नेपालमा कोरोना निको हुने दर ९०.३ प्रतिशत

विदुर खबर २०७७ मंसिर ८ गते ९:४१

नुवाकोट । सरकारी तथ्यांकअनुसार कोभिड–१९ निको हुने दरमा उल्लेख्य सुधार देखिएको छ ।

Advertisement

एक सातायता कोभिड निको हुने दरमा ६.९७ प्रतिशत सुधार भएर आइतबार ९०.३ प्रतिशत पुगेको छ । पछिल्लो समय पीसीआर परीक्षण घटेर संक्रमितको संख्या कम देखिएकाले निको हुने दर बढेको हो । संक्रमितको प्रतिशत भने घटेको छैन । केही दिनयता सरदर सय जनाको पीसीआर गर्दा २० जनाभन्दा बढीलाई पोजिटिभ देखिएको छ ।

आइतबार देशभरि ८ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ६९ जना अर्थात् २०.७७ प्रतिशतलाई कोभिड देखियो । परीक्षण नतिजामा सय जना कोभिड पोजिटिभ देखिएकामध्ये ३९ जनाभन्दा बढी महिला छन् । ‘कोभिड पोजिटिभ देखिएको व्यक्तिलाई १४ दिनमा अन्तिम तीन दिन ज्वरो नआए निको भएको मानिन्छ,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा.सन्तकुमार दासले भने, ‘कोभिड भएर उत्पन्न जटिलताले गर्दा १४ दिनपछि मृत्यु भए पनि त्यस व्यक्तिलाई कोभिड निको भएकै मानिन्छ ।’

Advertisement

केही दिनअघि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा.सुनील झाको कोभिड संक्रमणपछि मृत्यु भए पनि उनको मृत्यु कोरोनाले नभएको उनले बताए । अस्पतालमा भर्ना भएका बिरामीलाई डिस्चार्ज गर्न कोभिड नेगेटिभ भएको प्रयोगशाला प्रतिवेदन नचाहिने उनले बताए । ‘कोभिड बिरामी पोजिटिभ भए पनि अर्कोलाई संक्रमण गर्ने बढी सम्भावना छैन, लक्षण निको हुँदै गएको छ भने डिस्चार्ज गरिन्छ ।’ उनका अनुसार कोभिड भाइरसको कारण शरीरमा उत्पन्न विभिन्न समस्या, जटिलता नहटेसम्म चिकित्सकीय हिसाबले बिरामी निको भएको मानिँदैन ।

कोभिड संक्रमण १४ दिनपछि निको भएको मानिने भए पनि महिनौंसम्म विभिन्न शारीरिक समस्या देखिइरहनेको संख्या उल्लेख्य छ तर ती सबै बिरामीलाई निको भइसकेको भनी गणना गरिने उनले जनाए । ‘अस्पतालमा ६–७ दिन राखेर नेगेटिभ हुन नपाउँदै बिरामीलाई घर पठाउने अवस्था अहिले देखिएको छ,’ जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसी भन्छन्, ‘अलि सुधार छ, लक्षण कम भएको छ भने डिस्चार्ज गरिन्छ । मैले आफ्नै दुई जना आफन्तलाई शारीरिक जटिलता रहिरहेकै अवस्थामा अस्पतालबाट डिस्चार्ज गरेको देखेको छु ।’

Advertisement

संक्रमितको लक्षण कम भएपछि घर पठाउने प्रक्रियाले गर्दा कोभिड संक्रमितहरूको घरमै मृत्यु भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले बताए । हालै नेपाल बर्न सोसाइटीका अध्यक्ष डा.नारायणबहादुर थापाको समेत अस्पतालबाट घर फर्केपछि मृत्यु भएको उनले जानकारी दिए ।

दिनहुँ २० प्रतिशतभन्दा बढी संक्रमण दर रहेको र यो दर विश्वका अन्य मुलुकको दाँजोमा उच्च रहेको समेत डा. बीसीले बताए । देशभरि आइतबार जम्मा २० हजार १ सय ६६ सक्रिय कोभिड संक्रमित रहेको अवस्थामा १३ हजार ६ सय १२ जना होम आइसोलेसनमा रहेको सरकारी तथ्यांक छ ।

‘कोभिड पोजिटिभलाई नेगेटिभ हुन धेरै समय लाग्छ, होम आइसोलेसनको तथ्यांक नै छैन, उनीहरू कसरी ठीक भए भन्नेबारे जानकारी अभाव देखिएको छ,’ डा. बीसी भन्छन् । उनका अनुसार स्वास्थ्य संरचनामा भर्ना भएकालाई निको भएको भन्न सकिए पनि होम आइसोलेसनमा रहेकालाई थप अनुगमन आवश्यक छ ।

मुलुकमा हालसम्म २ लाख २० हजार ३ सय ८ जनालाई प्रयोगशाला प्रमाणित कोभिड देखिएकामा १ हजार ३ सय २१ जनाको मृत्यु हुनुका साथै १ लाख ९९ हजार २४ जना निको भएका छन् । अहिले मुलुकमा २० हजार १ सय ६६ जना सक्रिय कोभिड संक्रमित छन् । यो हालसम्म देखिएको संक्रमणको ९.१ प्रतिशत हो ।

कान्तिपुर दैनिबाट ।

प्रतिक्रिया