रसुवागढी नाका जोड्ने सडकमा कालोपत्रे गरिँदै

विदुर खबर २०७८ वैशाख ३१ गते २०:५६

नुवाकोट । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी मैलुङ सडकखण्डमा कालोपत्रे गर्ने कार्यलाई तिब्रता दिइएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै निषेधाज्ञा भएको समयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर कामलाई तिब्रता दिइएको हो ।  

Advertisement

कालोपत्रे गर्नका लागि सामग्री र जनशक्तिको अभाव नभएको कारण कामलाई निरन्तरता दिइएको  गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ मा ४१ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । बर्खाको समयमा कालोपत्रेको काम गर्न नसकिने र बर्खा अगाडि नै काम सकाउनका लागि कार्ययोजना बनाएर काम गरिरहेको योजना प्रमुख योजना प्रमुख नारायणदत्त भण्डारीले बताए ।

योजनाका अनुसार अहिलेसम्म २५ किलोमिटर सडकमा कालोपत्रेको काम सकिएको छ । ‘साढे ७ किलोमिटर क्षेत्रमा काम गर्न कठिन छ,’ उनले भने, ‘बाँकी क्षेत्रमा कालोपत्रेको काम सकिन्छ ।’ नुवाकोटको विदुर क्षेत्रमा ६ किलोमिटर र बेत्रावतीमा डेड किलोमिटर क्षेत्रमा कालोपत्रेको काम अघि बढ्न सकेको छैन । विदुर क्षेत्रमा अदालतको स्टे अडर र बेत्रावती क्षेत्रमा जग्गाको विवादका कारण काम गर्न नसकिएको उनको भनाइ छ ।  

Advertisement

पहिलो खण्डको रूपमा रहेको गल्छी मैलुङ सडकको स्तरोन्नतिको काम करिब ६८ प्रतिशत सम्पन्न भएको छ । नाका जोड्ने छोटो दूरीको रूपमा रहेको यो सडकको तीन खण्डमा स्तरोन्नतिको काम हुने छ । गल्छी मैलुङ सडक खण्डको दूरी ४६ किलोमिटर रहेको छ । दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रुबेसी सडकमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ । चालु आर्थिक वर्षमा केही भाग ग्राभेलको काम गर्ने तयारी छ ।  

त्यसैगरी स्याफ्रु रसुवागढी सडक खण्डको चिनियाँ पक्षले स्तरोन्नतिको जिम्मा पाएकोमा अहिले काम अघि बढेको छैन । नेपाली पक्षले बिजुलीको पोल सार्ने कार्य अन्तिम चरणमा पु¥याएको छ ।  

Advertisement

नाका जोड्ने सडक खण्डमा निर्वाध रूपमा काम गर्नका लागि स्थानीय तह र स्थानीय प्रशासनको सहयोगको अपेक्षा रहेका योजना प्रमुख भण्डारीले बताए । ‘हामीले कामलाई तिब्रता दिएका छौं,’ उनले भने, ‘सबैको सहयोग पाएमा तोकिएको समयमा नै काम सम्पन्न हुन्छ ।’

यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो । दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रु सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।  

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन । गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनैपनि घुम्ती पार गर्न पर्दैन ।  

मैलुङ¬स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ । २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ ।  

प्रतिक्रिया