निषेधाज्ञाले कुखुराको मासुको मूल्य घट्यो

विदुर खबर २०७८ वैशाख २६ गते २१:४२

नुवाकोट । निषेधाज्ञा लागू गरेसँगै बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ ।

Advertisement

करिब एक हप्ता अघिसम्म हालसम्म कै उच्च मूल्यमा बिक्री भएको कुखुराको मासु अहिले दैनिक रुपमा घट्दै गएको छ । विगतको दिनमा व्यवसायीहरूले प्रतिकेजी ४ सय ५० रुपैयाँ बिक्री गरिरहेको कुखुराको मूल्य निषेधाज्ञा लागू भएसँगै मूल्य घटेको व्यवसायीहरू बताउँछन् ।

विगतको दिनमा व्यवसायीहरूले चल्ला उत्पादन गर्ने प्यारेन्ट (माउ) को अभावले बजारमा कुखुराको उत्पादन घट्न थालेपछि कुखुराको मूल्य बढेको बताएका थिए । चिसो मौसममा उत्पादन कम भई कुखुराको मासुको मूल्य कम हुने र गर्मी भएपश्चात विस्तारै उत्पादन बढ्न गई बजारमा मासुको मूल्य घट्ने सर्वसाधारणहरूको भनाइ थियो ।

Advertisement

तर, गर्मी मौसम शुरु भए पनि बजारमा कुखुराको मासुको मूल्य घट्न सकेको थिएन । साथै, बजारमा उच्च मूल्यमा बिक्री गरेको भन्दै उपभोक्ताहरुले गुनासो गर्दै आएका थिए । करिब एक हप्तासम्ममा प्रतिकेजी ४ सय ३० देखि ४ सय ५० रुपैयाँसम्म बिक्री गर्दै आएको कुखुराको मूल्य निषेधाज्ञा लागू भएपछि खपतसँगै कुखुराको मूल्य घटेको नेपाल ह्याचरी संघका अध्यक्ष टिकारम पोखरेल बताउँछन् ।

उनका अनुसार विगतको दिनमा प्यारेन्ट चल्ला उत्पादन गर्ने प्यारेन्ट आयात गर्न नसक्दा बजारमा कुखुराको उत्पादन कम हुन गई मूल्य बढेको थियो । तर, अहिले जति पनि उत्पादन भएका कुखुराको मासु खपत हुन नसक्दा प्रत्यक्ष असरमा मूल्यमा परेको बताए । एक हप्ता अघिसम्म प्रति केजी ४ सय ५० रुपैयाँसम्म बिक्री भएको कुखुराको मासुको मूल्य निषेधाज्ञा पछि निरन्तर ओरोलो लागेर अहिले प्रतिकेजी ३ सय ७० रुपैयाँ देखि ३ सय ९० रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।

Advertisement

‘देशभर दैनिक ५ लाख केजी खपत हुने गर्दछ । सरकारले निषेधाज्ञा लागु गरेसँगै बजारमा ५० प्रतिशत पनि खपत हुन सकेको छैन । यसले गर्दा उत्पादित कुखुरा बिक्री गर्नकै लागि सस्तोमा बिक्री गर्दै आएका छन्,’ उनले भने ।

त्यस्तै, कुखुराको मासुको मूल्य घट्नुको मुख्य कारण निषेधाज्ञा रहेको ह्याचरी संघ तथा पोल्ट्री संघका अध्यक्ष गुण चन्द्र बिष्ट बताउँछन् । हाल बजारमा पर्याप्त मात्रामा कुखुरा उत्पादन नभए पनि उक्त उत्पादित कुखुरा नै खपत नभएपछि मूल्य घटेको उनले बताए ।

साथै, पछिल्लो समय कुखुरा उत्पादक गर्ने व्यवसायीहरूले चल्ला नष्ट गर्दै आएको बताए । उनका अनुसार कुखुरालाई लागि आवश्यक दाना महंगो र निषेधाज्ञा अनिश्चित भएकाले व्यवसायीहरूले चल्ला नष्ट गरेको बताए ।

त्यसैगरी, निषेधाज्ञा अझै लम्बिए घट्न सक्ने व्यवसायीहरूको अनुमान छ । ‘बजारमा उत्पादन कम भएपनि खपत हुन सकेको छैन । सरकारले तोकेको भन्दा अझै निषेधाज्ञा लागु भएमा अझै घट्न सक्छ,’ ह्याचरी संघका अध्यक्ष पोखरेलले भने ।

प्रतिक्रिया