तीन दिनभित्रै पार्टी एकता र सरकारलाई पूर्णता : पोखरेल

विदुर खबर २०७४ फागुन ६ गते १०:४९

काठमाडौं, ६ फागुन । नेकपा एमालेका नेता आनन्द पोखरेलले अबको तीन दिनभित्रै एमाले-माओवादी केन्द्रबीच एकता हुने र सरकारले पनि पूर्णता पाउने ठोकुवा गरेका छन् ।

Advertisement

आइतबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा उनले तीन दिनभित्र पार्टी एकता हुने र सरकारले पनि पूर्णता पाउने बताएका हुन् ।

उनले भने, ‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनिसकेको छ, यो जनताको अपेक्षा पनि थियो, अब एमाले र माओवादी केन्द्र भनेको एउटै पार्टी हो, माओवादी सरकारमा सहभागी कहिले हुन्छ भन्ने प्रश्नै हुँदैन, अबको तीन दिनभित्रै दुईपार्टीवीच एकता हुन्छ, र सरकारले पनि पूर्णता पाउँछ ।’

Advertisement

पोखरेलले माओवादी केन्द्र सरकारमा सहभागी हुनको लागि कुनै समस्या नभएको पनि जिकिर गरे । उनले थपे, ‘हामी त राजपा र फोरमलाई पनि सरकारमा सहभागी गराउन आहृवान गरिरहेका छौं ।’

माओवादी केन्द्रका नेता चक्रपाणि खनालले पार्टी एकता चाँडै टुंगोमा पुग्ने विश्वास दिलाउँदै एक साताभित्रै आफूहरु पनि सरकारमा सहभागी हुने स्पष्ट पारे । खनालले भने, ‘अबको एक साताभित्रै हामी पनि सरकारमा सहभागी हुन्छौं, यसमा कुनै विवाद छैन, तर अहिले पार्टी एकता टुंगोमा पुर्‍याउने गरी छलफल भइरहेको छ ।’

Advertisement

संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरुको माग संबोधन भए सरकारमा जाने बताए । श्रेष्ठले भने,’हामी सरकारमा सहभागी हुनको लागि खुल्ला छौं, तर हाम्रा माँग र मुद्दाबारे सरकारको प्रतिबद्धता जाहेर हुनुपर्छ, राष्ट्रिय एकता कायम होस् भन्ने हाम्रो चाहना हो ।’

राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट पारे । उनले भने, ‘संविधान संशोधन तत्काल हुनुपर्छ, अहिलेको जनमत पनि त्यही हो, जबसम्म संशोधन हुँदैन तबसम्म हामी सरकारमा जाने सवाल छैन ।’

प्रतिक्रिया