विदुरमा लाग्ने गरेको सोमबारे हाटबजार बन्द हुने अवस्थामा

विदुर खबर २०७५ साउन ७ गते १३:२०

विदुर÷विदुरमा गत माघ ८ गतेदेखि शुरु भएको सोमबारे हाट बजार बन्द हुने अवस्थामा पुगेको छ । बजारमा कृषक र उपभोत्ताको संख्या एकदुई जनामा मात्र सिमित हुँदा हाटबजार नामै मात्रको बन्न पुगेको छ ।

Advertisement

नुवाकोट उद्योग वाणिज्य संघ,जिल्ला समन्वय समिति,जिल्ला कृषि विकास कार्यलय, विदुर नगरपालिका, अक्फाम, जिल्ला पशुविकास कार्यलय र सुआहाराको संयुत्त आयोजनामा निर्माण भएको हाट बजार ५० स्टल रहको छ तर हाटबजारमा कृषकहरु नआउँदा हाटबजारको स्टलमा तरकारी हुनुपर्नेमा मोटरसाइकल पार्किङ गरि राख्न थालिएको छ । देउरालीबाट आएकी कृषक सुकमाया तामाङले हाट बजारमा व्यापार बढ्ने विश्वास गरि गोलभेडा र बोडी ल्याएपनि खासै त्यस्तो व्यापार नभएको बताइन । गाउँमा ठेकेदारले सस्तोमा लिने गरेकोले हाटबजारमा आएको भन्दै तामाङ हाटबजारमा उपभोत्ता नै नआएकोले गाडीभाडा नै उठ्न गाह्रो भएको बताइन । बजारमा व्यापारी र उपभोत्ताको कमीले गर्दा बजार शुनशानजस्तै बनेको छ । बजारमा व्यापारी र उपभोत्ताको आर्कषण घट्न थालेपछि हाटबजार ओझेलमा पर्दै जान थालेको छ । बजारमा साचेजस्तो व्यापार नभएको ककनीबाट लगातार बजारमा तरकारी बेच्न आएका कृषक सुर्यवहादुर लामा बताए । लामाले हाटबजारमा कृषकको कमि हुनुमा बाटो र ढुवानीको समस्या रहेकोले समस्या भएको बताए ।

त्यस्तै हाटबजार सुनशान हुनुमा वर्खायाम र सडकको अवस्था नाजुक रहनु मुख्य कारक रहेको नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा सोमबारे हाटबजारका संयोजक गिता अमात्यले बताउनुभयो । अमात्यले वर्खायाममा कृषकहरु धान रोपाईमा व्यस्त रहने र त्यसले गर्दा कृषक बजारमा आउन नभ्याएकोले बजारमा असर परेको बताउनुभयो । हाटबजार संयोजक अमात्यले कृषकहरले बजारमा तरकारी ल्याउन समस्या भएको भन्दै ढुवानी लागि गाडीको व्यवस्था गरिदिन माग गरेकोले समस्या समाधानको विषयमा छलफल भइरहेको बताउनुभयो । त्यस्तै जिल्ला कृषि विकास कार्यलय नुवानकोटका योजना अधिकृत कृष्ण उपाध्यायले नुवाकोटको बाढी पहिरोले गाउँगाउँका कृषक सदरमुकाम आउँन नसकेकोले बजार संचालनमा ल्याउन कठिन रहेको बताए । त्यस्तै सुआहारा कार्यक्रमका कृषि अधिकृत हरि लामाटाङेले हाटबजार संचालन समितिको मिटिङ विगत एकमहिनादेखि नबसेको भन्दै तत्काल मिटिङ बसी बजारलाई चुस्तदुरुस्त बनाउने बताए ।
विदुरको इलम प्रशिक्षण केन्द्रमा करिव १७ लाखको लागतमा हाट बजानर निर्माण गरिएको छ । हाटबजार केन्द्रस्थल निर्माणका लागि जिल्ला कृषि विकास कार्यलयले ३ लाख,अक्फामले १० लाख, सुआहाराले २ लाख र सप्रक्सले १ लाख आर्थिक सहयोग गरेको र बाँकी रकम जिल्ला समन्वय समितिले दिएको थियो । विभिन्न संघसंस्थाले हाटबजार गरेको लगानी वालुवामा पानीझै भएको छ । त्यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

Advertisement

प्रतिक्रिया