नेकपाको आकस्मिक बैठकः डा केसीलाई सुविधासम्पन्न अस्पतालमा ल्याउने र मागबारे खुला छलफल गर्ने निर्णय

विदुर खबर २०७५ साउन ३ गते २:०२

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठकले जुम्लामा १९ दिनदेखि अनसनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि तत्कालै सुविधासम्पन्न अस्पतालमा उपचारका लागि ल्याउने र उनका मागका विषयमा खुला रुपमा छलफल गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले डा केसीले कुनै पनि हालतमा अनसन नतोड्ने भएकाले उनको जीवनरक्षालाई पहिलो प्राथमिकता दिँदै सुविधासम्पन्न अस्पतालमा ल्याउने र मागका विषयमा छलफल अगाडि बढाउने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था र डा केसीको स्वास्थ्यका विषयमा जानकारी लिएका थियौं,’ श्रेष्ठले भने, ‘हामीलाई आएको जानकारी अनुसार उहाँको जुम्लामा उपचार सम्भव छैन, त्यसकारण बैठकले उहाँको जीवनरक्षाका लागि भोलि सुविधासम्पन्न अस्पतालमा ल्याउने र मागका विषयमा पनि छलफल गर्ने निर्णय गरेको छ।’

बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठ र शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका नेता सहभागी थिए।

बैठकमा प्रचण्ड र नेपालले डा केसीको स्वास्थ्य जटिल बनिसक्दा पनि सरकार गम्भीर नभएको भन्दै आलोचना भइरहेको र सर्वसाधारण जनताले पनि सरकारको आलोचना गर्न थालिसकेकाले तत्कालै यो विषयलाई सल्ट्याउनुपर्नेमा जोड दिएको बैठकमा सहभागी एक नेताले जनाए।

‘डा केसी अनसनका विषयमा सरकारले अहिले देखाइरहेको व्यवहारले सरकार र पार्टी दुवैलाई क्षति गरिरहेको छ,’ प्रचण्ड र नेपाललाई उदृत गर्दै ती नेताले भने, ‘त्यसकारण तत्कालै डा केसीको उपचार गर्ने र माग सम्बोधन गर्ने विषयमा अगाडि बढ्नुपर्छ, होइन भने यसले झन् ठूलो क्षति पुर्याकउन सक्छ।’

प्रचण्ड र नेपालले सरकार र पार्टीलाई क्षति भइरहेको विषयमा बढी जोड दिएपछि सचिवालय बैठकले उपचार गर्ने र मागका विषयमा छलफल अगाडि बढाउने दुई निर्णय गरेको हो।

प्रतिक्रिया