काठमाडौँको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक

विदुर खबर २०७५ साउन १२ गते ६:५५

काठमाडौँ,  तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार गर्न नसक्ने हो भने अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहर पुनःसडकमा नै थुप्रिने खतरा बढेको छ ।

Advertisement

केही दिन अघि मात्र करीब एक महिनादेखि सडकमा थुप्रेको फोहर व्यवस्थापन गर्ने काम भएको छ । पछिल्लो समय उपत्यकामा फोहरको समस्या दिनानुदिन बढ्दै गएको छ । यसरी समस्या बढ्दै जाने हो र उपयुक्त व्यवस्थापनको पहल सम्बन्धीत निकायले नगर्ने हो उपत्यकावासीले फोहरको कारण ठूलो समस्या सामना गर्नुपर्नेमा शंका छैन ।

काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निस्कने गर्दछ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

Advertisement

फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले हाल फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलभन्दा दुई किलोमिटर पर प्रस्तावित बन्चरेडाँडालाई व्यवस्थित गर्न लामो समय लाग्ने बताउनुभयो ।

बन्चरेडाँडामा निर्माण गरिने सेनेटरी ल्याण्डफिल्डका लागि आवश्यक बजेटको व्यवस्था भए पनि निर्माण कार्य सम्पन्न गर्न कम्तीमा पनि तीन वर्ष लाग्ने ज्ञवालीको भनाइ छ ।

Advertisement

आजैबाट बन्चरेडाँडालाई दीर्घकालीनरुपमा फोहर राख्ने स्थान बनाउन काम शुरु गर्ने हो भने पनि तत्कालको लागि व्यवस्थापन गर्ने स्थान आवश्यक छ । सिसडोलमा करीब ४०÷५० मिटरमाथिसम्म फोहरमा निर्माण गरिएको प्रवेश मार्ग फोहरको अत्यधिक भारले गर्दा पहिरो जाने सम्भावना रहेकाले अब त्यहाँ फोहर बिसर्जन नगरिने भएको छ ।

सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल्ड निर्माण गरिएकोमा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ । हालसम्म पनि विगत वर्षका बजेट वक्तव्यमा तीन वर्षभित्र सम्पन्न गरिने भनिएता पनि बजेटको सुनिश्चिता हुन सकेको छैन ।

काठमाडौँ उपत्यकाको एकीकृत फोहरमैला व्यवस्थापनको लागि लगानी बोर्डबाट प्रक्रिया अघि बढाइएको निजी विकासकर्तासँग प्रारम्भिक सम्झौता भएको चार महिना बितिसक्दा पनि अन्तिम सम्झौता हुन सकेको छैन ।

गत वर्षको स्थानीय तह निर्वाचनपछि स्थानीयको समस्या स्थानीय तहले नै समाधान गर्नुपर्ने भए पनि यस समस्या समाधान हुन सकेको छैन । ज्ञवालीका अनुसार यसको पूर्णरुपमा निर्माण गर्ने काम काठमाडौँ महानगरपालिकाको हो । निर्माणको लागि कामपाले पहल आजैबाट शुरु गर्नुपर्ने छ । अन्यथा फोहरको कारण अत्यन्तै ठूलो समस्या आउँछ ।

यता काठमाडौँ महानगरपालिकाले भने दीर्घकालीनरुपमा फोहर राख्ने स्थान बन्चरेडाँडा निर्माणको काम केन्द्र सरकारको हो भन्दै आएको छ । कामपाका सहप्रवक्ता नवराज ढकालले केन्द्र सरकारसँग समन्वय गरेर निर्माण काम छिटो शुरु गर्ने जानकारी दिनुभएको छ ।

प्रतिक्रिया