काठमाडौंका नेवारले संस्कृति जोगाए, राजनीति जोगाएनन्

विदुर खबर २०७७ माघ ८ गते ८:२३

                                                                                                             हिसिला यमी

मुलुकको राजनीतिक परिवर्तनका लागि निर्णायक आन्दोलनहरु राजधानीमै भएका छन्, नेवार सहभागी नभई ठूला राजनीतिक परिवर्तन भएका छैनन् । तर, परिवर्तन गराउने यो समुदाय आफू भने राजनीतिमा लागेन, संस्कृतिमै हराइरह्यो । संस्कृति जोगाउन पाए उसलाई पुग्यो, राजनीतिको मियो समालेर दिशानिर्देश गर्नसकेको भए संस्कृतिजस्तै राजनीति पनि स्थिर र दीर्घकालिक हुनेथियो, आम नेपालीले यसरी बारम्बार राजनीतिक अस्थिरताको मार भोग्नुपर्ने थिएन ।

Advertisement

संस्कृतिमा जो धनी छ, उसले राजनीतिलाई महत्व दिँदोरहेनछ । काठमाडौं उपत्यकाका नेवार जसरी संस्कृतिमा धनी छन्, त्यसरी नै तराईका मैथिल पनि सांस्कृतिकरुपले समृद्ध छन् । तर, राजनीतिक व्यवस्थाको नेतृत्व र त्यसको सञ्चालनमा उनीहरुले ध्यान दिनसकेका छैनन् । जबकि राजनीति नै हरेक नीतिहरुको माउ नीति हो ।

यसमा जसको पहुँच र नियन्त्रण छ अन्य पक्षहरु– आर्थिक, सामाजिक, सांस्कृतिक आदिमा पनि उनीहरु प्रभाव पार्नसक्छन् । नेपालको राजनीतिमा सांस्कृतिक पहिचानका लागि अग्र भागमा रहेर पनि नेवार र मैथिलहरु कमजोर छन्, जबकि कुनै नेतालाई जिताउन ‘भोट ब्यांक’का रुपमा उनीहरु प्रयोग भइरहेका छन् ।

Advertisement

यी वर्गको काँधमा चढेर नेपालमा खस–आर्यले शासनको मजा लुटे, राजनीति गरे । स्थायी र शान्तिपूर्णरुपले शासन सञ्चालन गर्नसकेको भए पनि ठीकै थियो, जनताले दुई तिहाइ बहुमत दिएका केपी शर्मा ओलीहरु अहिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचनमा मुलुकलाई होमिरहेका छन् । विगत चार–चारपटक जनताको सार्वभौम अधिकार प्रयोग गर्ने थलोलाई असमयमै घाँटी निमोठ्ने निर्दयीहरुको वर्ग एउटै छ ।

राजधानीमा हुने निर्णायक राजनीतिक आन्दोलनमा नेवार समुदायको जति योगदान छ, त्यत्ति नै ताम्सालिङको पनि छ । राजनीतिक पहुँच र आर्थिक समृद्धिमा नेवार अगाडि छ, ताम्सालिङ सीमान्तकृत छ । प्रदेश ३ जसलाई नेवा–ताम्सालिङ नामकरण गर्ने हाम्रो प्रस्ताव थियो, यी दुई जाति मिलेमा ३ नम्बर प्रदेशमा बहुमत पुग्ने अवस्था हुन्थ्यो ।

Advertisement

पछाडि पारिएका तामाङ जातिहरु राजनीतिक मूलधारमा आउने वातावरण तयार हुन्थ्यो, तर षडयन्त्रपूर्ण ढंगबाट नेवा र ताम्सालिङलाई राजनीतिक मूलधारमा आउने वातावरण बन्न दिइएन । राजा महेन्द्रको एकात्मक शासन व्यवस्थाको प्रतिक्रियावादी तŒवलाई यथावत् राख्दै नेवा–ताम्सालिङ राज्यलाई बागमती प्रदेश नामकरण गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने नेपालको संविधान, २०७२ लाई नै खारेज गर्ने गरी असंवैधानिक कदम चाल्ने ओली सरकार र उनको पार्टीकै पहलमा सुनियोजित ढंगले नेवा र ताम्सालिङहरुलाई फ्रेमबाट बाहिर पार्ने काम भएको हो ।

नेवार, तामाङ, मैथिल आदि जाति पहिचानमा रमाउँछन्, संस्कृतिलाई प्राणभन्दा प्यारो ठान्छन्, नाचगानमा मख्ख पर्छन् । तर, राजनीतिभित्रको वक्र–नीति उनीहरुलाई मनपर्दैन । जबकि नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक सदस्यहरु हुन् कि नेपाली कांग्रेसका, त्यसमा नेवारहरु नै छन् । निर्माण गर्ने वा बनाउने काममा यस वर्गको हात देखिन्छ जो राजनीतिभित्रको वक्र–नीतिमा अलमलिएका छैनन् ।

नेपालमा नेवार व्यापारिक समुदाय पनि हो, इतिहास हेर्ने हो भने, तिब्बतसँग व्यापार गर्ने उपत्यकाका नेवारलाई कमजोर बनाउन तत्कालीन सत्ताले दक्षिणतिरबाट अग्रवाललगायतका अर्का व्यापारिक समुदायलाई भिœयायो । नेवारप्रति पक्षपातपूर्ण व्यवहार हुँदै आयो, आजसम्म पनि सत्ता सञ्चालकहरुले नेवारलाई प्रयोग मात्र गरिरहेका छन् ।

आजका युवा हेर्नुहुन्छ भने, शासकहरुको नीतिकै कारण राजनीतिबाट यति पर छन् कि देशै छोडेर अमेरिकाजस्ता विकसित मुलुकतिर लागेका छन् । यस्तो अवस्थामा उपत्यकामा केपी ओलीको कदमविरुद्ध जनआन्दोलन चलाउन को उठ्ने?
यसो भनेर काठमाडौंको नेवार समुदाय राजनीतिक अवस्थाबाट अनभिज्ञ छ, कुनै कामै गरिरहेको छैन भन्ने होइन । यसै साता मात्र पनि मल्ल के. सुन्दर, तीर्थराम डंगोल, राजेन्द्र श्रेष्ठलगायतले ‘राजनीतिमा नेवा एकताको महत्व’ विषयक गोष्ठीको आयोजना गरे, सबै मिलेर ओलीको असंवैधानिक कदमको विरोधमा एकीकृत ढंगले उभिनुपर्ने आवश्यकतामा सहमति जनाए ।

पछिल्लो समय नेकपाभित्रको ओली गुटबाहेक सबै नेता–कर्याकर्ता, अन्य सबै राजनीतिक दल र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षपातीहरुलाई एकीकृत हुने वातावरण जुटाइदिएकोमा प्रधानमन्त्री केपी ओली धन्यवादका पात्र भएका छन् । सामन्ती राजतन्त्रका विरुद्ध १४ वर्ष जेल बसें भनेर गफ दिने ओली अहिले आफै सामन्त भएकोमा दुःख त लागेको छ, तर जसरी बृहत् एकताको वातावरण तयार भएको छ, संघीय लोकतान्त्रिक गठतन्त्रका पक्षमा यस एकताले योगदान दिने निश्चित छ ।

जनता ओलीको कदमविरुद्ध तत्कालै सशक्त ढंगले नउठ्नुमा नेकपाभित्रको विभाजनको विशेष अवस्था पनि हो । सडकमा नेकपा फुटेको छ, तर निर्वाचन आयोगले आजसम्म विभाजनको फैसला गरेको छैन । सरकार पनि त्यही, विपक्ष पनि त्यही दलको अवस्था छ । आज, प्रचण्ड–नेपालको पक्षमा मोर्चाबन्दी गरौं, भोलि उनीहरु ओलीसँग मिल्ने हुन् कि भन्ने आशंका पनि बाँकी छ । यति हुँदाहुँदै पनि म संलग्न रहेको जनता समाजवादी पार्टी (जसपा) समयसापेक्ष ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा समर्पित भएर लागेको छ ।

डा. बाबुराम भट्टराईको सपना मुलुकमा गैरकम्युनिस्ट नयाँँ शक्तिको निर्माण हो, जो आजको अवस्थामा जसपा नै हो । पहाडी खसदेखि मैदानका मैथिलहरु, आदिवासी जनजातिदेखि आर्यहरु, पूर्वकम्युनिस्टदेखि नेपाली कांग्रेस छोडेर आएका नेताहरुको पाँच सदस्यीय कार्यकारी समितिबाट पार्टी चलेको छ । नेपालको संविधान, २०७२ को मर्मलाई आत्मसात् गर्दै लैङ्गिक समानता र सामाजिक सहभागितालाई व्यवहारमै उतारेर अघिबढेको छ । ५१ सदस्यीय केन्द्रीय कार्यसमितिमा हामी सात महिला छौं, पाँच प्रमुख नेतामा डा. भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, अशोक राई र राजेन्द्र महतो हुनुहुन्छ ।

यी पाँच नेतालाई मात्र हेर्दा पनि सिंगो नेपालको प्रतिबिम्ब देखिन्छ । त्यसैले मलाई विश्वास छ, आगामी निर्वाचनमा जसपालाई नेपाली जनताले ऐतिहासिक जित दिलाउने छन् । हिमाल, पहाड र मैदानको मर्मअनुसार गठित एवं सञ्चालित यस्तो अर्को दल छैन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतस्वरुप प्रदान गर्न वा त्यसलाई व्यावहारिक अभ्यासमा ल्याउन जसपा एक नमुना पार्टी हुने निश्चित छ ।

अन्त्यमा, विश्वमै लेफ्टिस्टहरु ‘लेफ्ट आउट’ भएका छन् । आफूलाई कम्युनिस्ट भन्ने नामधारीहरुको अधिनायकवादी चरित्र र पदलोलुपता कतिसम्म हुँदोरहेछ भन्ने पनि नेकपा र यसका नेताहरुले देखाइसकेका छन् । आजको आवश्यकता भनेको पहाड–हिमाल–मैदान जोड्ने, मेची–महाकाली समेट्ने र हिजो लामो समय सीमान्तकृत पारिएका वर्गलाई मूलधारमा ल्याउने राजनीति नै हो । यसमा नेवा–ताम्सालिङ पनि एकीकृत ढंगले आउनु आवश्यक छ ।

लेखक यमी जनता समाजवादी पार्टीका नेतृ हुन् ।

प्रतिक्रिया