कुलमानको महत्त्वाकांक्षी प्रोजेक्ट पूरा, नेपालकै ठूलो ढल्केबर सबस्टेसन ४०० केभीमा सञ्चालन

विदुर खबर २०७७ कार्तिक २७ गते १३:५२

नुवाकोट ।  नेपालकै सबैभन्दा ठूलो क्षमता (४००/२२० केभी) को ढल्केबर सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएको छ।

Advertisement

नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारको लगानीमा नेपाली प्राविधिकबाटै निर्माण भएको यो नेपालको एक मात्र ४०० केभी क्षमताको सबस्टेसन समेत हो। यस सबस्टेशनमा केहि दिनअघि एउटा ट्रान्सफर्मरलाई नोलोडमा चार्ज गरिएको थियो। अहिले भारततर्फको काम पनि सम्पन्न भएपछि तीनवटै ट्रान्सफर्मर चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए।

२०६८ सालमा १३२/३३/११ केभी प्रसारणलाइन निर्माण गर्दै ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन विकास सुरु गरिएको थियो। उक्त ठाउँमा पछि २२०/१३२ केभी क्षमताको सवस्टेसन निर्माण गरिएको थियो। २२० केभी सवस्टेसन निर्माणमा ढिलाई भएपछि निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले ठेक्का रद्ध गरेर नयाँ ठेक्केदार मार्फत काम सम्पन्न गरेका थिए।

Advertisement

४०० केभी सवस्टेसनको अवधारणा भने घिसिङलेनै अघि सारेका थिए। उनको कार्यकालमै निर्माण सकिने उक्त सवस्टेसन कोरोना प्रभावका कारण केहि ढिलो गरि सम्पन्न भएको हो। सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा ट्रान्सफर्मर जडान गरिएका छन्। कूल ९४५ एमभीए क्षमताको सवस्टेसनबाट नेपाल-भारतबीच १२ सय मेगावाटसम्म गुणस्तरीय विद्युत आदान प्रदान गर्न सकिने छ।

ढल्केबरमा ४००/२२० केभी सवस्टेसन निर्माण गरेसँगै ढल्केबर हव सवस्टेसन १९ बिगाह क्षेत्रफलमा फैलिएको छ। त्याहाँ ४००/२२० केभी, २२०/१३२ केभी र १३२/३३/११ केभीका सवस्टेसन निर्माण गरिएको छ। उक्त सवस्टेसनबाट माथिल्लो तामाकोशी, अरुण तेस्रो लगायतका आयोजनाको विद्युत भारत निर्यात गर्ने परिकल्पना गरिएको थियो। सवस्टेसन ४०० केभीमा चार्ज गरेसँगै विद्युत चुहावटसमेत घट्ने प्राधिकरणले जनाएको छ । यो सबस्टेशन पूर्ण क्षमतामा संचालनमा आएसँगै नेपाल-भारतबीच आयात निर्यात हुने विद्युत सस्तो र भरपर्दो हुने  प्राधिकरणको भनाइ छ।

Advertisement

ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन नेपालको एकमात्र ४०० केभी प्रसारण लाइन समेत हो । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङको कार्यकालमा ४०० केभी क्षमताको सवस्टेसन निर्माणको सुरुवात गरिएको थियो।

काम नगर्ने ठेकेदारलाई कारबाही गर्दै नयाँ ठेकेदार नियुक्त गरेर पनि घिसिङले २२०/१३२ केभी आयोजनाको काम द्रुत गतिमा अघि बढाएका थिए। उक्त सवस्टेसन निर्माण पुरा भएसँगै घिसिङले ४०० केभी क्षमताको सवस्टेसन निर्माण सुरु गरेका थिए।

तर घिसिङको चारवर्षे कार्यकाल सकिएपछि सरकारले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त नगर्दा उनकै अवधारणमा निर्माण सम्पन्न भएको नेपालकै ठूलो सबस्टेसनको शुभारम्भ भने घिसिङले गर्न पाएनन्।

उक्त सबस्टेसन जीआईएस प्रविधि जडित नेपालको एक मात्र सबस्टेसन समेत हो। नेपालकै प्राविधिकहरुले डिजाइन र सुपेरिवेक्षण गरेको उक्त सबस्टेसन विद्युत आयात निर्यातका लागि मात्र नभएर गुणस्तरीय विद्युत आपूर्तिका लागि पनि निकै महत्वपूर्ण भएको घिसिङले बताएका छन्।

प्रतिक्रिया