सुरक्षाको जोखिम भन्दै आठ महिनादेखि सिंहदरबार पनि गएनन् प्रधानमन्त्री
नुवाकोट । कार्यसूचीअनुसार काम भइरहेको भए यतिवेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एकदमै व्यस्त हुनुपर्ने हो ।
आर्थिक वर्षको पहिलो चौमासिकपछि हरेक मन्त्रालयको समीक्षा गरेर चालू कार्यक्रमलाई गति दिने मंसिरमै हो । तर, यस्तो वेला प्रधानमन्त्री कार्यालय भने सुनसानजस्तै छ । प्रधानमन्त्री केपी ओली कार्यालय नै नआउँदा दीर्घकालीन महत्व राख्ने कामहरूसमेत प्रभावित भइरहेका छन् । प्रधानमन्त्री ओली सिंहदरबारस्थित कार्यालय जान छाडेर बालुवाटारबाटै सरकार चलाउन थालेको करिब आठ महिना भइसकेको छ । गत २२ वैशाखमा असंलग्न राष्ट्रहरूको सम्मेलनलाई उनले कार्यालयको एक्सन रुमबाटै सम्बोधन गरेका थिए । त्यसपछि उनी कार्यालय आएको थाहा नभएको कर्मचारीहरू बताउँछन् ।
प्रधानमन्त्रीले निवासबाटै सरकार चलाउँदा राज्य संयन्त्र नै सुस्त बनेको सिंहदरबारका उच्चपदस्थ कर्मचारीहरू बताउँछन् । सम्पूर्ण मन्त्रालयहरूलाई नियमित रूपमा निगरानी र निर्देशन दिने प्रधानमन्त्री कार्यालय नै सुस्त भएपछि अन्य मन्त्रालयमा समेत त्यसको असर परेको छ । ‘कार्यकारी प्रमुख नै कार्यालय नगएपछि त्यसबाट प्रधानमन्त्री कार्यालय त सुस्त हुने नै भयो, त्यसको असर अरू मन्त्रालय र तल्लो तहसम्म पुगेको छ,’ प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भने ।
मन्त्रिपरिषद्का बैठकदेखि सामान्य प्रशासनिक निर्णयहरू पनि बालुवाटारबाटै हुने गरेका छन् । नियमित रूपमा ब्रिफिङ लिने र निर्देशन दिने प्रधानमन्त्रीको काम नै लामो समयदेखि अवरुद्धजस्तै छ । प्रधानमन्त्रीले समय नदिँदा यो वर्ष मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतासमेत हुन सकेन । सातै प्रदेशका मुख्यमन्त्रीहरू रहेको अन्तरप्रदेश समन्वय परिषद्को बैठकसमेत बस्न सकेको छैन । राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न बनाइएको एक्सन रुममा प्रायः ताला झुन्ड्याइएको हुन्छ ।
दुई वर्षअघि प्रधानमन्त्री कार्यालयमा पुगेका प्रहरी ऐनलगायत महत्वपूर्ण ऐनका मस्यौदा अलपत्र परेका छन् । सुशासनसम्बन्धी कतिपय प्रतिवेदनहरू पनि अघि बढ्न नसकेको स्रोत बताउँछ । नियमित रूपमा बैठक बस्ने पद्धति नहुँदा प्रधानमन्त्री कार्यालयकै कतिपय सचिवहरूले महिनौँसम्म प्रधानमन्त्रीलाई भेट्नै नपाएको अवस्था रहेको स्रोत बताउँछ ।
पूर्वमुख्यसचिव डा. विमल कोइरालाले प्रधानमन्त्री कार्यालय नै नजाने प्रवृत्तिले शासन प्रक्रियामै प्रतिकूल असर पर्ने बताए । ‘प्रधानमन्त्री नियमित कार्यालय नजाँदा राज्य सञ्चालनमा ठूलो असर पर्छ । कार्यकारी प्रमुख नै कार्यालय नगएपछि अनुशासनहीनता बढ्छ । प्रधानमन्त्री नै नआएपछि मन्त्रीहरूमा पनि किन हामी जानुप¥यो भन्ने भावना आउँछ,’ उनले भने, ‘राज्य सञ्चालनमा जुन किसिमको संवाद र सञ्चार हुनुपर्ने हो, त्यो हुन सक्दैन । यसले निर्णय प्रक्रियामा सुस्तता आउँछ । समग्रमा यस्तो प्रवृत्तिले शासन प्रक्रियामै प्रतिकूल असर पार्दछ ।’
हुन पनि सुशासन कायम गर्न प्रधानमन्त्रीको सबैभन्दा बलियो संयन्त्र राष्ट्रिय सतर्कता केन्द्र नै अहिले सबैभन्दा कमजोर बनेको छ । केन्द्र दुई महिनादेखि सचिवविहीन छ । विगतमा नियमित अनुगमन गर्ने यो कार्यालयको अहिले कुनै गतिविधि नै छैन । प्रधानमन्त्री ओलीले नै चासो नदिँदा केन्द्र कमजोर बन्दै गएको कर्मचारीहरूको गुनासो छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली सिंहदरबारस्थित कार्यालय कम जान थालेको बताए । सिंहदरबारमा सामाजिक दूरी कायम गर्न कठिनाइ हुने भएकाले बालुवाटारबाटै काम गर्दै आएको उनको भनाइ छ । ‘जरुरी पर्दा अहिले पनि सिंहदरबार जाने गर्नुभएको छ,’ थापाले भने, ‘सामान्यतया बालुवाटारकै ठूलो हलबाट प्रधानमन्त्रीले काम गर्दै आउनुभएको छ ।’ प्रधानमन्त्री पछिल्लोपटक सिंहदरबार गएको मिति भने बुझेर मात्र आफूले भन्न सक्ने उनको भनाइ छ ।
पछिल्लो समय उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइएको छ । तर, प्रस्ट रूपमा अधिकार प्रत्यायोजन नभएकाले धेरैजसो काम प्रधानमन्त्रीमै गएर ठोकिन्छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता शंकर नेपालले भने कार्यालयका काम नियमित रूपमै भइरहेको दाबी गरे । नयाँ योजना बनाउनेदेखि समीक्षाका काम सुरु हुन लागेको उनको भनाइ छ ।
२१ फागुनमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि २ चैतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड– १९ नियन्त्रणका लागि सार्क राष्ट्रका प्रमुखहरूसँग गरेको भर्चुअल छलफलमा भाग लिन प्रधानमन्त्री ओली सिंहदरबार पुगेका थिए । त्यस्तै, २९ चैतमा उनले मुख्यमन्त्रीहरूसँग कोरोना रोकथामका विषयमा पनि कार्यालयको एक्सन रुमबाटै छलफल गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया