सुनको भाउ घट्दा बैंशाखमा ‘झँयाइ’ पार्नेलाई राहत

विदुर खबर २०७७ चैत ३० गते १४:३९

नुवाकोट । बैशाखमा विवाहको लगन भएकाले सुनको किन्नेहरु बढेको छन्।

Advertisement

गत पुसदेखि विवाहको लगन नभएको, सुनको मूल्य उच्च भएको र कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएका कारण सुनको किन्नेहरु घट्दै गएका थिए। तर, बैशाखमा भने विवाहको लगन भएकाले सुनको खरिद गर्ने बढेका हुन्।

लामो समयपछि विवाहको ‘सिजन’ शुरु हुन थालेकाले सुनको माग बढेको सुन व्यवसायी मणिरत्न शाक्यले बताए। ‘दुई दिनपछि नयाँ वर्ष २०७८ साल शुरु हुँदैछ,’ उनले भने, ‘नयाँ वर्ष शुरुदेखि नै विवाहको लगन पनि शुरु हुन थालेकाले सुन बिक्री पनि बढेको छ।’

Advertisement

विवाहको पूर्वसन्ध्यामा सुन खरिद गर्नेहरुको पसलमा भिडभाड लाग्न थालेको छ। विवाहको लगन नभएकाले सुनसान बनेका सुन पसलहरुमा यति बेला भिडभाड देखिन थालेका छन्।

यता, सुन व्यवसायीलाई बैशाखमा हुने विवाहका लागि सुन बिक्री गर्न भ्याइनभ्याइ छ। बैशाखमा हुने विवाहका लागि सुन खरिद गर्नेको चाप बढ्दै गएको व्यवसायीहरुको भनाइ छ।

Advertisement

विवाहमा बढी सुन आवश्यक भएको भन्दै व्यवसायीले माग गरेपछि नेपाल राष्ट्र बैंकले दैनिक कोटा बढाएको छ। राष्ट्र बैंकले सुन आयातमा कटौती गर्दै दैनिक १० किलो मात्र ल्याउन स्वीकृत दिँदै आएकोमा त्यसलाई बढाएर दैनिक २० किलो आयात गर्न दिने निर्णय गरिसकेको छ।

लकडाउन अघि दैनिक २० किलो सुन आयात हुँदै आएको थियो। त्यसबाहेक चाडपर्व र लगनको समयमा दैनिक २५ किलोसम्म सुन आयात गर्न स्वीकृत दिने गरिएको थियो। लकडाउन र निषेधाज्ञाको समयमा दैनिक १० किलो मात्र आयात गर्न दिन थालेपछि बजारमा सुनको अभाव हुन पुगेको थियो। त्यस्तो अभावलाई परिपूर्ति गर्नका लागि राष्ट्र बैंकले कोटा बढाएर दैनिक २० किलोसम्म ल्याउन दिने व्यवस्था गरेको हो।

अहिले पनि बजारमा सुनको माग र आपूर्तिबीचको तारतम्य मिलिनसकेको व्यवसायीहरुले बताउँदै आएका छन्। अहिले पनि दैनिक २५ देखि ३० किलोसम्म सुनको माग हुँदै आएको छ। तर सरकारले भने दैनिक २० किलो मात्र सुन ल्याउन अनुमति दिएको छ। अहिले पनि माग र आपूर्तिबीच सन्तुलन मिल्न सकेको छैन।

पछिल्लो समय सुनको मूल्यमा क्रमशः गिरावट आएपछि सुन किन्नेहरु पनि बढेको व्यवसायीहरु बताउँछन्। कोरोना भाइरसका कारण सुनको मूल्यमा उच्च रुपमा बढेर तोलाको १ लाख माथि पुगेपछि सुन खरिद गर्नेहरुमा कमी आएको थियो। तर अहिले सुनको मूल्य घटेको छ। सुनको मूल्य घटेका कारण पनि सुन खरिद गर्ने बढेको व्यवसायी शाक्यले बताए।

केही सयमअघि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको थियो। गत साउन २३ गते सुनको मूल्यले नयाँ उचाइ छोएको थियो। उक्त दिन एक तोला सुन खरिद गर्नका लागि १ लाख ३ हजार ५ सय रुपैयाँ तिर्नु परेको थियो।

तर अहिले (आइतबार) एक तोला सुन किन्दा ८९ हजार ५ सय तिरे मात्र पुग्ने भएको छ। करिव आठ महिनाको अवधिमा सुन तोलामा १३ हजार २ सय रुपैयाँ घटेको छ।

अहिले त विवाहको सिजन नजिकिएका कारण सुन पुनः बढन पुगेको व्यवसायीहरुको भनाइ छ। चैत १८ गते त सुनको मूल्य प्रतितोला ८५ हजार ६ सयसम्म आएको थियो। तर, यो बीचमा सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढ्न पुगेको छ।

कोरोना भाइरसका कारण गएको वर्ष २०७६ को अन्तिमदेखि नै सुन बिक्रीमा कमी आएको थियो। यो वर्ष २०७७ को पनि गत माघसम्म सुनसान भएको सुन बजारमा फेरी रौकनता छाएको छ ।

२०७७ को अन्त्यतिर सुन व्यवसायीहरुले खुशीका दिन फर्केको महशुस गरेका छन् । कोरोना भाइरसको दोस्रो चरण सुरु नभए नयाँ वर्ष २०७८ भने सुन चाँदी व्यवसायीहरुलाई खुशीको वर्ष हुने अनुमान गरिएको छ। तर, कोरोना भाइरसको संक्रमणको लहर भारतमा देखिए जस्तो दोस्रो चरणको लहर नेपालमा पनि देखियो भने फेरी अन्य व्यवसाय जस्तै सुन बजार पनि सुनसान नहोला भन्न सकिदैन।

प्रतिक्रिया