मध्यमर्स्याङदी आयोजनाको जलाशय रित्तिने गरि विद्युत उत्पादन

विदुर खबर २०७७ पुष १४ गते २१:२३

नुवाकोट । विद्युत प्राधिकरण व्यवस्थापनको चरम लापर्बाहीका कारण साँझको समयमा झ्यापझ्याप विजुली जान थालेको छ। सोमबार र मंगलबार साँझको साढे ६ बजेको समयमा सात पटकसम्म विजुली जानेआउने गर्‍यो।

Advertisement

विजुली झ्यापझ्याप आउनेजाने गर्दा प्राधिकरणका कर्मचारी प्रसारणलाइन र विद्युतगृहमा समस्या आएको भन्दै पन्छिने गरेका छन्। तर प्राधिकरणका एक कर्मचारीका अनुसार प्राधिकरणको वर्तमान व्यवस्थापनले विजुलीको माग र आपूर्तिको व्यवस्थापननै गर्न सकेको छैन्।धेरै गर्मी र धेरै जाडोमा विजुलीको माग उच्च हुन्छ। तर व्यवस्थापनले विजुलीको सामान्य माग र आपूर्तिको समेत अनुमान गर्न नसक्दा  देशैभर अध्यारो हुने गरेको छ।

त्यसैले सोमबार विजुली चार पटकसम्म झ्यापझ्याप गएको थियो। विजुलीको माग बढेपछि मध्यमर्स्याङदी आयोजना पूर्ण रुपमा चलाइयो। तर जलाशयको पानी सकिएर एकाएक विद्युत उत्पादननै बन्द भयो। त्यसपछि भारतबाट एकैपटक धेरै विजुली ल्याउँदा प्रसारणलाइनले नधानेर सिस्टम कोल्याप्स भएको थियो।

Advertisement

आयोजनाका कर्मचारीले जलाशयमा पानी सकिएको जानकारी भार प्रेषण केन्द्रका कर्मचारीलाई दिएका थिए। तर प्राधिकरणको व्यवस्थापनले यस्तो सामान्य कुरामा पनि ध्यान दिएन जसका कारण सिस्टम कोल्याप्स भयो।’आयोजनाका कर्मचारीले भार प्रेषण केन्द्रका कर्मचारीलाई १० मिनेट अगाडिनै जलाशयको पानी रित्तिन लागेकोले अन्यत्रबाट माग व्यवस्थापन गर्न भनेका थिए। तर व्यवस्थापन नभएपछि जलाशय सुकेर विद्युत उत्पादननै बन्द भयो,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘अहिलेका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई माग र आपूर्तिका बारेमा ध्याननै छैन्। उनले व्यवस्थापन गरेर पार लगाउने पनि देखिएको छैन्।’

कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा भार प्रेषण केन्द्रमा आफै रातीसम्म बस्थे भने विद्युतको माग र आपूर्तिको अनुमान गरेर व्यवस्थापनमा जुट्थे। त्यही भएर उनको पालामा सामान्य वाहेक ठूलो समस्या आएन्।

Advertisement

प्रतिक्रिया