डा. केसीको समर्थनमा जनप्रदर्शन, सरकार उत्रियो दमनमा

विदुर खबर २०७५ साउन ६ गते १:१८

काठमाडौं,प्राडा गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै शनिबार काठमाडौंमा व्यापक जनप्रदर्शन गरिएको छ ।माइतीघर मण्डलाबाट शुरु भएको जनप्रदर्शन नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो ।

Advertisement

माइतीघरबाट निस्केको जुलुसलाई नयाँ बानेश्वरमा सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीले डा. केसीले उठाउनुभएको माग पूरा नभए देशमा आगो बल्ने चेतावनी दिनुभएको थियो । डा. केसीको मागलाई जनताका मागका रुपमा लिन आग्रह गर्दै उहाँले यो सभामा बोलेर सरकारको विरोध गरेको नभई डा.केसीका सही मागको पक्ष लिएको बताउनुभयो ।उहाँले यो डा.केसीको एक्लो माग नभएर आम जनताको माग भएकाले तत्काल पूरा गर्न सरकारसँग आग्रह गर्नुभयो ।

साहित्यकार खगेन्द्र संग्रौलाले डा.केसीको माग आमजनताको माग हो भन्ने बुझेर पनि सरकारले नबुझै गरिरहेको आरोप लगाउनुभयो । केपी ओली र प्रचण्डको शैली राजा ज्ञानेन्द्रको भन्दा फरक नरहेको टिप्पणी गर्दै उहाँले डा.केसीलाई सरकारले अपराधीको जस्तै व्यवहार नगर्न चेतावनी दिनुभयो ।

Advertisement

सरकारले बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अस्पतालमा लाठिचार्ज, अश्रुग्यास तथा गोली प्रहार गरेकोप्रति कटाक्ष गर्दै साहित्यकार संग्रौलाले भन्नुभयो– ‘अस्पतालबाट अपहरण शैलीमा डा. केसीलाई काठमाडौं ल्याइन्छ । काठमाडौं ल्याएपछि मागको विषयमा कुनै पनि चासो दिइँदैन । उहाँको आन्दोलनलाई कांग्रेसको आन्दोलन भनेर बिल्ला लगाउनु दुःखद कुरा हो ।’

‘हामी कुनै पार्टीको बिल्ला भिरेका व्यक्ति होइनौ । के सही र सत्य कुराको उजागर गरेर जनताको पक्षमा शान्तिपूर्ण रुपमा लडाइँ लडिरहनुभएका डा.केसीको मृत्युको चाहेकोे’ –उहाँले प्रतिप्रश्न गर्नुभयो ।

Advertisement

अभिनेत्री मनीषा कोइरालाले पनि आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएको थियो । उहाँ माइतीघर मण्डलादेखि बानेश्वरसम्म जारी ¥यालीमा ‘म डा केसी’ लेखिएको व्यानर समाउँदै अग्रपंक्तिमा हिँड्नुभएको थियो ।

यसैबीच सोही सभा चलिरहेको बेला नजिकै तरुण दलद्वारा आयोजित अर्को कार्यक्रममाथि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । त्यति नै बेला अभिनेत्री कोइराला बोलिरहनुभएको थियो । उहाँको आँखामा अश्रु ग्यास परेपछि सभाबाट बाहिरिनुभएको थियो । उहाँले तत्कालै ट्वीटरमा ट्विट गर्दै डा. केसीको माग पूरा गर्न माथेमा कार्यदलको प्रतिवेदन लागू गर्नुपर्ने उल्लेख गर्नुभएको छ । अभिनेत्री कोइरालाले माथेमा कार्यदलले दिएको प्रतिवेदन लागू गर्नु नै एक मात्र तार्किक समाधानको उत्तम विकल्प भएको उल्लेख गर्नुभएको छ ।

अभिनेत्री कोइराला बाहिरिएलगत्तै मानवअधिकारवादी नेता कृष्ण पहाडी बोल्न थाल्नुभयो । त्यही बेला प्रहरीले लाठी प्रहार समेत ग¥यो । प्रहरीको सो कदमपछि प्रदर्शनकारीले पनि ढुगा प्रहार गरेका थिए । दोहोरो झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । घाइते हुनेमा २ जना डीएसपीसहित ११ प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । यस्तै तरुण दलका ४ दर्जन भन्दा बढी कार्यकर्ता घाइते भएको तरुण दलले विज्ञप्तिमार्फत जनाएको छ । घाइतेहरूको निजामती अस्पताल बानेश्वरमा उपचार गरिएको थियो । घाइतेलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले तत्कालै भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

केसीको समर्थनमा सामूहिक अनशन

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनशनरत डा गोविन्द केसीका समर्थकले आइतबारदेखि वसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् ।

दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा. केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताउनुभयो । डा. केसी समर्थकले गरेको दबाबमूलक प्रदर्शनीमा केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो ।

प्रदर्शनीमा राजनीतिक दलका नेता, विभिन्न पेसाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा. केसीको जीवनरक्षा गर्न माग गरेका हुन् ।

यसैबीचनेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले शनिबार त्रिवि शिक्षण अस्पताल पुगी डा. गोविन्द केसीलाई भेट्नुभएको छ । विगतका अनशनमा जस्तै यसपटकको भेटका क्रममा उहाँले डा.केसीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

विनासर्त वार्तामा आउन आग्रह

सरकारले अनसनरत डा. गोविन्द केसीलाई विनाशर्त वार्तामा आउन आग्रह गरेको छ ।
वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिवार जारी प्रेस विज्ञप्तिमार्फत सो आग्रह गर्नुभएको हो । चिकित्सा शिक्षा विधेयक फिर्ता नभएसम्म वार्तामा नबस्ने डा.केसी पक्षको टोलीको अडानका कारण वार्ताले गति लिन नसकेको विज्ञप्तिमा जनाइएको छ ।

डा.केसीको जीवन रक्षाको लागि काठमाडौं ल्याइएको जानकारी गराउँदै विज्ञप्तिमा भनिएको छ –डा. केसीका माग वार्तामार्फत नै सम्बोधन गर्न सकिने कुरामा विश्वस्त छ र डा. केसी पक्षलाई निःशर्त वार्तामा आउन आह्वान गर्दछ ।’

असार ३२ गते सरकारद्धारा गठित वार्ता टोलीले ३ पटकसम्म वार्ता गर्दा समेत समस्या समाधान हुन सकेको छैन ।

यसैबीच गृहमन्त्री रामबहादुर थापा बादलले जनकपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा डा.केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट समाधान गरिने बताउनुभएको छ ।

देउवा सोझै बालुवाटारमा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार सीधै बालुवाटार पुगी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर डा.गोविन्द केसीको मागप्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ ।

उहाँले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमनकारी नीति अपनाए सडक र सदनबाट अझ कडा विरोधमा उत्रने चेतावनी दिनुभएको सभापति देउवाको स्रोतले जनाएको छ ।

सो अवसरमा सभापति देउवाले आफ्नो सरकारको पालामा जारी गरिएको चिकित्सा शिक्षा अध्यादेश नै केसीको मागको समाधानको उपाय भएकाले उहाँसँग तत्काल वार्ता गर्न सुझाव दिनुभएको थियो ।

 

प्रतिक्रिया