नुवाकोटमा जोखिम भनिएका बस्ती अझै जोखिमस्थलमै, पिडित असुरक्षित घरमा बस्दै

विदुर खबर २०७७ माघ १० गते १३:१०

नुवाकोट ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त स्थानमा रहेको बस्तीलाई स्थानान्तरण गर्न आफैले सिफारिस गरे पनि अझै पनि जिल्लाका जोखिम बस्तीको मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यले पूर्णता पाएको छैन ।

Advertisement

२०७२ को भूकम्पको कारण जोेखिममा परेका सबै बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य पुरा हुनबाँकी रहेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटले जनाएको छ । जिल्लामा भूकम्पको जोखिममा रहेका भनिएका मध्ये एक तिहाई परिवार मात्र शुरक्षित स्थानमा स्थानान्तरण भएका छन् । शुरुमा ४ सय १७ घर जोखिममा रहेको तथ्यांक रहेका थियो । यसमध्ये शिवपुरीको ६० घर स्थानान्तरण गर्न नपर्ने कायम भएपछि बाँकी ३ सय ५७ घरमध्ये हालसम्म २ सय १ परिवारको लागि मात्र घर बनेको छ । त्यसमा पनि १ सय ३ परिवारलाई मात्र स्थानान्तरण गरिएको छ । आवास निर्माण भएकामध्ये पनि ९८ परिवारलाई घर हस्तान्तरण गर्न बाँकी नै रहेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटले जनाएको छ । वाँकी १ सय ५६ मध्ये र १७ जनाले सुरक्षित स्थानमा जग्गा खरीद गरी घर बनाउने तयारी गरेका छन् ।

असुरक्षित बस्ती रहेको भनिएका बाँकी १ सय ३९ घर परिवारलाई जग्गाको व्यवस्थापन हुन बाँकी रहेको जोखिम क्षेत्रका घरपरिवारलाई जग्गा खरीद लगायतमा सहजीकरण गर्दै आएको सीएसआरसीका जिल्ला पैरबी संयोजक विस्वास नेपालीले बताए । भूगर्भविद्हरुको टोलीले भूकम्पपछि जोखिम बस्तीको अध्ययन गरी स्थानान्तरणको सिफारिस गरिएको कतिपय बस्तीहरुलाई पछिल्लो समयमा अहिले ‘बस्न योग्य’भनि सिफारिस समेत गरेको कारण जिल्लाको पहिले स्थानान्तर गर्नु पर्ने भनिएका बस्तीहरु समेत स्थानान्तरण नगरी साविककै स्थानमा नयाँ घर बनाउन समेत दिइएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख शम्भुकुमार शाहले बताए ।

Advertisement

‘भूगर्भविदहरुले जोखिम भनेका बस्तीहरुलाई पछिल्लो समय क्याटगोरी २ मा राखिएको छ । क्याटागोरी २ अर्थात अहिले बस्न जोखिम नभएको भनेर सिफारिस भएपछि केही बस्तीहरुमा घर बनाउन दिइएको छ’ उनले भने ‘केही जोखिम भनेका स्थानमा बासिन्दाले आफ्नै अर्कै स्थानमा रहेको सुरक्षित जग्गामा घर बनाएको भन्दै वडा कार्यालय र गाउँपालिकाबाट सिफारिस ल्याएकोले निजी आवास अनुदान प्रदान गरिएको छ ।’

विभिन्न दातृ निकायको सहयोगमायी घरहरु निर्माण गरिएको हो । सरकारले जग्गा खरिदको लागि प्रति परिवार रु. २ लाख अनुदान दिएको रकमबाट खरीद गरिए पनि घर भने दातृ संस्थाहरुको सहयोगमा निर्माण गरिएको हो । तादी गाउँपालिका–१ उर्लेनीका ७१ घर परिवारको लागि तादी गाउँपालिकाकै खरानीटारमा स्थानान्तरण गरिएको छ । उनीहरु नयाँ स्थानमा बस्न थालिसकेका छन् ।

Advertisement

सूर्यगढी गाउँपालिकाको झिरमुनीको १४ घरलाई हल्देकालिकामा एकिकृत बस्ती निर्माण गरि स्थानान्तरण गरिएको छ । सूर्यगढी गाउँपालिका १ लच्याङका १८ घर परिवारलाई विदुर नगरपालिका वडा नं. ९ जफतीमा एकिकृत बस्ती निर्माण गरि स्थानान्तरण गरिएको छ ।

जिल्लाको सबैभन्दा जोखिम स्थानभनिएको दुप्चेश्वर गाउँपालिका १ का नेगी, घ्याङडाँडा लगायतका स्थानका जोखिम भनिएका बस्तीका नागरिकको लागि दुप्चेश्वर गाउँपालिका ६ रामतीमा ७४ घरको लागि सुरक्षित स्थानमा एकिकृत बस्ती निर्माण गरिएको छ । यस्तै, म्यागङ गाउँपालिकाको किम्ताङको जोखिम बस्तीलाई नजिककैको सरक्षित स्थानमा सार्नको लागि २४ घर निर्माण गरिए पनि हस्तान्तरण हुनबाँकी रहेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म २ सय १ घरको लागि सुरक्षित स्थानको लागि घर बनिसकेको छ । जोखिम भनिएका विभिन्न बस्तीका १८ घरधुरीले पनि आफ्नो पायक पर्ने स्थानमा घर बनाउनको लागि कार्यालयबाट जग्गा खरीदको अनुदान पाएर खरीद समेत गरिसकेका छन् ।

शिवपुरी गाउँपालिकाको सिलामे, मारडाँडा लगायतका बस्तीहरुलाई पछिल्लो चरणमा अब बस्न जोखिम रहित भनेको त्यहाँका ६० घरलाई अन्यन्त्र स्थानान्तरण नगरिएको र उनीहरुले निजीआवास अनुदानको रकमपाएर सोही स्थानमा घर निर्माण गरिसकेको कार्यालयका प्रमुख शाहले बताए । तर, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सिलामेको बासिन्दाले साविककै स्थानमा घर बनाउन थाले पनिकल्लेरी टोलका बासिन्दालाई भने सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने कुरा उठिरहेको छ र पछिल्लो समय प्राधिकरणले के गरिरहेको आफूले थाहा नपाएको बताए ।

जिल्लामा शुरुमा ४ सय १७ घर जोखिममा रहेको भन्ने तथ्यांक रहेकोमा शिवपुरीको ६० घर स्थानान्तरण गर्न नपर्ने कायम भएपछि बाँकी ३ सय ५७ घरमा २ सय १ परिवारको लागि घर बनिसकेको र १७ जनाले सुरक्षित स्थानमा जग्गा खरीद गरी घर बनाउने तयारी गरेका छन् । असुरक्षित बस्तीका रहेको भनिएका बाँकी १ सय ३९ घर परिवार मध्ये १ सय २६ घरलाई जग्गा व्यवस्थापन गर्न नमिलेको र १३ घरले जग्गाको व्यवस्थापन हुनबाँकी रहेको जोखिम क्षेत्रका घरपरिवारलाई जग्गा खरीद लगायतमा सहजीकरण गर्दै आएको सीएसआरसीका जिल्ला पैरबी संयोजक विस्वास नेपालीले बताए । केहीले पुरानै जोखिम स्थानमै घर बनाएको, केहीले निजीआवास अनुदान समेत पाएर घर बनाएको र केहीले आफ्नै अर्को सुरक्षित स्थानमा जग्गा रहेको कारण सुरक्षित स्थानमा जग्गा खरिद गरी एकिकृत रुपमा स्थानान्तरण गर्न समस्या भएको नेपालीको भनाई छ ।

सुरक्षित स्थानमा घर बनाएकाहरुले पनि पूर्ण रुपमा नयाँ स्थानमा सरि नसकेको नेपालीले बताए । नयाँ स्थानमा चार आना जग्गामा तीन कोठे घर मात्र निर्माण भएको र अन्य जग्गा जमीन नभएको कारण परिवारका केही सदस्यहरु खेतीपाती, बस्तुभाउको कारण जोखिम क्षेत्रमै रहदै आएको नेपालीले बताए ।

जिल्लाको विभिन्न जोखिमयुत्त क्षेत्रमा वसोवास गरिरहेका स्थानियहरुलाई स्थान्त्रतरण गर्न स्थानिय तहरुले पनि समन्वयात्मक भुमिका खेलिरहेका छन् । विशेष गरि दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर १ को नेगी, घ्याङडाँडा सुर्यगढी गाउँपालिकाको लच्याङका जोखिम क्षेत्रमा वसोवास गर्दे आइरहेका मानिसहरुलाई गाउँपालिकाको सहयोगमा स्थान्तरण गरिएको हो । विशेष गरि बढी जोखिम रहेको दुप्चेश्वर गाउँपालिकामा जोखिमयुत्त क्षेत्रमा वसोवास गरिरहेका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको समन्वयमा स्थाान्तरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले बताइन् । उनले आफुहरु सधैँ जनताको सेवामा तल्ल्नि रहेकोले जनताको सुरक्षाको नै पहिलो प्राथमिकता रहेकोले पहिलो चरणमा जोखिम क्षेत्रमा वसोवास गरिरहेका मानिसहरुको स्थानान्तरण गरेको बताइन् ।

यस्तै रााष्ट्रिय पुननिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटका प्रमुख शम्भु शाहले जिल्लाका आधिंकाश जोखिमयुत्त क्षेत्रमा वसोवास गरिरहेका मानिसहरुको स्थानन्तरण भइसकेकोले आगामी दिनमा पनि स्थानिय तह र जिल्लामा प्रशासन कार्यालयसँग समन्वय गरेर अगाडी बढ्ने बताए । उनले बाँकी मानिसहरुलाई पनि छिट्टै स्थानान्तरण गरिने बताए ।

नुवाकोटमा धरातलिय हिसावले अझै केही क्षेत्र भुकम्पपछिको पराकम्पनका कारण पहिरो लगायतको जोखिममा परेकोले सो क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा सारिनु आवश्यक छ ।

प्रतिक्रिया