लकडाउनपछि खुलेन फिल्म हल,दर्शक पखाईमा हल (फोटोफिचर)

विदुर खबर २०७७ पुष २९ गते ९:३३
नुवाकोट । कोरोनाको संक्रमण रोकथामका लागि लकडाउन घोषणा हुनुभन्दा अगावै सरकारले सिनेमा हल सञ्चालनमा प्रतिबन्ध लगाएको थियो ।

दुई चरणको बन्दाबन्दीपछि सरकारले भीडभाड हुने विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिएपनि सिनेमा हलमाथिको प्रतिबन्ध कायमै राखेको थियो । आइतवार मन्त्रीपरिषदको बैठकले १० महिनापछि सिनेमा हल खुलाउने निर्णय गरेको छ । सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति दिनुभन्दा अगाडि नै पुष १० गतेबाट नेपाल चलचित्र संघले एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेको थियो । तर, सरकारले अनुमति नदिएकाले हल सञ्चालकहरु सिनेमा हल खोल्ने वा बन्दै गरिराख्ने भन्नेमा अन्योल थिए । मन्त्रीपरिषदको बैठकले सिनेमा हल खोल्न अनुमति दिएपछि भने हल सञ्चालकहरुले राहतको सास फेरेका छन् ।

तर, सिनेमा घरहरु सञ्चालनमा आएपनि दर्शक उपस्थिति उत्साहजनक छैन । एकातिर कोरोनाको भय र अर्कोतिर पुराना फिल्म चलेका कारण पनि हलमा दर्शक आउन नसकेको हल सञ्चालकहरुको भनाई छ । नयाँ फिल्म प्रदर्शन भएपछि सुनसान हल दर्शकले भरिनेमा उनीहरु विश्वस्त छन् । तर, तत्काल नयाँ फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन निर्माताहरु तयार देखिएका छैनन् । राजधानीका मल्टीप्लेक्स र सिंगल हल अवलोकनको क्रममा पुग्दा प्रायः हल सुनसान देखिए । बानेश्वरस्थित वान सिनेमाज् हलमा शुक्रवारबाट नयाँ हलिउड फिल्म ‘मोन्स्टर हन्टर र द इनभिजिवल म्यान’ प्रदर्शन भइरहेको छ । तर, दुवै फिल्ममा दर्शक उपस्थिति न्यून छ । आइतवार १२ बजेको शोमा ‘मोन्टर हन्टर’ गर्ने दर्शक ६/७ जना मात्र थिए ।
वान सिनेमाज्का सुपरभाइजर सुजित गुइरेलले अपेक्षा गरेअनुसार हलमा दर्शक उपस्थिति नभएको बताए । उनले भने- ‘हामीले व्यापार गर्नभन्दा पनि दर्शकलाई सिनेमा हलसम्म आउने वातावरण बनाउन हल खोलेका हौं । हल खोल्दै गर्दा जति अपेक्षा गरेका थियौं, त्यो अनुसार दर्शकको चाप छैन । तर, नयाँ फिल्म प्रदर्शनमा आएको खण्डमा दर्शक आउँछन् भन्नेमा चाहिँ विश्वस्त छौं ।’
Advertisement

प्रतिक्रिया