प्रभु बैंकको नाफा डेढ अर्ब

विदुर खबर २०७७ माघ १४ गते ८:३३

नुवाकोट । प्रभु बैंक लिमिटेड (PRVU) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले डेढ अर्ब नाफा कमाएको छ।

Advertisement

सो अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९८ लाख रुपैयाँ रहेको छ।

११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड हुँदा जगेडा कोषमा ३ अर्ब ८५ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २१ करोड रुपैयाँ सञ्चित थियो।

Advertisement

पछिल्लो ६ महिनामा बैंकको निक्षेप २५.८५ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने कर्जा २६.८२ प्रतिशत बढेर १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

कर्जा लगानी बढेपनि बैंकको निष्क्रिय कर्जा भने घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३.१२ प्रतिशत रहेकोा बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २.०६ प्रतिशतमा झरेको छ। समीक्षा अवधिमा बैंकको बेस रेट ९.४५ प्रतिशतबाट ७.२४ प्रतिशतमा झरेको छ भने स्प्रेड ४.८३ बाट ३.६४ प्रतिशतमा झरेको छ।

Advertisement

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५ पैसाबाट बढेर २६ रुपैयाँ ७७ पैसा पुगेको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १५.३२ गुणा मात्र रहेको छ।

प्रतिक्रिया