पत्रकार सम्मलेन गर्दै प्रधानमन्त्री ओली

विदुर खबर २०७८ जेठ ७ गते १२:१९

नुवाकोट ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मलेन गर्ने भएका छन् । ओलीले आज दिउँसो १२:३० मा पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

Advertisement

राष्ट्रपतिले बिहीबार नयाँ सरकार गठनको आह्वान गरेपछि विपक्षी दलले ओलीको आलोचना गरिरहेको बेला ओलीले पत्रकार सम्मलेन गर्न लागेका हुन् । पत्रकार सम्मलेनको विषय भने खुलाईएको छैन ।

प्रधानमन्त्रीले राजिनामा नै नदिई नयाँ सरकार गठनको आह्वान भएकोमा विपक्षी दलले विरोध गरेका थिए । तर प्रधानमन्त्रीका प्रेस सलाहकार सूर्य थापाले भने मार्ग प्रसस्त गर्नु भनेको नै पदत्याग गरेको हो भन्दै सामाजिक संजालमा उल्लेख गरेका थिए । सोहि कारण प्रधानमन्त्रीले आफुले चालेका पछिल्ला कदमको बचाउ गर्दै राजिनामाको घोषणा गर्न सक्ने आँकलन पनि गरिएको छ ।

Advertisement

 

राष्ट्रपतिले नयाँ सरकारमा दाबी गर्नको लागि दिएको समय भने आज आज साँझ ५:०० बजेसम्म मात्र रहेको छ । त्यस संगै दलहरुको छलफल र भेटघाट बाक्लिएको छ  । अहिले नेपाली कांग्रेसको आह्वान विपक्षी दलहरुको बैठक पनि बस्दै छ  ।

Advertisement

बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि प्रतिनिधि सभा सदस्यहरुलाई आह्वान गरेकी हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि  प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न आग्रह गरेकी हुन् ।

यसको लागि राष्ट्रपतिले जेठ ७ गते साँझ ५:०० बजे सम्मको समय दिएकी छिन्। राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५:०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गरेकी हुन् ।

मन्त्रिपरिषद्को बैठकले वैकल्पिक सरकार गठनको लागि मार्ग प्रशस्त गर्न उपयुक्त देखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रकृया आरम्भ गर्न २०७८/२/६ मा निर्णय भएकोले सोहि अनुसार राष्ट्रपतिले  प्रतिनिधि सभा सदस्यहरुलाई आह्वान गरेकी छिन् ।

संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबै भन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेताको हैसियतमा केपी शर्मा ओलीलाई २०७८/१/३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए  । उनले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम तीस (३०) दिन भित्र प्रतिनिधि सभाबाट विश्‍वासको मत प्राप्त गर्नु पर्नेमा हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्‍वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, मिति २०७८/१/२७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्‍न उचित नभएको हुँदा मार्ग प्रसस्त गर्ने निर्णय भएकोले राष्ट्रपतिले वैकल्पिक सरकारको लागि आह्वान गरेकी हुन् ।

प्रतिक्रिया