गति लिँदै पहिलो आधुनिक नागढुङ्गा सुरुङमार्ग
धादिङ। कोभिड-१९ का कारण कार्यतालिकाको निर्धारित अवधिभन्दा केही ढिला भएको नागढुङ्गा सुरुङमार्ग निर्माणले पुनः गति लिन थालेको छ । जापानी निर्माण कम्पनी हाजमा आङदो कर्पोरेशनले सुरुङका लागि आवश्यक तयारी गरिरहेकाले आउँदाे मङ्सिर ९ गतेबाट खन्न थालिने भएको छ ।
गएकाे चैतदेखि नै कोरोनाका कारण काम सुस्त भएकामा पछिल्लो समय गति लिइरहको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । नेपालको पहिलो आधुनिक यस सुरुङमार्ग अहिले निर्माणका लागि आवश्यक जनशक्ति र उपकरण दुवै भएकाले काम धमाधम भइरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो ।
पश्चिम (धादिङ जिल्लातर्फ) सुरुङ खन्नका लागि आवश्यक तयारी भइरहँदा पूर्व (काठमाण्डौ) तर्फ पनि जग्गा अधिग्रहणलगायतका काम अघि बढाइएको छ । सुरुङ खन्ने ठाउँमा पहिला रसायन हाल्नुपर्ने भएकाले रसायनले जमाएपछि त्यहाँ स्टिलको फ्रेम हालिने जनाउँदै उहाँले भन्नुभयो, ‘फ्रेम हालेको ८/१० दिनपछि नै खन्न सुरु गर्न सकिन्छ ।’
आयोजना निर्माण ठाउँमा माटो सम्याउने र पहुँच हुने सडक निर्माण पनि सुरुङसँगै अघि बढिरहेको प्रमुख शाक्यले बताउनुभयो । एउटा काम सकेपछि अर्को सुरु गर्दा ढिलाइ हुने भएकाले गर्न सकिनेसम्म काम सँगसँगै भइरहेको उहाँले जानकारी दिनुभयो ।
निर्माणस्थलमा अहिले आवश्यक पर्ने ९८ प्रतिशत उपकरण निर्माण कम्पनीले ल्याइसकेको छ । कतिपय निर्माणसामग्री यहीँबाट त कतिपय जापानबाट ल्याइएको छ । निर्माणस्थलमा २० जापानीसहित झण्डै २०० जना कार्यरत छन् ।
नेपालीमा कतिपय दक्ष र कतिपय अदक्ष गरी दुवै किसिमका जनशक्ति छन् । जापानबाट अझै झण्डै १५ जना आउन लागेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कोभिडका कारण उनीहरुलाई आउन सहज नभएपनि हामीले सहजीकरण गरिरहेका छौँ ।’
कोभिड-१९ कै कारण आयोजना पहिले निर्धारित तालिकाभन्दा झण्डै १६ प्रतिशत पछाडि रहेको छ । पहिले कोरोनाका कारण जापानबाट आउनुपर्ने जनशक्ति आउन नसकेकाले ढिलाइ भएको प्रमुख शाक्यले बताउनुभयो । अहिले जनशक्ति आइरहेको र आवश्यक सामग्री जुटिरहेकाले निर्धारित समयभन्दा ढिलो नहुने उहाँले बताउनुभयो । बाँकी अवधिमा नियमित काम गर्न सके अबको साढे दुई वर्षमा आयोजना सम्पन्न हुनेछ ।
बन्दाबन्दीका समयमा निर्माण सामग्रीको अभाव रहेको थियो भने धादिङका कतिपय पालिकाले गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी गर्न दिएका थिएनन् । अहिले पालिकासँगको समन्वयमा त्यसको समाधान खोजिएको छ ।
नेपालको पहिलो सुरुङमार्ग निर्माण पूर्वाधारमा नयाँ आयामसँगै यहाँका प्राविधिक जनशक्तिका लागि सिक्ने अवसर पनि भएको छ । निर्माण कम्पनीलाई सहायक कम्पनी छान्दा सकेसम्म धेरै वटा छानेर धेरैले सिक्ने अवसर दिन भनिएको उहाँले बताउनुभयो ।
सडक विभागका इञ्जिनीयरले पनि यहाँबाट सिकिरहेका छन् । उहाँले भन्नुभयो, ‘निर्माणस्थलमा कसरी काम भइरहेको छ भनी नियमित बिफ्रिङ पनि हुने गर्छ ।’ धादिङतर्फ अहिले जग्गा अधिग्रहण भइसकेको छ । निर्माणस्थलमा रहेका झण्डै १३ घरहरु भत्काउन बाँकी छ । घरधनी आफैँले दशैँ तिहारपछि आफैँ भत्काउने भनेको प्रमुख शाक्यले बताउनुभयो ।
काठमाण्डौको बलम्बुमा ‘फ्लाई ओभर’ निर्माण हुने स्थानमा जग्गा अधिग्रहण गर्न बाँकी छ । आयोजनाअन्तर्गत नै कर्लभ पुल, खानेपानीको ट्याङ्की निर्माण र पहुँच सडक निर्माणको काम पनि अघि बढिरहेको छ । सिस्नेखोलालाई स्थानान्तरण गरेर त्यस ठाउँमा माटोले पुर्ने काम पनि अघि बढाइएको छ ।
उहाँले भन्नुभयो, ‘आयोजनाअन्तर्गत गर्नुपर्ने सानाठूला काम एकसाथ अघि बढिरहेको छ ।’ निर्माणस्थलमा झण्डै नौ सय टन विस्फोटक पदार्थ आवश्यक पर्नेमा तीन सय टन भारतबाट आउँदैछ । यहाँ अहिले ६० टन मात्रै भण्डारणको क्षमता छ । भण्डारण गर्न सकिने पदार्थ आइरहेको उहाँले बताउनुभयो ।
गएकाे वर्ष असोजमा कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङको निर्माण गर्ने गरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा-नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । त्यस स्थानमा धेरै गाडी र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।
आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुईवटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा गाडी सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँ-ठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुनेछ ।
कमजोर ढुङ्गा माटोलाई भने सिस्नेखोलामा भरेर त्यही ठाउँमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । त्यस ठाउँमा बसपार्क र तरकारी सङ्कलन केन्द्रलगायतका स्टल हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ (सल्लाहकार) गजेन्द्र थपलियाले प्रधानमन्त्री ओलीले यस आयोजनालाई प्राथमिकता प्राप्तमा राखेर विशेष चासो दिनुभएकाले सम्बन्धित निकायले समयमै काम गर्ने अपेक्षा गर्नुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया