनाएको छ।

Advertisement

सहायता केन्द्रले वैशाख २४ गतेबाट काम थालेको थियो। केन्द्रमा दैनिक सरदर १६/१७ जनाले सहयोगका लागि आग्रह गर्ने गरेका छन्। केन्द्रमा मुलुकका सबै भागबाट सहयोगका लागि आग्रह भई आएको छ।

मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आमसर्वसाधारणको जीवनरक्षामा सहयोग पुर्याउने उद्देश्यले हेल्लो डाक्टर र कोभिड सहायता केन्द्र स्थापना गरिएको महासंघले जनाएको छ। महासंघका अनुसार सहायता केन्द्रबाट अस्पताल तथा आइसोलेसन केन्द्र सहजीकरण, अक्सिजन सिलिन्डर, अस्पताल, एम्बुलेन्स, हवाई तथा यातायात व्यवस्थापनलगायतमा सहयोग र समन्वय भइरहेको छ।

Advertisement

कोभिड संक्रमण जटिल हुंदै गई अस्पताल जान समस्या परेकालाई नजिकको अस्पतालसम्म पुर्याउन, अस्पतालमा अक्सिजनसहितको आईसीयू, भेन्टिलेटर बेड पाउन समस्या परेका, अक्सिन सिलिन्डर भर्न समस्या परेका, अक्सिजनसहितको सिलिन्डर, आइसोलेसन केन्द्र, रेमडेसिभरलगायतका अत्यावश्यक औषधि नपाएका र डाक्टरको परामर्श खोजिरहेकाहरूलाई केन्द्रबाट सहयोगको पहल भएको छ।

एम्बुलेन्स सहयोग खोज्नेका लागि व्यवस्थापन गरिदिने, अस्पतालमा भेन्टिलेटर, आईसीयूसहितको बेड नपाउनेहरूका लागि सकभर नजिकको अस्पतालमा व्यवस्थापन गरिदिने, प्लाज्माका लागि पहल गरिदिने, अक्सिजन नपाएकालाई अक्सिजनको प्रबन्ध गरिदिने, रेमडेसिभरलगायतका अत्यावश्यक औषधि खोजेकालाई सकभर नजिकको स्थानबाट त्यस प्रकारका औषधि किन्ने प्रवन्ध मिलाइदिने, कोभिड संक्रमण भई घरमा बस्ने ठाउं नपाएका निम्नआय भएका परिवारका सदस्यलाई खानपान र औषधिको उचित व्यवस्थासहितको आइसोलेसन केन्द्र मिलाइदिने, डाक्टरहरूसँग स्वास्थ्य परामर्शको उचित व्यवस्थापन गरिदिनेलगायतको कार्यमा सहायता केन्द्र जुटिरहेको छ।

आइसोलेसन नपाएकाहरूलाई महासंघले आफैँले क्षेत्रपाटी र कमलपोखरीमा सञ्चालन गरेको आइसोलेसन केन्द्रमा राख्ने प्रबन्ध मिलाइरहेको छ भने स्वास्थ्य परामर्शका लागि महासंघ आफँैले सञ्चालनमा ल्याएको हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिइरहेको छ। महासंघले सञ्चालन गरेको आइसोलेसनका लागि महासंघका वर्तमान तथा पूर्वपदाधिकारी, कार्यकारिणी समिति सदस्य तथा उद्यमीव्यवसायीले औषधि, स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गरेका छन्।

कोभिडको दोस्रो लहरको संक्रमण अत्याधिक बढ्न जाँदा मुलुकको स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने भएपछि आमसर्वसाधारणको स्वास्थ्य सुरक्षामा केही सहयोग गर्न सकियोस भनेर महासंघले कोभिड सहायता केन्द्र स्थापना गरेको हो। महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सहायता केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरिरहेका छन्।

सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिम्मेवारी पनि बाँडफाँड गरिएको छ। जसअनुसार अक्सिजन सिलिन्डर व्यवस्थापनतर्फ महासंघका उपाध्यक्ष रामचन्द्र संघई र कार्यकारिणी समिति सदस्य शौरभ ज्योति, अस्पताल आइसोलेसन केन्द्र सहजीकरणतर्फ कार्यकारिणी समिति सदस्य हेमराज ढकाल, पूर्वकास रविन श्रेष्ठ, अस्पताल व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ई. देशबन्धु वस्नेत(अजित), बाबुकाजी कार्की, डा. केयुर गौतम र एम्बुलेन्स व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य रंजितराज आचार्यले समन्वय गरिरहनु भएको छ।

त्यसैगरी औषधि मेडिकल उपकरणतर्फ कार्यकारिणी समिति सदस्यहरू प्रवलजंग पाण्डे र भक्तबहादुर हमाल, होटल, हवाई तथा यातायात व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ज्योत्सना श्रेष्ठ, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, पर्यटन समितिका सदस्य विनोद सापकोटाले समन्वय गरिरहनु भएको छ। सचिवालयकातर्फबाट अधिकृतद्वय हरि पौड्याल र रिंकु घिमिरेले सहयोग गरिरहनु भएको छ।

मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पुर्याउंदै आएको छ। मुलुकले कहिल्यै भोग्नु नपरेको कोभिड महामारी कहिले नियन्त्रणमा आउने हो यकिन छैन। महामारिको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आ–आफ्नो ठाउंबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघले सबैमा गम्भीर आग्रह गरेको छ।

व्यवसायी सन्देश श्रेष्ठले यस अभियानले सामाजिक रूपमा पनि सकारात्मक सन्देश जानुका साथै सामाजिक उत्तरदायित्व पनि निभाउन सकेकोमा जिल्ला उद्योग वाणिज्य संघहरू र उद्यमी व्यवसायीहरूले गर्व महसुस गरेको बताएका छन्।

यसैगरी महासंघका पूर्वकार्यकारिणी समिति सदस्य अखिल चापागाईं महासंघको यो अभियानबाट समस्यामा परेकाहरूले निकै ठूलो राहतको महसुस गरेको बतनाउँछन्। अर्का पूर्वकार्यकारिणी समिति सदस्य अशोककुमार टेमानीले भने, ‘उत्कृष्ट सहकार्य। यो वस्तवमै उद्धार हो। महान कार्यका लागि आभार। महासंघ टिमलाई बधाइ।’

कार्यकरिणी समिति सदस्य राजन श्रेष्ठ महासंघको यो अभियान अति नै सराहनीय रहेको बताउँछन्। ‘निजी क्षेत्र सधैँ नाफामुखीमात्र हुँदैन’, उनी भन्छिन्, ‘हरेक सामाजिक अभियानमा पनि सदैव अग्रसर रहने गरेको छ भन्ने दह्रिलो उदाहरण हो यो।’

महासंघका निवर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ यो महान कार्यमा लागिरहेको सिंगो टिम नै बधाइ दिन्छन्। ‘सामूहिक प्रयासबाट गरिएको काम सधैँ सफल हुन्छ। तपाइँहरूको सुरक्षालाई ध्यानमा राखेर सहयोगका हात अगाडि बढाउनुहोस्’, उनी भन्छन्।

महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा यस अभियानमा लग्ने महासंघको नेतृत्व र यसमा सहभागी सबै बधाइ दिएकी छन्।

महासंघका अध्यक्ष शेखर गोल्छा वरिष्ठ उपाध्यक्षको नेतृत्वमा रहेको यो टिमको कार्य देखेर आफूलाई गर्व महसुस भएको बताउँछन्। ‘तपाइँहरूको प्रयास यसरी नै अन्तिमसम्म पनि जारी रहोस्, मेरोतर्फबाट पूर्ण सहयोग र साथ रहनेछ’, उनी भन्छन्।

 

प्रतिक्रिया